नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका झकबहादुर मल्ल ‘सुदीप’ ले आफ्ना चुनावी एजेन्डाहरू सार्वजनिक गरेका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना चुनावी प्रतिबद्धता तथा एजेन्डाहरू सार्वजनिक गरेका हुन् ।
उक्त क्षेत्रमा अन्य उम्मेदवारहरूले अहिलेसम्म एजेन्डाहरू सार्वजनिक गरेका छैनन् । मल्लले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक तथा नमुना सहर निर्माण गर्नेदेखि हरेक स्थानीय तहमा आइटी कलेजहरू स्थापना गर्ने एजेन्डाहरू अघि सारेका छन् ।
‘म दुई पटक जति निर्वाचन क्षेत्रका सबैजसो गाउँबस्ती पुगें, जनताले हामीप्रति आशा गरेका छन्,’ उनले भने, ‘म आफैमा युवा भएको र फ्रेस फेस भएकाले पनि म प्रति आशा गर्नुभएको छ ।’
माओवादी युद्धका लडाकु समेत रहेका मल्ल युवाहरूबिच चिनिएका नेता हुन् ।
मल्लले भने, ‘सानै उमेरमा परिवर्तनका लागि युद्धमा होमिएको हो, सहिदहरूकै बलिदानी र हाम्रो कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र, समानुपातिक समावेशिता, वर्गीय विभेदको अन्त्य भयो ।’
यद्यपि जुन उद्देश्य अनुरूप जनयुद्ध सुरु भएको थियो, जनताले जुन अपेक्षा गरेका थिए, त्यसमा केही कमी रह्यो । व्यवस्था बदलिए पनि जनताको अवस्थामा जुन रूपमा रूपान्तरण आउनुपर्थ्यो, त्यो आएन । ‘अब त्यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने छ,’ उनले थपे, ‘त्यही उद्देश्यअनुरूप हामी रूपान्तरित भएर जनतामा आएका छौँ ।’
मल्लले युद्धकै क्रममा जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (०५९÷६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार व्यवस्थापनदेखि ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात गरिएको बताए ।
साथै माओवादीकै अगुवाइमा पश्चिम सुर्खेतमा विकासका थुप्रै आयोजनाहरू अघि बढेको र तिनलाई पूर्णता दिन पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
उनका अनुसार, सुर्खेत २ मा ०७४ र ०७९ मा माओवादीले आफ्नो उम्मेदवार उठाएको थिएन ।
‘गठबन्धन हुँदा हाम्रा मतदाता र कार्यकर्ताहरूले कहिले एमाले त कहिले कांग्रेसलाई मत हाल्नुभयो,’ उनले भने,‘अहिले आफ्नै उम्मेदवारलाई मत हाल्न पायौँ भनेर खुसी हुनुहुन्छ ।’
यस्ता छन्, मल्लका चुनावी एजेन्डा र प्रतिबद्धताहरू
— गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा ‘आइटी कलेज’ स्थापना गरी प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी शिक्षामा पहुँच ।
—प्रदेश अस्पताललाई अत्याधुनिक र राष्ट्रियस्तरमा स्तरोन्नति गरेर प्रत्येक नागरिकलाई सुलभ, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता । पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना ।
—उज्यालो सुर्खेत र समृद्ध भविष्य’का लागि टोल–टोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा ।
— स्थानीय पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास र औद्योगिक क्रान्तिमार्फत आर्थिक समृद्धि र स्वदेशमै सम्मानजनक रोजगारीको ग्यारेन्टी
—प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक र नमुना सहरका रूपमा विकास गर्दै उपमहानगरपालिकामा स्तरोन्नति । बराहताल, पञ्चपुरी र चौकुनेमा व्यवस्थित बस्ती विकास र सहरीकरण ।
—विमानस्थल र रत्न राजमार्गको स्तरोन्नति तथा पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जाल विस्तारद्वारा समृद्ध सुर्खेतको आधार निर्माण ।
—गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता कार्यान्वयन गर्ने ।
—मानवअधिकार, सामाजिक न्यायको सुनिश्चित गर्ने ।
—जातीय विभेद अन्त्य गर्ने र समतामूलक समाज निर्माण गर्ने ।