रणवीर सिंहसँग १० करोड फिरौती माग : लरेन्स ग्याङका ‘ह्यारी बक्सर’ ले दिए सिध्याउने धम्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रणवीर सिंहसँग १० करोड फिरौती माग : लरेन्स ग्याङका ‘ह्यारी बक्सर’ ले दिए सिध्याउने धम्की बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा भ्वाइस नोट पठाइएको छ, जसमा रकम नदिए परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ।

 सारांश

  • बलिउड अभिनेता रणवीर सिंहलाई लरेन्स बिश्नोई ग्याङले १० करोड फिरौती मागेर ज्यान मार्ने धम्की दिएको छ।
  • धम्कीपछि रणवीर र दीपिकाको सुरक्षा बढाइएको छ, र प्रहरीले अनुसन्धान सुरु गरेको छ।
  • धम्की दिने ह्यारी बक्सर लरेन्स ग्याङको सदस्य हुन्, जसको आपराधिक पृष्ठभूमि छ।

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा भ्वाइस नोट पठाइएको छ, जसमा रकम नदिए परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ।

भारतीय सञ्चारमाध्यम एनडीटिभीका अनुसार मुम्बई प्रहरीको क्राइम ब्रान्चले उक्त अमेरिकी नम्बरबारे जानकारी लिन अमेरिकी एजेन्सीहरूसँग समन्वय गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त आवाज लरेन्स ग्याङका सक्रिय सदस्य ह्यारी बक्सरकै भएको प्रहरीको अनुमान छ।

निर्देशक रोहित शेट्टीको घरबाहिर भएको गोलीकाण्ड लगत्तै गत फेब्रुअरी २ रणवीरलाई पहिलो पटक धम्की आएको थियो। त्यसपछि फेब्रुअरी १३ रणवीर र रोहित शेट्टी दुवैलाई लक्षित गर्दै अर्को अडियो क्लिप पठाइयो।

जसमा भनिएको थियो, ‘हाम्रो शक्तिको अगाडि तिम्रा सात पुस्ताले पनि केही गर्न सक्दैनन्। तिम्रा म्यानेजर र परिवार कहाँ बस्छन् र कहिले बाहिर निस्कन्छन् भन्ने सबै थाहा छ, अब पालैपालो निशाना बनाउन सुरु गर्छौँ।’

धम्कीपछि रणवीर सिंह र उनकी पत्नी दीपिका पादुकोणको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। उनीहरूको घरमा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिनुका साथै निजी सुरक्षा गार्डको सङ्ख्या पनि थपिएको छ।

मुम्बई प्रहरीले रणवीर र रोहित शेट्टीका म्यानेजरहरूको बयान दर्ता गरिसकेको छ, यद्यपि रणवीरले यस विषयमा अहिलेसम्म औपचारिक रूपमा एफआईआर भने दर्ता गराएका छैनन्।

धम्की दिने ह्यारी बक्सरको वास्तविक नाम हरि चन्द जाट हो। राजस्थानको अलवर निवासी उनी पहिले जयपुरमा बक्सिङ प्रशिक्षक थिए, जसका कारण उनलाई ‘बक्सर’ उपनाम दिइएको हो। उनीविरुद्ध राजस्थान, पन्जाब र दिल्लीमा असुली, लुटपाट र हत्या प्रयासका दर्जनौँ मुद्दा दर्ता छन्।