६२ लाख गरिबहरूको भोट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

घट्नुपर्ने गरिबी केही वर्षयता बढिरहेको छ। राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनाले गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। तर, केही दिनअघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान २०८२’ प्रतिवेदनअनुसार कुल जनसङ्ख्याको २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। अर्थात्, कुल जनसङ्ख्याको ६२ लाख ६६ हजार १४५ जना गरिबीमा छन्।

एकातिर गरिबी झन्–झन् बढेको छ भने अर्कोतिर अर्बपति धनीहरू बढिरहेका छन्। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढेर ६३ खर्ब पुगेको छ, जनसङ्ख्या खासै बढेको छैन तर घट्नुपर्ने गरिबी बढिरहेको छ। अर्थात्, स्पष्ट रूपमा देशमा धनी र गरिबबिचको खाडल बढिरहेको छ। असमानता र आर्थिक अन्याय बढिरहेको छ। स्रोत र साधनमाथि धनीहरूको वर्चस्व बढिरहेको छ।

जनगणना २०७८ को अघिल्लो वर्ष २०७७ मा राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको देखाएको थियो। तर, जनगणना २०७८ र त्यसपछिको ४ वर्षमा पनि गरिबी घट्नुको साटो २०.२७ प्रतिशतमा उक्लिएको छ। यसले के देखाउँछ भने सरकारले गरिब तथा किसानको पक्षमा, उपेक्षितहरूको पक्षमा यसबिच कामै गरेन।

खासगरी गरिबको भोट लिएर सत्तामा पुगेका कथित कम्युनिस्ट भन्नेहरूले गरिबहरूको हितमा कामै गरेनन्। फलस्वरूप गरिबी घटेन, बरु बढ्यो। यसै सन्दर्भमा यही फागुन २१ गते आम निर्वाचन हुँदैछ। सो निर्वाचनमा ६२ लाखभन्दा बढी गरिबहरू कसलाई भोट हाल्लान् ? तिनैलाई ? जसले उनीहरूको पक्षमा कुनै कामै गरेनन्। कतै गरिबहरूको भोट धनीहरूको स्वार्थ सिद्धिका लागि प्रयोग हुने त होइन ? भन्ने प्रश्न यक्ष छ।

अहिले निर्वाचनको सङ्घारमा भोटका लागि ग्रामीण भेगका दूरदराजका गरिब जनताको घरआँगनमा भोट माग्न उम्मेदवारहरू जान थालिसकेका छन्।

दलहरूले अहिले आ–आफ्ना उम्मेदवारहरूलाई निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराइरहेका छन्। कतिपय पत्रकार अथवा सामाजिक अभियन्ताहरूले पनि स्वतन्त्र ढङ्गबाट उम्मेदवारी दिएका छन्। निर्वाचन पर्व भव्य रूपमा लागिरहेको छ। यसै सन्दर्भमा मतदाताहरूले, खासगरी यस आलेखमा चर्चा गर्न लागिएको ६२ लाख गरिब मतदाताहरूले कसलाई भोट हाल्ने ? बडो ख्याल गर्न जरुरी छ।

अहिले निर्वाचनको सङ्घारमा भोटका लागि ग्रामीण भेगका दूरदराजका गरिब जनताको घरआँगनमा भोट माग्न उम्मेदवारहरू जान थालिसकेका छन्। वर्षभरि काठमाडौँ वा ठुला सहर बजारमा बस्ने र रमाउने अनि चुनाव आएपछि गरिबका दैलो चहार्ने नेपाली नेताहरूको पुरानै रोग हो। मतदाताहरूले यसपटक त्यस्ताहरूलाई चिन्न जरुरी छ। भोट भनेको त्यो एक भोट मात्र होइन, सही सदुपयोग गर्न जान्दा सुनौलो नेपाल बनाउने कडी पनि हो। सही उम्मेदवार र पार्टीलाई छनोट गरी दिइने भोटले नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न धेरै मद्दत गर्दछ। फेरि नेपाली जनता भोट हाल्ने बेलामा बहकिने, कसैको दबाब वा प्रभावमा पर्ने, सही–गलत छुट्ट्याउने गरी उम्मेदवार र दलहरूको ‘सामाजिक अडिट’ नगर्ने तर पछि भने ४ वर्षसम्म पछुताउने गर्छन्।

अब आसन्न फागुन २१ को चुनावमा विगतका ती गल्तीहरू हरेक मतदाताहरूले सच्याउन जरुरी छ। अत्यन्तै सोचेर, बुझेर, दलहरूको विगतका काम र भाषणको अडिट गरेर भोट दिनुपर्छ। अझ ६२ लाख ६६ हजार जो गरिब तथा विपन्न नागरिक छन्, उनीहरूले त झनै सोच्न जरुरी छ। विगतमा उनीहरूलाई कुन–कुन दलहरूले कस्ता–कस्ता आश्वासनका पोका बाँडे र कति काम गरे ? कसले ठगे र कसले गर्न खोजे, त्यो मूल्याङ्कन गर्न जरुरी छ।

जति नै चिल्ला कुरा गरे पनि, विदेशको पुँजीवादी शिक्षा र डिग्री थोपरेको भए पनि तिनीहरूको बहकाउमा गरिब जनता पर्नै हुँदैन। अहिले धेरै मान्छेहरू विदेशमा अकुत सम्पत्ति कमाएपछि अवसरको खोजीमा नेपाल झरेका छन्।

खासगरी गरिब जनताले असमानता घटाउने, गरिबहरूको एजेन्डामा काम गर्ने, रोजगारी र आर्थिक विकासलाई महत्त्व दिने दलहरू रोज्न जरुरी छ। यदि ६२ लाख गरिब जनताले सहरबाट गाउँ पसेका वा सहरी गरिबी नै झेलिरहेकाहरू माझ आउने कुनै झिल्के उम्मेदवारको बहकाउ वा मिठा भाषणमा पर्नै हुँदैन। गरिबहरूले बुझ्नुपर्छ कि धनीहरूको वकालत गर्ने पार्टी वा दलहरूले गरिबका एजेन्डामा काम गर्दैनन्। उनीहरूका खास एजेन्डा भनेको धनीहरूलाई थप धनी हुन सघाउनु हो। त्यसमा उनीहरू दत्तचित्त भएर लागि पर्छन्। त्यसकारण झिल्के उम्मेदवार वा पुँजीवादको पैरवी गर्नेहरूलाई गरिबहरूले भोट नै दिनु हुँदैन। उनीहरूले चिल्ला कुरा गर्न सक्छन्, दुई हात जोडेर नमस्कार गर्न सक्छन्, दुई छाक मासुभातको अफर गर्न सक्लान् र दुई–चार हजार खर्चन (वा हत्कण्डा रच्न) पनि सक्छन्। त्यतातिर किञ्चित लाग्नै हुँदैन।

जुन पार्टीले समाजवादको कुरा गरेको छ, समानताको, आर्थिक तथा सामाजिक न्यायको, रोजगारीको, गरिबहरूको स्तर उन्नतिको कुरा गरेको छ, उसैलाई हो भोट दिनुपर्ने। जति नै चिल्ला कुरा गरे पनि, विदेशको पुँजीवादी शिक्षा र डिग्री थोपरेको भए पनि तिनीहरूको बहकाउमा गरिब जनता पर्नै हुँदैन। अहिले धेरै मान्छेहरू विदेशमा अकुत सम्पत्ति कमाएपछि अवसरको खोजीमा नेपाल झरेका छन्। एकाधबाहेक धेरै त उनीहरू अवसरका लागि चुनाव लडिरहेका छन्। चुनाव हारेको केही महिनापछि नै उनीहरू पलायन हुन पनि सक्छन्। त्यसकारण देशलाई नै माया गर्ने, आफ्नै देशको माटोमा लडीबुडी खेलेको, सामाजिक भावना भएको, समाजसेवाको ‘ब्याकग्राउन्ड’बाट आएको र समानता एवं न्यायको खातिर लडिरहने मान्छेहरूलाई चुनावमा रोज्नुपर्छ। भलै उसले कम पढेको होस् केही छैन।

नयाँ वा पुरानो नभन्नुहोस्। जसमा राजनीतिक कल्चर छ, जो व्यावहारिक छ, जसले अरूलाई इज्जत गर्छ, भाषणभन्दा पनि केही गर्ने हुटहुटी राख्छ, जसले गरिबहरूलाई पनि माथि उठाउने र सम्मान गर्ने विचारधारा बोकेको छ, हो, त्यस्ताहरूलाई जिताउनुपर्छ।

नेताहरू सबै धेरै–धेरै पढेकै मात्र आउनुपर्छ भन्ने पनि त छैन। असल भावना र देशप्रेम भएको लचिलो नेतृत्वले अरूको सल्लाह सुन्दछ। फेरि नेताले त काम गराउने हो। राम्रो टिम बनाएर असल नियतले काम गर्ने हो। त्यसकारण आसन्न चुनावमा कोही पनि बहकिनु हुँदैन। न गरिब, न धनी वा न त मध्यम वर्ग। यथार्थमा राजनीति भनेको त्याग र समर्पण हो। र, यो त समाजसेवाको उच्चतम रूप हो। त्यसकारण पनि नेतृत्वमा अथाह त्याग, समर्पण, लचिलोपन, समाजसेवी भावना होस्। जनतालाई परेको समस्या र पीरमर्का उसले आफैँलाई परेको ठानेर मलहम लगाउन तत्पर होस्। हो, त्यस्तो नेतृत्व हामीले चुन्नुपर्छ।

अहिले त धेरैजसो अलिकति देश तथा विदेशमा रहेर पैसा कमाएका, सुकिला–मुकिला देखिने, महँगा–महँगा गाडी–घोडा चढ्नेहरू चुनावमा च्याँखेदाउ थापिरहेका छन्। विभिन्न दलहरूलाई पैसा र आफ्ना चलाखीको बलमा उनीहरूले नै टिकट हत्याएका छन्। सोझा र इमानदारहरूको हात खाली भइरहेको देखिन्छ। खासगरी जग्गा दलाल, कृषियोग्य भूमिहरूलाई टुक्रा–टुक्रा पारेर प्लटिङ गरी गरिबहरूलाई महँगोमा भिडाएर बैंक तथा वित्तीय संस्था डुबाएकाहरू चुनावी मैदानमा देखिएका छन्।

त्यसैगरी सरकारका अर्बौँका विकासे ठेक्का लिएर त्यसै काम नगरी बसेका गलत मानिसहरू पनि फ्रन्ट लाइनमा देखिएका छन्। अझ सहकारी ठग, ज्यान मुद्दाका दोषी, गाँजाडीहरू, ट्यापे, गुन्डा, माफिया र विदेशीका एजेन्टहरूलाई त भोट दिनै हुँदैन। बरु सोझोलाई, लाटोलाई नै दिनुस् तर स्वार्थी, चण्डाल, फटाहाहरूलाई किञ्चित भोट दिँदै नदिनुहोस्। कसलाई भोट दिने भन्ने कुरामा एउटा मापदण्ड नै बनाउनुस्। तात्तातो मन्त्री, सांसद, गाडी–घोडा, रवाफका लागि धेरै धूर्त मानिसहरू तपाईंका आँगनमा आइपुग्न सक्छन्।

उनीहरूलाई चिन्नुपर्ने बेला आएको छ। नयाँ वा पुरानो नभन्नुहोस्। जसमा राजनीतिक कल्चर छ, जो व्यावहारिक छ, जसले अरूलाई इज्जत गर्छ, भाषणभन्दा पनि केही गर्ने हुटहुटी राख्छ, जसले गरिबहरूलाई पनि माथि उठाउने र सम्मान गर्ने विचारधारा बोकेको छ, हो, त्यस्ताहरूलाई जिताउनुपर्छ। चाहे त्यो साइकल चढेर भोट माग्न आएको होस्, एक्लै आएको होस्, पुरानो कोट लगाएको होस्, त्यसको मतलब नगर्नुहोस्। आफ्नो मतदान वास्तविक रूपमा एउटा महान् उम्मेदवारलाई दिनुहोस्। यदि त्यस्ता उम्मेदवार नै कसैलाई देख्नुभएन र मनै लागेन भने बरु भोटै नदिनुहोस्।