मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ ।

अझै पनि ६ जना हराइरहेको अनि कम्तीमा ३७४ जना घाइते भएको मडागास्करको राष्ट्रिय जोखिम र विपद् व्यवस्थापन कार्यालय (बीएनजीआरसी)ले बिहीबार जानकारी दिएको छ ।

चक्रवातले मंगलबार मडागास्करको पूर्वी तटीय शहरमा पहिरो खसाएको थियो । देशका नयाँ राष्ट्रपति कर्नल माइकल रान्द्रियनिरिनाले राष्ट्रिय विपद् घोषणा गर्दै अन्तर्राष्ट्रिय एकताको माग गरेका छन् । उनका अनुसार चक्रवातले तोआमासिना र वरिपरिका क्षेत्रको करिब ७५ प्रतिशत क्षेत्रमा क्षति पुर्‍याएको छ ।

समाचार एजेन्सी एएफपीका तस्बिरहरूले ५ लाख जनसंख्या भएको शहरमा हुरीले मच्चाएको विध्वंस देखाएका थिए ।बासिन्दाहरूले फोहोरको थुप्रोबाट अस्थायी घर मर्मत गर्न काठ, धातु खोजिरहेको देखिएको थियो ।

बीएनजीआरसीका अनुसार १८ हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने कम्तीमा ५० हजार घर क्षतिग्रस्त वा बाढीले प्रभावित भएका छन् । कमजोर संरचना र भवन भत्किँदा अधिकांश मृत्यु भएको बताइएको छ । प्रमुख सडक मार्गहरू अवरुद्ध भएकोले मानवीय सहायता पुर्‍याउन समस्या आएको छ ।

तोआमासिनाको वरिपरि अट्सिनानाना क्षेत्र पनि ठुलो क्षतिमा भएको छ । फ्रान्सले आफ्नो रियूनियन टापुबाट खाद्य तथा उद्धार टोली पठाउने घोषणा गरेको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय आप्रवासन संस्थाले पनि चक्रवातका कारण व्यापक विनाश भएको भनेको छ ।