फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेडभारतीय हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनर जहाजलाई ग्राउन्डेड गरेको छ ।

पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित खराबीको सङ्केत गरेपछि विमानलाई ग्राउन्डेड गरिएको हो ।

पाइलटको चिन्तामाथि प्राथमिकताका साथ जाँच भइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भारतको नागरिक उड्डयन नियामकलाई सूचित गर्दै जानकारी दिएको छ ।

बोइङका प्रवक्ता एयर इन्डियासँग समन्वयमा रहेको र यस मामिलाको समीक्षा गर्न सहयोग गरिरहेको बताए ।

यो कदम गत वर्षको जेठमा भएको उही मोडेलको जहाज दुर्घटनासँग सम्बन्धित अनुसन्धानको बीचमा आएको हो । बोइङको ७८७–८ ड्रिमलाइनर फ्यूल स्विच समस्याका कारण विमान दुर्घटना हुँदा गएको वर्ष २६० जनाको मृत्यु भएको थियो ।

एयर इन्डियाले जहाजमा देखिएको खराबीसम्बन्धी विस्तृत जानकारी वा उडान विवरण खुलाएको छैन । तर रिपोर्टअनुसार लन्डनबाट बेंगलुरु आएको जहाजमा पाइलटले समस्या देखाएका थिए ।

गत वर्षको दुर्घटनाको प्रारम्भिक प्रतिवेदन अनुसार इन्धन स्विच ‘रन’ बाट ‘कट अफ’ स्थितिमा गएपछि इञ्जिन बन्द भएको थियो । तर यसो कसरी भयो भन्ने स्पष्ट भएको छैन ।

अमेरिकी नियामकले त्यसपछिका बोइङ जहाजका इन्धन स्विच सुरक्षित रहेको बताएका थिए । भारतको नागरिक उड्डयन नियामक डीजीसीएले पनि बोइङ ७८७ र ७३७ जहाजका ककपिट स्विचको जाँच आदेश दिएको थियो ।

आफ्नो सबै ७८७ जहाजमा जाँच गर्दा कुनै समस्या नदेखिएको र स्विचको लकिङ मेकानिजममा कुनै दोष नभएको एयर इन्डियाले दोहोर्‍याएको छ ।