निर्वाचनमा राप्रपा बलियो शक्ति नभए मुलुकमा जेन–जी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छ : राजेन्द्र लिङदेन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंका पार्टीका उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो चेतावनी दिनुभएको हो । अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गर्नुभयो ।

उहाँले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताउनु भयो । राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘अहिले देश बनाउने भन्दा पनि बचाउने कुरामा हाम्रो ध्यान जानुपर्ने बेला भएको छ । तपाई कल्पना गर्नुस् त, सिंहदरवार जलाउने उक्साउनेहरु र सिंहदरबार जल्दाखेरी यसलाई जोगाउन नसक्नेहरु अहिले कुन प्रकारको अतिवादको कुरा गरिरहेका छन । उनीहरुको व्यवहार उनीहरुको आचरण अहिले कुन ढंगले अतिवादतर्फ उन्मुख भइरहेको छ ? यदि आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति कमजोर हुने र संसदमा यसको कमजोर रुपमा उपस्थिति हुने र अतिवादीहरुको मात्रै उपस्थिति भएको संसद कस्तो हुन्छ होला । त्यसकारण देश बचाउनका लागि, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो सुस्पष्ट विचार भएको नेपाली माटोमा उत्पन्न भएको र विकसित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले नेपाली जनताले बलियो शक्तिको रुपमा संसद पठाउन जरुरी छ । र, म अपिल पनि गर्न चाहन्छु–कि हामीले सबैले यो चुनावलाई हाम्रा उम्मेदवारदेखि नेता, कार्यकर्ता सबैले सामान्य चुनाव नठानेर यो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रुपमा यसलाई उपयोग गर्न म अपिल गर्दछु । होइन राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो । र, संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार मध्यामको अगाडि भनेको छु–राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली कुने विध्वंश गर्छ, विद्रोह गर्छ । देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन । तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरुकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तीको भन्दा ठूलोृ दुर्घटनातर्फ जाने सुनिश्चित छ । देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ ।’
अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताउनुभयो ।