अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा अर्थ मन्त्रालय अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक सेवा विभाग अन्तर्गत गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन् ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टङ्गालबाट खटिएको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका कर्मचारीहरूको साथबाट घुस रकम, स्रोत नखुलेको नगद र २३ थान मोबाइल सेट समेत बरामद गरिएको छ । आयोगको टोलीले कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षको टेबलको घर्रा र निजको साथबाट गरी कुल १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरेको छ । जसमा १० हजार रुपैयाँ घुस वापतको र बाँकी १ लाख ३६ हजार ४ सय २० रुपैयाँ स्रोत नखुलेको रकम रहेको छ ।
त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस वापतको २० हजार र स्रोत नखुलेको १८ हजार ८ सय ४८ गरी कुल ३८ हजार ८ सय ४८ रुपैयाँ बरामद भएको छ ।
आयोगले उनीहरूको साथबाट अन्य स्रोत नखुलेको रकमसमेत जोड्दा जम्मा २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट २३ थान मोबाइल सेट समेत बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिइएका तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।