ललितपुर क्षेत्र नम्बर ३ मा यसपटक कुनै एक उम्मेदवारको पक्षमा एकपक्षीय लहर देखिँदैन । डा. तोसिमा कार्कीलाई ‘गरेको काम’ देखाउनुपर्ने दबाब छ भने जितेन्द्र श्रेष्ठलाई ‘स्थानीय र सङ्गठित’ मत जोगाउनुपर्ने चुनौती छ । सन्दन थापा र राजकाजी महर्जन जस्ता उम्मेदवारहरू ‘विकल्प’ को रूपमा आफूलाई उभ्याउन संघर्षरत छन् ।
संघीय राजधानीसँगै जोडिएको र ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ अहिले राजनीतिक चासोको केन्द्र बनेको छ ।
अघिल्लो निर्वाचनमा अप्रत्याशित परिणाम निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उदय गराएको यो क्षेत्रमा यस पटकको चुनावी माहौल भने केही फेरिएको देखिन्छ । एकातिर अघिल्लो पटक भारी मतले विजयी भएकी डा. तोसिमा कार्की आफ्नो विरासत जोगाउने कसरतमा छिन् भने अर्कोतिर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ‘गुमेको साख’ फर्काउने रणनीतिमा छन् ।
राजनीतिक दलहरूको दाबी र चुनावी दौडधुपका बिचमा मतदाता भने निकै सचेत र आलोचनात्मक देखिएका छन् ।
ललितपुर ३ मा अघिल्लो निर्वाचनको अङ्कगणित हेर्दा यहाँ ‘स्विङ भोट’ ले निर्णायक भूमिका निर्वाह गरेको थियो । अघिल्लो निर्वाचनमा रास्वपाकी डा. तोसिमा कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भएकी थिइन् भने नेकपा एमालेका अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो र कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार माओवादीकी प्रभावशाली नेतृ पम्फा भुसाल ८ हजार ७६९ मतमा खुम्चिएकी थिइन् । अहिले परिस्थिति बदलिएको छ ।
अघिल्लो पटक ‘परिवर्तन’ र ‘नयाँ अनुहार’ को नाममा आएको लहर यसपटक ‘कार्यक्षमता’ र ‘जनसम्पर्क’ को कसीमा जाँचिँदैछ । स्थानीय मतदाता साढे दुई वर्षको कार्यकालमा तोसिमाले गरेको काम र उनको उपस्थितिबाट पूर्ण रूपमा सन्तुष्ट देखिँदैनन् ।
रास्वपाबाट पुनः उम्मेदवार बनेकी डा. तोसिमा कार्की अहिले देशव्यापी माहोलको सहारामा चुनावी मैदानमा छिन् । यद्यपि स्थानीयस्तरमा उनीविरुद्धका गुनासा भने बढेको देखिन्छ । कतिपय स्थानीयले उनलाई जिताएर पठाए पनि क्षेत्रका लागि खासै काम नगरेको र निर्वाचन पछि जनताको घरदैलोमा नआएको आरोप लगाएका छन् ।
‘हामीले परिवर्तन खोजेर उहाँलाई जिताएकै हो, तर फेरि साढे दुई वर्षमा उहाँले के गर्नुभयो त ?’ भन्ने प्रश्न स्थानीय चोक र चिया पसलहरूमा उठ्न थालेका छन् । समानुपातिकमा पार्टीलाई मत दिए पनि प्रत्यक्षमा भने यसपटक सोच्नुपर्ने धारणा केही मतदाताको छ । डा. कार्कीलाई व्यक्तिगत पहुँच पुर्याउन नसकेको र टोलमा नदेखिएको भन्ने आलोचनाले यसपटक ठुलै चुनौती दिने देखिन्छ । यद्यपि केही मतदाता भने अघिल्लो पटक अधुरो समय भएकाले यो पटक पनि दोहोर्याउनु पर्ने बताउँछन् ।

यता नेपाली कांग्रेसले यसपटक जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई नै चुनावी मैदानमा उतारेको छ । गगन थापा निकट मानिने श्रेष्ठ पुल्चोकमै जन्मे–हुर्केका स्थानीय अनुहार हुन् । उनी ललितपुरको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा परिचित छन् । अघिल्लो पटक आफ्नै उम्मेदवार नभएर गठबन्धनलाई भोट हाल्नुपर्ने बाध्यतामा रहेका कांग्रेसका कार्यकर्ताहरू यसपटक आफ्नै जिल्ला सभापति उम्मेदवार हुँदा निकै उत्साहित देखिएका छन् । श्रेष्ठको मुख्य शक्ति नै कांग्रेसको बलियो सङ्गठन र उनको स्थानीय पहिचान हो । तर रास्वपाको ‘नयाँ लहर’ र युवा मतदातालाई आफ्नो पक्षमा कसरी तान्ने भन्ने चुनौती उनीसामु पनि उत्तिकै छ ।
नेकपा एमालेबाट सन्दन थापा मगर प्रतिस्पर्धामा उत्रिएका छन् । झम्सिखेलका स्थानीय सन्दनले आफूलाई युवा र सामाजिक कार्यकर्ताको रूपमा प्रस्तुत गरेका छन् । एमालेको अनुशासित सङ्गठनको मत र आफूले विगतमा सामाजिक क्षेत्रमा गरेको कामको आधारमा उनी विजयी हुने दाबी गर्छन् । उनी आफू पहिलो पटक मैदानमा आएकाले जनताले ‘पुरानो’ र ‘परीक्षण भइसकेका’ उम्मेदवारलाई भन्दा आफूलाई विश्वास गर्ने तर्क गर्छन् । यद्यपि, नयाँ मतदाता र तटस्थ रहेका ‘स्विङ भोट’लाई आफ्नो पोल्टामा पार्नु उनका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जन मुख्य प्रतिस्पर्धीका रूपमा छन् । पम्फा भुसालजस्तो कद्दावर नेतृले त अघिल्लो पटक हार्नुपरेको यो क्षेत्रमा राजकाजीका लागि पनि बाटो सहज छैन । स्थानीय उम्मेदवारको परिचय दिएर उनले कति मत थप्न सक्छन्, त्यो नै उनको जितको मुख्य आधार हुनेछ ।
- जेनजी आन्दोलनको प्रभाव
मतदाताको मनोविज्ञान बुझ्दा यसपटकको निर्वाचनमा ‘जेनजी’ आन्दोलनको ठुलो प्रभाव पार्ने देखिन्छ । ललितपुर महानगरपालिका वडा नम्बर ४, पट्टीपा निवासी शारदा कुँवर भन्छिन्, ‘अहिले निर्वाचनलाई लिएर सबैमा उत्साह छ । हामीलाई यस्तो प्रतिनिधि चाहिएको छ, जसले देशमै रोजगारी सिर्जना गरोस्, हाम्रा छोराछोरी बिदेसिन नपरोस् ।’
उनी पार्टीभन्दा पनि व्यक्तिको सोच र विचार हेरेर भोट दिने पक्षमा छिन् । नातावाद र कृपावादभन्दा माथि उठेर देशको हितमा काम गर्ने मान्छे नै अहिलेको आवश्यकता भएको उनको ठम्याइ छ ।
तर मतदातामा एक प्रकारको वितृष्णा पनि छ । सानेपाका पूर्ववडा सदस्य बेखबहादुर तण्डुकार चुनावी माहौल अझै तातिनसकेको बताउँछन् । ‘उम्मेदवार धेरै छन्, तर उनीहरूका एजेन्डा र घोषणापत्र अझै स्पष्ट आएका छैनन्,’ उनले भने, ‘अहिले नमस्कार गरेरमात्र भोट पाइने अवस्था छैन, एजेन्डा अनुसार नै मतदाताले निर्णय गर्छन् ।’ उनले यसपटकको प्रतिस्पर्धा निकै कडा हुने र परिणाम अनपेक्षित आउन सक्ने सङ्केत गरे ।
ललितपुर ३ मा ‘स्थानीय भर्सेस बाहिरी’ को बहसले पनि निकै चर्चा पाएको छ । वडा नम्बर २ का स्थानीय युवा निर्णय विक्रम डङ्गोल भन्छन्, ‘हामी स्थानीय मान्छे नै उम्मेदवार होस् भन्ने चाहन्छौँ । ललितपुरको समस्या ललितपुरमै जन्मेकाले मात्र बुझ्न सक्छन् ।’
उनले भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका छन् र भ्रष्टाचार अन्त्य गर्ने नेतृत्व चाहिएको बताए । उनले भने, ‘पहिलाजस्तो यसले गरेन, त्यसलाई दिऊँ भन्ने अवस्था छैन । अहिलेका मतदाता निकै सेलेक्टिभ (छनौटपूर्ण) छन् ।’
कुनै पनि पार्टी वा उम्मेदवारप्रति शतप्रतिशत समर्थन नभएकोले यो निर्वाचन हेर्न लायक हुने डङ्गोलको विश्लेषण छ ।
जनताको गुनासो विशेष गरी निर्वाचित भएपछि फर्केर नआउने प्रवृत्ति छ । माली काम गर्ने राजकुमार महर्जनको आक्रोश अलि फरक छ । ‘तोसिमा कार्कीले एकचोटी जितेर गइन्, तर यो टोलमा घुमेको कहिल्यै देखिँदैन,’ उनले भने, ‘हामीले भेट्ने भनेको वडा अध्यक्षलाई मात्र हो, सांसदलाई त भेट्नै सकिँदैन ।’
उनी नेताहरू केवल निर्वाचनको बेलामात्र देखा पर्ने र जनतासँग नभिज्ने गरेको गुनासो गर्छन् । उनले एमाले र कांग्रेसजस्ता पुराना दलहरूले पनि योग्य र समाजमा भिजेका मान्छेलाई टिकट नदिएकोमा असन्तुष्टि व्यक्त गरे ।
वडा नम्बर ४ की विमला राणाको माग भने अलि दार्शनिक र दूरगामी छ । उनी सानोतिनो बाटो बनाउने विकासमा मात्र अल्झिने उम्मेदवार नभई देशको कानुन नै बदल्न सक्ने योग्य प्रतिनिधि चाहन्छिन् । ‘संसद्मा गएर आवाज उठाउने र कानुनलाई नयाँ ढङ्गले लैजान सक्ने मान्छे हामीलाई चाहिन्छ,’ उनले भनिन् ।
उनका अनुसार अहिले साना बालबालिकादेखि वृद्धसम्म सबैमा निर्वाचनको चेतना पुगेको छ र यसपटकको मतदान केवल भोट खसाल्ने कार्य मात्र नभई ‘विवेकको प्रयोग’ हुनेछ ।
रातोपाटीले गरेको फिल्ड रिपोर्टिङको आधारमा ललितपुर क्षेत्र नम्बर ३ मा यसपटक कुनै एक उम्मेदवारको पक्षमा एकपक्षीय लहर देखिँदैन । डा. तोसिमा कार्कीलाई ‘गरेको काम’ देखाउनुपर्ने दबाब छ भने जितेन्द्र श्रेष्ठलाई ‘स्थानीय र सङ्गठित’ मत जोगाउनुपर्ने चुनौती छ । सन्दन थापा र राजकाजी महर्जन जस्ता उम्मेदवारहरू ‘विकल्प’ को रूपमा आफूलाई उभ्याउन सङ्घर्षरत छन् ।
मतदाताहरू भ्रष्टाचारको अन्त्य, रोजगारीको सिर्जना र जनउत्तरदायी प्रतिनिधिको खोजीमा छन् । यो निर्वाचनमा कुनै पार्टीको पुरानो विरासतभन्दा पनि उम्मेदवारको व्यक्तिगत योग्यता, स्थानीयता र जनतासँगको सामीप्य नै जितको मुख्य कडी बन्ने पक्का छ ।