प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै बाँकी छ : पृथ्वी सुब्बा गुरुङ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन् ।

‘विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरियो भने त्यसैबाट सरकार बनाउन सकिन्छ । संविधान संशोधनको कुरा अघि बढाउन सकिन्छ र चुनाव पनि गराउन सकिन्छ’, गुरुङले भने, ‘संसद् पुनर्स्थापना भयो भने सबै चिज सोझिन्छ ।’

उनले पुनर्स्थापनाको भ्यालिडीटी कायमै रहेको भन्दै जुनबेलासम्म चुनावको औपचारिक प्रचार प्रसार सुरु हुँदैन त्यो बेलासम्म सम्भावना कायमै रहने बताए ।

गुरुङले प्रतिनिधि सभा पुनर्स्थापना नभएको खण्डमा एमाले चुनावबाट नभाग्ने बताए । उनले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी रवि लामिछानेको मुद्दा फिर्ता लिने काममा सरकारले षडयन्त्र गरेको बताए ।

‘सरकार नियोजित रूपमा आफूले चाहेकोजस्तो, जसले यो परिस्थिति निर्माण गरेको छ त्यसको सर्त अनुकूलका पार्टीलाई र व्यक्तिलाई चुनाव जिताउने हर्कत गरिरहेकाले हामीले धाँधली सुरु भयो भनेको हो’, गुरुङले भने ।

उपाध्यक्ष गुरुङले पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सँग चुनावी तालमेल तत्काल भइहाल्ने सम्भावना नदेखेपनि राजनीति सम्भावनाको खेल भएको बताए ।

उनले नेकपाले गत भदौ २३ र २४ को घटनाका बारेमा हेर्ने दृष्टिकोण नेकपा र एमालेबिचमा भिन्नता रहेको बताए । गुरुङले डेमोक्रेसी खतरामा रहेकाले डेमोक्रेटिक फोर्सबिच सहकार्य जरुरी रहेको बताए ।