विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेस प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ।

विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं. २ की पार्वती जीसी रहेका छन्।

त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्। यसका साथै माओवादी केन्द्र परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन् ।

पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको र देशलाई कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटी जस्तो स्वच्छ एवं भ्रष्टाचार विरोधी उम्मेदवार आवश्यक परेकाले आफूले यो निर्णय लिएको बताए। नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए।