प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले अति संवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाउने भएको छ । ‘हेभीवेट’ भिडन्त हुने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्नेगरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ ।
आन्तरिक छलफलमा अधिकृतहरुले झापा, सर्लाही र दोलखा जिल्लालाई निर्वाचन सुरक्षाको दृष्टिकोणले ‘थ्रेट’ भएको जिल्लाको रुपमा लिएका छन् । तराई-मधेसका जिल्लाहरूलाई पनि चुनौतीपूर्ण जिल्ला विश्लेषण गरेर त्यहाँ उच्च तहका अधिकृतहरु खटाउनेगरी छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सबैभन्दा चुनौतीपूर्ण जिल्लाको रुपमा झापालाई लिइएको छ । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । झापाबाटै निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर उम्मेदवार छन् ।
एमाले र रास्वपाको ठुलो शक्ति संघर्ष हुने आँकलन गरेर झापामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा प्रहरी परिचालन गर्नेबारे छलफल भइरहेको ती अधिकृतले बताए ।
त्यस्तै, सर्लाहीमा पनि एसएसपी खटाउने तयारी गरिएको छ । सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । सो क्षेत्रबाट यसअघि पटक-पटक सिंहले निर्वाचन जित्दै आएका थिए । सर्लाहीबाटै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
चुनौतीपूर्ण जिल्लामा एसएसपी दर्जाका अधिकृतले सुपरभिजन गर्नेबारे छलफल भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘चुनौतीको विश्लेषण गरेर उच्च दर्जाका अधिकृतले अनुगमन गर्नेबारे योजना बन्दैछ ।’
निर्वाचनको सुरक्षामा डीएसपी र एसपीहरु फिल्डमा परिचालन हुने र त्यसभन्दा माथिका अधिकृतहरुले सुपरभिजन गर्ने काफ्लेले बताए ।
डीएसपी इन्चार्ज हुने जिल्लामा सुरक्षा थ्रेट देखिएमा एसपी परिचालन गर्ने तयारी भइरहेको छ । डीएसीले कमाण्ड गर्ने तर सुरक्षा संवेदनशीलताको दृष्टिले सामान्य देखिएका दुईवटा जिल्ला हेर्नेगरी एसपीलाई सुपरभिजनको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
सुरक्षा संवेदनशीलताको दृष्टिले दोलखालाई चुनौतीपूर्ण जिल्लामा राखिएको छ । दोलखामा एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको बिचमा प्रतिस्पर्धा हुँदैछ । यसअघिको निर्वाचनमा बुथकब्जा र झडप हुने इतिहास भएको हुनाले त्यहाँ पनि उच्च तहका प्रहरी अधिकृतले ‘सुपरभिजन’ गर्नेबारे छलफल भइरहेको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले रातोपाटीलाई बताए ।
‘सुरक्षा संवेदनशीलताको आधारमा प्रहरी प्रधान कार्यालयको योजना अनुसार प्रदेशमा पनि सुपरभिजनको योजना बन्छ,’ रेग्मीले भने । बागमतीमा एक एसएसपीले ३ देखि ४ वटा जिल्ला सुपरभिजन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।
फागुन २१ मा प्रतिनिधिसभातर्फ २७५ सिटमा निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक निर्वाचनबाट टुंगो लाग्नेछ । निर्वाचन आयोगले तय गरेको मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिएको मतदान स्थललाई ‘अति संवेदनशील’ वर्गीकरण गरिएको छ ।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिनेछन् । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार चुनावमा ७९ हजार सेना खटिँदैछन् । सेना तेस्रो घेरामा परिचालित हुनेछ । निर्वाचनमा सूचना संकलनको जिम्मेवारी सहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरी सहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी छनोट गरेर तालिम दिइरहेको छ ।
