नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले पाएकी छिन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई माघ २३ गतेदेखि लागू हुने गरी यस गरिमामय पदमा नियुक्त गरिएको हो।
टेलिकमको नेतृत्व सम्हाल्ने अवसर पाएसँगै उनले आजै आफ्नो पदभार समेत ग्रहण गरेकी छिन्। नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलको नेपाल टेलिकममा लामो र अनुभवी यात्रा छ। बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकी उनले २०५१ सालदेखि इन्जिनियरका रूपमा टेलिकममा सेवा सुरु गरेकी थिइन्।
तीन दशक लामो करियरमा उनले विराटनगर र काठमाडौँ प्रादेशिक निर्देशनालयको निर्देशकका साथै वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको नेतृत्व समेत सफलतापूर्वक सम्हालिसकेकी छिन्। पछिल्लो समय उनी नायव प्रबन्ध निर्देशक र प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन्।
पदभार ग्रहण गर्दै डंगोलले नेपाल सरकारले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन्। उनले आफ्नो कार्यकालमा ग्राहकको चाहना र सरकारको प्राथमिकतालाई शिरोधार्य गर्दै कम्पनीलाई थप प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउने प्रतिबद्धता जनाइन्। टेलिकमलाई प्रतिस्पर्धी बजारमा अब्बल सावित गर्न कर्मचारीहरूलाई साझा उद्देश्यका साथ अघि बढ्न उनले आह्वान समेत गरेकी छिन्।