बागलुङ–२ मा नेकपालाई जनमोर्चाको भर, कांग्रेस–एमालेलाई नयाँको डर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै बागलुङ क्षेत्र नम्बर २ मा पनि बिस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । भौगोलिक विकटता र अप्ठ्यारो भूगोलका कारण यहाँका उम्मेदवारले एकै पटकमा धेरै मतदाता भेट्न मुस्किल पर्छ । अग्ला–अग्ला पहाड छिचोलेर एकदेखि अर्को बस्ती पुग्नुपर्दा घण्टौँ लाग्ने गर्छ ।

स–सानो टोलमा पुगेर मतदाता रिझाउन धेरै समय खर्चिनु पर्ने बाध्यता छ । ६ पालिकाका ४८ वडा रहेको यस क्षेत्रमा घरदैलो गर्न त्यति सहज छैन । यद्यपि उम्मेदवारहरू बिहानैदेखि राति अबेरसम्म मतदता भेट्न व्यस्त देखिन्छन् । आगामी निर्वाचनमा यस क्षेत्रमा १२ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

  • संविधान सभामा अल्पसंख्यक महिला नेतृत्व पाउने क्षेत्र

२०६४ र २०७० सालमा भएको पहिलो र दोस्रो संविधान सभा सदस्य निर्वाचनमा अहिले यो क्षेत्र रहेको भूगोलबाटै नेपाली कांग्रेसले जितेको थियो । पहिलो संविधान सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नरबहादुर पुन (निरज) विजयी भएका थिए । उनले राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीलाई पराजित गरेका थिए ।

दोस्रो संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट ज्ञानकुमारी छन्त्याल विजयी भएकी थिइन् । उनले तत्कालीन एकीकृत नेकपा माओवादीका तुल्सीराम अर्याललाई एक हजार ८७७ मतान्तरले पराजित गरेकी थिइन् । छन्त्यालले १० हजार ८९ मत प्राप्त गर्दा अर्यालले आठ हजार २१२ मत पाएका थिए ।

नेकपा एमालेकी शान्ती कुमारी अधिकारी पाँच हजार २९, राष्ट्रिय जनमोर्चाका धर्मबहादुर कुँवरले चार हजार ७९१ मत पाएका थिए । त्यसबेला कुल ३१ हजार ५० मत खसेको थियो । कुल मतदाता ४१ हजार ४०१ मात्रै थिए । छन्त्याल त्यस्तो पात्र हुन्, जो प्रत्यक्ष चुनाव लडेर संसद छिर्ने बागलुङकी पहिलो महिला सांसदसमेत हुन् ।

सामान्य लेखपढमात्रै गर्न जान्ने छन्त्याललाई संघीयतापछिको पहिलो प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिक सूचीमा महिला जनजाति क्लस्टरबाट १ नम्बरमा राखेको थियो । दूर दराजका बस्तीका विकास निर्माणमा जोड दिँदै आएकी छन्त्यालको मुटु रोगका कारण २०७७ असार १७ गते मृत्यु भएको थियो ।

  • संघीयतापछि फेरिएको चुनावी अवस्थिति

संघीयता लागु भए यता नेपाली कांग्रेसले यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा आफ्नो नेतृत्व पाउन सकेको छैन । ०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धन एकातिर र अर्कोतिर नेपाली कांग्रेस ‘सिङ्गल’ चुनावी प्रतिस्पर्धामा थियो ।

त्यसबेला तत्कालीन नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल राष्ट्रिय जनमोर्चा, नेकपा एमालेसहितका पार्टीको सहयोगमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नरबहादुर पुन (निरज)लाई आठ हजार ९२२ मतान्तरले पराजित गरेका थिए । पौडेलले २८ हजार ८२७ मत प्राप्त गर्दा पुनले १९ हजार ९०५ मत पाएका थिए । त्यसबेला विजयी भएका पौडेल शिक्षामन्त्रीसमेत भएका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धन टुटेर नेपाली कांग्रेससहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको तालमेल भएको थियो । उक्त चुनावमा पनि यस क्षेत्रबाट नेपाली कांग्रेसले आफ्नो उम्मेदवार पाएन । त्यसबेला पनि माओवादी केन्द्रबाटै देवेन्द्र उम्मेदवार बने ।

देवेन्द्रले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई चार हजार ६०१ मतान्तरले पराजित गरेका थिए । पौडेलले २४ हजार ७९४ मत प्राप्त गर्दा चालिसेले २० हजार १९३ मत प्राप्त गरेकी थिइन् । उनै चालिसे यस पटक पनि एमालेबाट उम्मेदवार बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले दुई हजार ३२७ मत प्राप्त गरेकी थिइन् ।

  • नयाँ अनुहार चुनावी मैदानमा

अहिले यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार चुनावमा होमिएका छन् । कांग्रेसबाट टेकराज पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, नेकपाबाट ज्ञामनाथ गैरे र रास्वपाबाट सोम शर्मा उम्मेदवार छन् ।

यस्तै, राप्रपाबाट अञ्चल शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवर, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे उम्मेदवार छन् ।

सङ्गठनात्मक रूपमा बलियो रहेका पुराना पार्टी र भर्खर सङ्गठन विस्तारको चरणमा रहेको रास्वपामध्ये कसले जित निकाल्ला भन्ने चासो बढेको छ । यस पटकको निर्वाचनमा अधिकांश नयाँ अनुहार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका पौडेल लामो समय विद्यार्थी सङ्गठनमा काम गर्दै राजनीतिमा आएका हुन् । उनी यसभन्दा अगाडि कुनै पनि निर्वाचनमा उम्मेदवार बनेका थिएनन् । उनी निसीखोलाका बासिन्दा हुन् ।

नेकपा एमालेकी मञ्जु शर्मा चालिसे लामो समय स्वास्थ्यकर्मीका रूपमा काम गरेर ०७९ सालको स्थानीय निर्वाचनदेखि पूर्ण रूपमा राजनीतिमा होमिएकी हुन् । नेपाली कांग्रेसमा धेरै समय काम गरेकी चालिले स्थानीय निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसले टिकट नदिएपछि बिच्किएकी हुन् । उनी उक्त चुनावमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन्, तर जित निकाल्न सकिनन् ।

०७९ मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन ताका एमालेमा प्रवेश गरेकी चालिसेलाई एमालेले टिकट थमाए पनि निर्वाचित हुन सकिनन् । यस पटक दोहोरिएर यस क्षेत्रमा उम्मेदवार बन्ने चालिसेमात्रै हुन् ।

नेकपाका तर्फबाट उम्मेदवार बनेका ज्ञामनाथ गैरे पनि पहिलो पटक चुनावमा होमिएका हुन् । सशस्त्र जनयुद्धमा लागेर तत्कालीन माओवादीको राजनीति गर्दै आएका उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका छन् ।

सङ्गठन विस्तारका क्रममा रहेको नयाँ दल रास्वपाले यस पटक सामाजिक अभियन्ता सोम शर्मालाई उम्मेदवार बनाएको छ । बागलुङ बजारवासी शर्मा पनि पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । उनले मनोनयन दर्ता गरेदेखिनै क्षेत्र नम्बर २ मा घरदैलो अभियानमा छन् । यद्यपि उनलाई बागलुङ क्षेत्र नम्बर २ वासीले ‘टुरिष्ट उम्मेदवार’ भन्ने गरेका छन् ।

  • कांग्रेसको गढमा त्रिपक्षीय भिडन्त पक्का

बागलुङ क्षेत्र नम्बर २ लाई धेरैले नेपाली कांग्रेसको गढका रूपमा लिने गर्छन् । संविधान सभाको दुई वटै निर्वाचनमा जित हात पारेको कांग्रेस संघीयतापछि नेतृत्वविहीन बन्न पुगेको छ । यस पटकको निर्वाचनमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबिच त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ ।

Nekapa

पुराना पार्टी त्यसमाथि मजबुत सङ्गठन रहेको हुँदा तीन पार्टी बिच प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाले सङ्गठन विस्तार गरिनसकेको हुँदा जित निकाल्न सकस पर्ने धेरैको बुझाइ छ । यद्यपि नयाँ पुस्तामा रास्वपाप्रति आकर्षण भने बढी छ । पटक–पटक बाहिरी उम्मेदवारलाई दलहरूले बागलुङ–२ मा खडा गर्दै आएको भन्दै यहाँका मतदाता रुष्ट छन् । उनीहरूले यसै क्षेत्रका उम्मेदवारलाई जिताउनु पर्ने आवाजसमेत उठाएको पाइन्छ ।

यसभन्दा आगाडि ०७४ र ०७९ को निर्वाचनमा माओवादीका देवेन्द्र पौडेल क्षेत्र नम्बर १ बाट गएर चुनाव जितेका थिए । उनले यस क्षेत्रको समस्या र जनताको भावना नबुझेको आरोप स्थानीय मतदाताले लगाउँदै आएका छन् । पौडेल आगामी निर्वाचनमा नवलपरासी पश्चिमबाट उम्मेदवार बनेका छन् । यस पटक रास्वपाका सोम शर्माबाहेक अरु सबै उम्मेदवार सोही क्षेत्रवासी हुन् ।

  • नेकपालाई जनमोर्चाको भर, कांग्रेस–एमालेलाई नयाँको डर

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई सघाएको नेकपाले यो क्षेत्रमा जनमोर्चाको साथ पाएको छ । अरु पार्टी भने एक्लाएक्लै चुनावी मैदानमा छन् । नेकपाको राम्रै जनमत रहेको यस क्षेत्रमा जनमोर्चाको साथले थप हौसिएको छ । अघिल्ला दुई निर्वाचनमा जित निकालेको माओवादीलाई यस पटक विरासत जोगाउने दबाब छ । यद्यपि, नेकपालाई प्रगतिशील लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भोट काट्ने चिन्ता पनि छ ।

Congress

सङ्गठन बलियो हुँदा हुँदै संघीय संसदमा आफ्नो प्रतिनिधि पठाउन नसकेको कांग्रेस र एमाले पनि यस पटक जित्नैपर्ने दबाबमा छन् । यी दुई वटै पार्टीबाट रास्वपामा जाने युवा पुस्ताको संख्या ठुलो छ । सबैभन्दा बढी मतदाता कांग्रेसबाट पलायन भएको नेताहरू बताउँछन् । रास्वपाको उम्मेदवारले युवा पुस्ताको ठुलो मत पाउने हुँदा अघिल्ला निर्वाचनको भन्दा परिणाम फरक आउन सक्ने देखिन्छ ।

  • वडागत अवस्थामा कांग्रेस बलियो

दुई नगर र चार गाउँपालिका गरी ६ पालिका रहेको यस निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा बाहेक अन्य पालिकामा नेपाली कांग्रेसले नेतृत्व गरेको छ । ढोरपाटन नगरपालिकामा ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवकुमार नेपाली विजयी भएका थिए । नेपाली नेपाली सहकारी ठगी आरोपमा गत वर्षदेखि बागलुङ कारागारमा छन् ।

यस पालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित धनबहादुर कायत (कल्याण)ले अहिले पालिकाको नेतृत्व गरिरहेका छन् । ताराखोला गाउँपालिकामा नेकपाको अध्यक्ष र कांग्रेसको उपाध्यक्ष छन् । गलकोट नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा कांग्रेसको नेतृत्व छ । बडिगाडमा राष्ट्रिय जनमोर्चा र  तमानखोलामा कांग्रेसको उपाध्यक्ष छन् । गलकोट र निसीखोलामा पालिकामा नेकपाको उपप्रमुख र उपाध्यक्ष छन् ।

UML

यस क्षेत्रमा ४८ वडा छन् । ११ वडा रहेको गलकोट नगरपालिकामा वडा नम्बर २, ३, ४, ६, ८, ९ र १० नेपाली कांग्रेस, वडा नम्बर १ राष्ट्रिय जनमोर्चा, ६ र ७ नेकपा र ११ नेकपा एमालेले जितेको छ ।

९ वटा वडा रहेको ढोरपाटन नगरपालिकामा वडा नम्बर १ नेपाली कांग्रेस, वडा नम्बर २ र ७ राष्ट्रिय जनमोर्चा, वडा नम्बर ३, ४, ५, ६ र ९ नेकपा एमाले र वडा नम्बर ८ नेकपाले जितेको छ ।

१० वटा वडा रहेको बडिगाडमा वडा नम्बर ६, ७ र ९ नेपाली कांग्रेस, वडा नम्बर १ र ८ राष्ट्रिय जनमोर्चा, वडा नम्बर ४ र १० नेकपा र वडा नम्बर २, ३ र ५ एमालेले जितेको छ । ५ वटा वडा रहेको ताराखोला गाउँपालिकामा पाँच वटै वडा नेकपाले जितेको छ । ६ वटा वडा रहेको तमानखोला गाउँपालिकामा वडा नम्बर ३, ५ र ६ नेपाली कांग्रेस, वडा नम्बर १, २ र ४ नेकपाले जितेको छ ।

७ वटा वडा रहेको निसीखोलामा वडा नम्बर १, ४, ५, ६ र ७ नेपाली कांग्रेस, वडा नम्बर २ नेकपा र वडा नम्बर ३ राष्ट्रिय जनमोर्चाले जितेको छ ।

यस क्षेत्रमा ५९ मतदानस्थलको ११५ वटा मतदान केन्द्र छन्, जहाँ ९५ हजार ३३५ जना मतदाता रहेका छन् ।