नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ । जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने निर्देशिकामा उल्लेख छ ।
मंगलबारदेखि एक महिना बाँकी रहेकाले त्यसै विशेष रणनीति अनुरूप अब नेताहरू आफ्नो जिम्मेवारी जहाँ छ, त्यही मात्र खटिन पाउने सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् । ‘निर्वाचन परिचालन निर्देशिका अनुसार अब नेताहरू जसको जिम्मेवारी जहाँ छ, त्यही खटिनुपर्छ,’ सहमहामन्त्री डा. संग्रौलाले रातोपाटीसँग भनिन्, ‘आफ्नो क्षेत्रमा पार्टीको अवस्था सुदृढ बनाउन नेताहरू खटिन्छन् भनेर त्यो व्यवस्था लागू गरिएको हो ।’
निर्देशिका अनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् ।
केन्द्रीय कार्यालयमा यसअघि निर्वाचन परिचालन समितिले चलाएका प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएका थिए ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आफ्नो वडामा काम गर, अरूको क्षेत्रमा नजाऊँ भन्नका लागि यो रणनीति बनाइएको जानकारी दिए । ‘आफ्नो क्षेत्रमा काम गर, अरूको क्षेत्रमा गएर हल्ला गर्ने काम मात्रै नगर भनेर यो नीति बनाइएको हो,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘निर्वाचन परिचालन समितिको निर्देशिका हो । त्यो साथीहरूले कार्यान्वयन गर्नुहुन्छ ।’