कांग्रेस-कम्युनिस्टको गढ सुदूरपश्चिममा रवि-बालेनको धावा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेस-कम्युनिस्टको गढ सुदूरपश्चिममा रवि-बालेनको धावा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ मा हुने निर्वाचनलाई स्वर्णिम इतिहास लेख्नका लागि मतदातासँग आग्रह गरे । सुदूरपश्चिमको राजधानी धनगढीमा बुधबार रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभामा उनीहरूले इतिहास लेख्न आम मतदातासँग आग्रह गरे ।

देशव्यापी चुनावी लहर रास्वपाको पक्षमा देखिएको बेला निकै उत्साहित भएका रवि र बालेनले पहिलो चुनावी सभा सुदूरपश्चिमबाट गरेका छन् । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेश कांग्रेस र कम्युनिस्टको गढ मानिन्छ । रास्वपाका कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन शाहले दुई वर्षमा बन्ने पूर्वाधार विकास २० वर्षसम्म नबनेकोमा आक्रोश पोखे ।

‘खल्तीमा पैसा नभएको विपन्नले शिक्षा पाउनुपर्‍यो, त्यो हो हाम्रो एजेन्डा । विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्‍यो । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बनेन, डेढ वर्षमा बन्नुपर्‍यो, हो हाम्रो एजेन्डा’, उनले भने, ‘रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ, खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्‍यो । यहाँ त यो भेगमा मेरो भोट छैन बाटो किन बनाउने ? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ । माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै हिँड्ने बाटो बनाउँछ ।’

बालेनले पुराना दलका नेताहरूले देशलाई स्वीट्जरल्याण्ड बनाउनुपर्छ भनेर दिएका अभिव्यक्तिप्रति पनि प्रश्न उठाए ।

‘स्वीट्जरल्याण्डको बाउ बडिमालिका यही छ, किन बनाउनुपर्‍यो स्वीट्जरल्याण्ड ? स्वीट्जरल्याण्डको पराकाष्ठा रामारोसन यही छ, किन बनाउनुपर्‍यो स्वीट्जरल्याण्ड ? खप्तड नेसनल पार्क यही छ, किन बनाउनुपर्‍यो स्वीट्जरल्याण्ड ? हामी नेपाली माल भएको चाल नपाएको मान्छे पर्‍यौं । भएको चीज देखाउनै सकेको छैनौं,’ उनले भने । सुदूरपश्चिममा धेरै कलाकार भएर पनि संघीय राजधानी काठमाडौँसम्म जोड्न नसकेको उनले बताए । सुदूरपश्चिमको गीत काठमाडौँका चोक-चोकमा बजेपछि मात्र सुदूरश्चिम जोडिने स्पष्ट पारे ।

उनले भने, ‘यहाँ धेरै कलाकार हुनु हुँदोरहेछ । जुन दिन सुदूरपश्चिमको गीत काठमाडौँको चोकचोकमा बच्छ, अनि बल्ल जोडिन्छ काठमाडौँसँग । सुरुमा गीत बज्नुपर्‍यो । त्यसपछि आवाज बच्छ । अनि माग पूरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ, तर यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा ।’

रास्वपा भोट माग्न नआएको भन्दै उनले काम दिन आग्रह गरे । भोट नदिएपनि काम गरेर देखाउने बालेनले प्रतिबद्धता जनाए ।

‘तपाईंसँग भोट माग्न आएको होइन । काम माग्न आएको हो काम दिनोस् । तपाईंले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ’, उनले भने, ‘के–के छन् काम, हाम्रा उम्मेदवार र पार्टीका मान्छेलाई यो–यो हो भनेर लिस्ट दिनुस् । भोट नदिएपनि हुन्छ बरु कामको लिस्ट दिनु । काम गरेर देखाउँछ रास्वपाले ।’

करिब चार मिनेट बोलेका बालेनले लामा लामा भाषण र आश्वासन नदिई भनाइ टुंग्याए । कार्यक्रमको अन्त्यमा बोलेका सभापति रवि लामिछानेले पनि धेरै ठुला भाषण र आवश्वासन दिएनन् । करिब सात मिनेट बोलेका लामिछानेले पुराना दलको सटर बन्द गर्न आग्रह गरे । रास्वपा हरेकको मनमनमा बसिसकेकाले फागुन २१ गते मत्रपत्रमा छाप लाग्ने उनले विश्वास व्यक्त गरे ।

‘मत पत्रमा छाप लगाउने २१ गते हो तर मनपत्रमा छाप लागिसकेको छ । जनताको अधिकार, सुदूरपश्चिमको मुद्दालाई माग बनाएर वर्षौंसम्म नहुने काम अब बन्द गर्नुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो बन्द गराइदिनुस् कि यिनीहरूको बन्द गराइदिनुस् । कुशासनको सटर बन्द गर्ने हो, बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो २१ गते,  इतिहास लेख्ने हो भोट हाल्ने होइन,’ लामिछानेले भने ।

पुराना राजनीतिक दलहरूले सुदूरपश्चिमका भूमिहीनको समस्यालाई वर्षौंसम्म भोट बैंक बनाएर राखेकाले त्यो युगको अन्त्य हुने उनले स्पष्ट पारे ।

‘यहाँ भूमिहीनको समस्या आएका छन् । कैयौँ साथीहरूले ती समस्यालाई वर्षौँसम्म एजेन्डा बनाएर राखेका छन् । त्यसलाई भोट बैंक बनाउने गरेका छन्,’ उनले भने, ‘राजनीनिक विकृति विसंगतिलाई माग बनाएर हरेक चुनावमा बल्ढ्याङ्ग्रे अक्षरमा घोषणापत्र लेख्ने युगको अन्त्य रास्वपाले गर्छ । जनताको माग पूरा गर्ने हो । त्यसकारण हामीले पाँच वर्षको स्थायी सरकार मागेका हौँ ।’

पहिलोपटक रास्वपाले जनतासँग कन्ट्रयाक्ट (करार) गरेको जिकिर गर्दै रविले अब जसले भोट दियो उसैले सजाय पाउने अवस्था अन्त्य हुने स्पष्ट पारे । ‘नेताले वाचा गर्ने तर सजाय त्यही भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन । वाचा जसले गर्ने हो पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले सजाय पाउने होइन,’ उनले भने । सुदूरपश्चिमबाट कामको खोजीमा विदेशिएका सबैलाई योपटक इतिहास लेख्न बिदा मिलाएर घर फर्किन उनले आह्वान गरे ।

यसअघि पटक-पटक कुनै पार्टीले चुनाव जितेपनि जनताले सधैं हारेको लामिछानेले बताए । योपटक जनतालाई जिताएरै छोड्ने उनले प्रतिबद्धता जनाए । ‘यसपटक देश बदल्नुपर्नेछ । यो देशमा पहिला पनि चुनाव भएको हो । कुनै पार्टीले चुनाव जितेको हो । कुनै नेताले सधैं जितेको हो । तर जनताले कहिल्यै जितेनन् । योपटक जनतालाई जिताउने हो’, उनले भने, ‘मेरो आकांक्षा ठुलो होइन, देशको आकांक्षालाई केन्द्रमा राखेर हामी यसपटक आएका छौँ । मत नबाँड्नुहोला । तपाईंको पार्टीप्रतिको निष्ठा म सम्मान गर्न चाहन्छु । तर देशको अस्तित्व जोगाउनुपर्ने बेला, ऐतिहासिक घडीमा तपाईंले भन्न पाउनुपर्ने देश परिवर्तनमा मेरो पनि योगदान छ ।‘

लामिछानेले अगाडि भने, ‘यो त्यही बेला हो, तपाईंको पार्टी हिजो थिए, भोलि रहला नरहला भन्न सकिँदैन । हाम्रो पार्टी रहला नरहला भन्न सकिँदैन । तर आफ्नै हातले इतिहास लेख्ने अवसर फेरि पाउँछ कि पाउँदैन थाहा छैन । देश बनाउन रवि-बालेन एकसाथ भोलि आउँछन् आउँदैनन् अहिले आएका छन् ।’

धेरैले सिंहदरबार मात्र जलेको चर्चा गरेकोप्रति रविले असन्तुष्टि जनाए । उनले जलेको सिंहदरबार बनाउने मात्र नभई बदल्ने गरी आफूहरू आएको बताए ।

‘यहाँ धेरैले सिंहदबार जलेको कुरा मात्र गरेका छन् । सिंहदरबार जलेको छ भने बनाउने हो तर योपटक सिंहदरबार बदल्ने हो,’ उनले भने, ‘धेरै मानिसले तपाईंलाई भ्रममा पार्नेछन् । यिनीहरू आए भने गरिबको बस्तीमा डोजर चलाउने छन् भनेर भोट चोर्न आउन सक्छन् । तिनलाई सोध्नुस्- ३५ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो ?’