म राम्रा बाहेक अरू काम गर्दिनँ : मिश्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म राम्रा बाहेक अरू काम गर्दिनँ : मिश्रप्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुने बताएका छन्। चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा पुगेका मिश्रले विगतमा धेरै नेताले जनमत पाए पनि देशको अवस्था बदल्न नसकेको भन्दै आफू फरक सोचका साथ मैदानमा उत्रिएको दाबी गरेका हुन्।

मिश्रले मतदाताहरूसँग कुरा गर्दै यदि जनताले आफूलाई विश्वास गरेर विजयी गराएमा राम्रा बाहेक अन्य कुनै पनि गलत काम नगर्ने वाचा गरे। उनले अबको २०–३० वर्षपछिको नेपाल कस्तो बनाउने भन्ने दुरदृष्टि राखेर देशको नीति निर्माण र कानुन बनाउन आफू सक्रिय हुने बताए। देशभरका महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसद्को माध्यमबाट प्रभावकारी रूपमा उठाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

स्थानीय समस्याका बारेमा बोल्दै मिश्रले काठमाडौँ–१ का बासिन्दाले भोग्दै आएका खानेपानी, बिजुली, ढल र डुबान जस्ता समस्या समाधानमा आफू स्वयं उपस्थित भएर पहल गर्ने प्रतिबद्धता जनाए। ‘जनतालाई समस्या पर्दा म आफैँ उपस्थित हुनेछु र समाधानका लागि हरसम्भव प्रयास गर्नेछु,’ उनले घरदैलोका क्रममा भने।

विकासका योजनाहरू केवल कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नका लागि आफूलाई यसपटक अवसर दिन उनले मतदाताहरूसँग आग्रह गरे।