
काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनमा ड्रोनको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित अन्य निर्णय गरेको छ।
गृह मन्त्रालयका अनुसार अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन पनि दिए।
अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका थिए।
बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्ने रणनीति तय गरेको छ।
बैठकमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले संचालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ।
यसैगरी निर्वाचन विरोधी गतिविधी गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गर्ने निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने निर्णय भएको छ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय गरिएको छ।