घृणा उत्पन्न गर्ने अभिव्यक्ति नियन्त्रणसम्बन्धी कानुनलाई लिएर दुई हप्ताभन्दा बढी समय सम्म अलग्गिएपछि अस्ट्रेलियाको प्रमुख विपक्षी शक्ति लिबरल–नेसनल गठबन्धन आइतबार औपचारिक रूपमा पुनः एकजुट भएको छ ।
क्यानबेरामा संयुक्त रूपमा उपस्थित हुँदै लिबरल नेतृ सुसान लेले गठबन्धन फर्किएको र अब विगत होइन, भविष्यतर्फ हेर्ने बताइन् । विभाजन गम्भीर वैचारिक मुद्दाका कारण भएको स्वीकार गर्दै नेसनल पार्टीका नेता डेभिड लिटिलप्राउडले अन्ततः सहमति भएको बताएका थिए ।
यो गठबन्धन २२ मा टुटेको थियो । डिसेम्बरमा बोन्डी बिचमा यहुदी समुदायलाई लक्षित गरेर भएको आक्रमणपछि लेबर सरकारले ल्याएको घृणा उत्पन्न गर्ने अभिव्यक्ति सुधारलाई लिबरलले समर्थन गरे पनि नेसनल्सले अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्ने भन्दै सोको विरोध गरेको थियो । नेसनल्सले तल्लो सदनमा मतदान बहिष्कार र सिनेटमा विपक्षमा मत दिएका थिए । नयाँ कानुनले घृणा फैलाउने समूहमाथि प्रतिबन्ध र हिंसा उक्साउने धर्मप्रचारकलाई कडा दण्डको व्यवस्था गर्छ ।
योसँगै गत वर्ष भारी चुनावी हार बेहोरेको गठबन्धन १२ महिनामा दोस्रो पटक फुटेको थियो । यसअघि ऊर्जा र जलवायु नीतिमा मत बाँझिएपछि दुबै अलग भएका थिए । अब दुवै दलले ‘छायाँ मन्त्रीपरिषद्’ सामूहिक निर्णय कुनै दलले एकतर्फी उल्ट्याउन नसक्ने सहमति गरेका छन् । यसबिच, आप्रवासनविरोधी पपुलिस्ट नेता पोलिन ह्यान्सनको ‘वन नेसन’ पार्टीको बढ्दो लोकप्रियताले पनि गठबन्धनलाई दबाब दिइरहेको छ।