बजारमा अहिले खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ कुर्नुपर्ने बाध्यता छ ।
यता नेपाल आयल निगमले ग्यास आयात बढाएको र सहज भइसकेको बताइरहेको छ । उद्योगीहरू भने ग्यास आयात बढेको तर उपभोक्ताले अनावश्यक रूपमा खरिद गरी स्टक राखेकाले बजारमा सहज भइनसकेको बताउँछन् ।
तर, यही अभावको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ । ग्यास अभावको बहानामा फरक कम्पनीका सिलिन्डर नसाट्ने, नयाँ सिलिन्डर किन्न लगाउने र मनलाग्दी मूल्य असुल्ने धन्दा मौलाएको छ ।
यसरी ठगिन्छन् उपभोक्ता
कतिपय बिक्रेताले उपभोक्तासँग जुन कम्पनीको सिलिन्डर छ, उक्त कम्पनीको ग्यास आफूसँग नरहेको बताउने र अर्को कम्पनीको ग्यासमात्र रहेको बताउने गरेका छन् । एउटामात्र सिलिन्डर हुने विद्यार्थी तथा सामान्य नागरिकका लागि आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास कुर्नभन्दा जुन कम्पनीको ग्यास छ, सोही कम्पनीको सिलिन्डर उठाउनु सहज विकल्प हुने गर्दछ ।
उपभोक्ताको यही बाध्यतालाई विक्रेताले कमाउने अवसरका रूपमा लिन्छन् र उपभोक्तासँग खाली रहेको सिलिन्डरलाई न्यून मूल्यमा लिएर ग्याससहितको नयाँ सिलिन्डरलाई चर्को मूल्यमा बेच्ने गर्दछन् ।
सामान्य अवस्थामा एक कम्पनीको सिलिन्डर अर्कोमा साट्न मिल्ने अभ्यास भए पनि विक्रेताले कृत्रिम अभावको फाइदा उठाउँदै चर्को मूल्य लिएर साट्ने गरेका छन् ।
उपभोक्ता अधिकारकर्मी विष्णुप्रसाद तिमिल्सिना अहिले बजारमा ग्यास बेच्नेभन्दा पनि ‘सिलिन्डर बेच्ने’ धन्दा चलिरहेको हुनसक्ने बताउँछन् । अभावको त्रास देखाएर व्यापारीहरूले वर्षौंदेखि थन्किएका र डिस्पोजल गर्नुपर्ने अवस्थाका सिलिन्डरहरू उपभोक्तालाई भिडाइरहेका छन् ।
तिमिल्सिनाले भने, ‘अहिले व्यापारीहरूको मूल उद्देश्य ग्यास बिक्री गर्नेभन्दा पनि सिलिन्डर बिक्री गर्नेमा छ । भोलि गएर ती थोत्रा सिलिन्डर सरकारलाई भिडाउने दाउमा उनीहरू छन् । उपभोक्तासँग ४६०० सम्म असुल्ने तर बिल नदिने कार्य सिधै कालोबजारी हो ।’
उनका अनुसार सिलिन्डरको धरौटी रकममा ठुलो खेल भइरहेको छ । ‘१९१० रुपैयाँ ग्यासको मूल्य हो, बाँकी रकम सिलिन्डरको धरौटी हो, तर बिल नदिएपछि भोलि त्यो सिलिन्डर फिर्ता गर्दा उपभोक्ताले पैसा पाउँदैनन्,’ तिमिल्सिनाले भने ।
यस्तै ढुवानी खर्चका नाममा पनि अहिले ठगी भइरहेको छ । एउटा ग्यास सिलिण्डर ढुवानीमा १००÷२०० रुपैयाँदेखि माथि व्यापारीहरूले जति पनि असुल गरिरहेका छन् ।
‘रेगुलर कस्टमर’ को बहाना र दादागिरी
बजारमा अर्को समस्या पनि देखिएको छ– ‘रेगुलर कस्टमर’ (नियमित ग्राहक) । पसलमा ग्यासका सिलिन्डर टन्नै हुन्छन्, तर नयाँ मान्छे जाँदा ‘यो हाम्रो रेगुलर कस्टमरका लागि हो, तपाईंलाई दिन मिल्दैन’ भन्दै फर्काइन्छ ।
‘यो बजारमा व्यापारीहरूको दादागिरी हो,’ अधिकारकर्मी तिमिल्सिना भन्छन्, ‘दाल–चामल मसँग नकिन्नेलाई ग्यास दिन्नँ भन्नु वा नियमित ग्राहकको बहाना बनाउनु उपभोक्ता अधिकार विपरीतको कार्य हो । पहिलो आउनेले पहिलो सेवा पाउनुपर्नेको मान्यतालाई कुल्चिएर कार्टेलिङ भइरहेको छ ।’
बजारमा यति ठुलो लुट मच्चिँदा पनि सरकारी निकाय मौन छ । वाणिज्य विभाग लगायतका नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । अधिकारकर्मी तिमिल्सिना यसलाई ‘राज्य संरक्षित अपराध’ भन्छन् ।
‘सरकारी कर्मचारीहरू १० देखि ५ बजेसम्म जागिर खान्छन्, तर बजारको बेथिति हेर्दैनन्,’ उनले आक्रोश पोखे, ‘उजुरी गर्दा पनि उल्टै व्यापारीलाई नै सूचना चुहाउने र कमिसनको खेलमा लाग्ने प्रवृत्ति छ । उपभोक्ताले स्थानीय व्यापारीसँग आँखा जुधाउन नसक्ने बाध्यताको फाइदा उठाउँदै अहिले ब्रह्मलुट मच्चाइएको छ ।’
ग्यासजस्तो अत्यावश्यक वस्तुमा भइरहेको यो खेलले नागरिकको चुलोमा सिधै प्रहार गरेको छ । ३,५०० देखि ४,००० मा आउनुपर्ने नयाँ सिलिन्डर सेटलाई ४६०० देखि ४८०० सम्म लिने, नजिकै पु-याउँदा पनि महँगो ढुवानी खर्च जोड्ने र बिल बिजक नदिने प्रवृत्तिले बजार आतंकित बनेको छ । सरकार लाचार बन्दा र व्यापारीले कृत्रिम अभावलाई कमाउने मौका (सिजन) का रूपमा लिँदा सोझा उपभोक्ताहरू भने महँगो मूल्य तिर्न बाध्य छन् ।
ग्यास सिलिण्डरको मूल्यबारे के भन्छन् उद्योगी ?
ग्याससहितको नयाँ सिलिण्डरको मूल्य ४६ सय रुपैयाँसम्म (खाली सिलिण्डरको करिब २६ सय ४० रुपैयाँ) लिने गरिएको गुनासोका सम्बन्धमा रातोपाटीले नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेसँग जिज्ञासा राखेको छ । घिमिरेले उपभोक्तासँग खाली सिलिण्डरको धरौटीबापत २६४० रुपैयाँ लिनु बढी भएको बताए ।
घिमिरेका अनुसार उद्योगले भारतबाट खाली सिलिण्डर खरिद गर्दा करिब २६ सय रुपैयाँ पर्छ । तर, उद्योगले डिलरहरूलाई १८ सयदेखि २ हजार रुपैयाँ धरौटीमा सिलिण्डर उपलब्ध गराउँदै आएका छन् । यो बिक्री मूल्य नभई धरौटीमात्र भएको उनले स्पष्ट पारे ।
‘हामीले डिलरलाई १८ सयदेखि २ हजारमा दिन्छौँ । डिलरले उपभोक्तालाई दिँदा एकाध सय रुपैयाँ मार्जिन राखेर दिनुपर्ने हो,’ घिमिरेले भने, ‘उपभोक्तासम्म पुग्दा २ हजारदेखि २२ सय रुपैयाँसम्म पर्नुपर्नेमा २६ सय रुपैयाँ लिनु त अति नै हो ।’
यद्यपि, सिलिण्डरको धरौटी कति लिने भन्नेबारे स्पष्ट कानुनी मापदण्ड वा सीमा नतोकिएका कारण डिलरहरूले आफूखुसी मूल्य लिइरहेको हुनसक्ने उनले दाबी गरे । ‘धरौटी यति नै लिनुपर्छ भन्ने नियम त छैन, तर २६ सय लिनुचाहिँ अति नै भयो,’ उनले भने ।
साथै ग्यासको आपूर्ति अवस्थाबारे जानकारी दिँदै घिमिरेले हाल आयातको अवस्था सामान्य बनिसकेको बताए । बजारमा ग्यासको अभाव नभए पनि उपभोक्ताले अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय (होल्ड) गर्दा केही समस्या देखिएको उनको भनाइ छ ।
‘अहिले ग्यासको आयात बढेर आएको छ र अवस्था नर्मल पोजिसनमा छ,’ घिमिरेले भने, ‘तर उपभोक्ताले पछि पाइँदैन कि भनेर स्टक राख्ने गरेकाले बजारमा अझै सर्टेज जस्तो देखिएको हो ।’
उपभोक्ताले ग्यास सञ्चय गरेर राख्नु नपर्ने प्रस्ट पार्दै उनले बजारमा आपूर्ति सहज रहेको दाबी गरे ।