आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट साविक माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का ६ जना पूर्वअध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिस्पर्धामा उत्रिनेमा देवेन्द्र पौडेल, कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र रञ्जित तामाङ छन् । विगतको तुलनामा यो पटक राम्रा उम्मेदवार उठाएको नेकपाले विद्यार्थी नेताहरूलाई प्राथमिकता दिएको देखिन्छ । कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० घटकसँग मिलेर नेकपा गठन भएको थियो ।
जेनजी विद्रोहपछिको विषम परिस्थितिलाई मध्यनजर गरी पार्टीले उम्मेदवार चयनमा युवा र नयाँ अनुहारलाई प्राथमिकतमा राखेको देखिन्छ । परम्परागत राजनीतिक दलहरूभन्दा नयाँ वैकल्पिक दलहरूप्रति उभार देखिएको बेला विद्यार्थी नेताहरूलाई जित निकाल्न धेरै चुनौती देखिन्छ ।
विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गरेको साविकको माओवादी केन्द्र अहिले विभिन्न पार्टीबिच एकतापछि नेकपामा रूपान्तरण भएसँगै एक्लै चुनावी मैदानमा उत्रिएको छ । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्नुबाहेक १६४ निर्वाचन क्षेत्रमा नेकपाले उम्मेदवारी दिएको छ । तीमध्ये पौडेलले नवलपरासी–२, खड्काले प्युठान–१, न्यौपानेले गोरखा–२, शर्माले काठमाडौँ–६, मल्लले सल्यान–१ र तामाङले झापा–५ मा उम्मेदवारी दिएका छन् ।
- देवेन्द्र पौडेल
२०४७ सालमा भएको विद्यार्थी संगठनको एघारौँ महाधिवेशनबाट अखिल (क्रान्तिकारी)का संयोजक चुनिएका पौडेल २०४८ सालमा विभिन्न पाँच विद्यार्थी सङ्गठन मिलेर बनेपछि अध्यक्ष भएका थिए । साविक माओवादीका सचिव रहेका पौडेल नेकपाका प्रभावशाली नेता हुन् ।

२०७९ सालको निर्वाचनमा बागलुङ–२ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पूर्वशिक्षामन्त्री समेत रहेका उनी प्रखर वक्ता र अध्ययनशील नेता मानिन्छन् । २०३६ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय पौडेल २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार थिए ।
२०७४ सालमा बागलुङ–२ बाट निर्वाचित भएका उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बने । पौडेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको स्कुल विभागका उपप्रमुख थिए । यो पटक साविक निर्वाचन क्षेत्र छाडेर नवलपरासी–२ बाट उम्मेदवारी दिएका छन् ।
चुनावी मैदानमा कांग्रेसका भीमबहादुर थापा, एमालेका लेखनाथ खरेल, रास्वपाका नरेन्द्र कुमार गुम्ता, राप्रपाका ध्रुव बहादुर प्रधान र जसपा नेपालका देवेन्द्र यादवले चुनौती दिएका छन् । प्रधान अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
३४ हजार ७६४ मत ल्याएर प्रधान विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेलले १९ हजार ५९४ मत प्राप्त गरेका थिए । यस्तै, एमालेका दिपेन्द्र कुमार अधिकारीले १४ हजार ५०२ मत प्राप्त गर्दा रास्वपाका मदनलाल पौडेलले ५ हजार ५३१ मत प्राप्त गरेका थिए । यो क्षेत्र राप्रपाको गढ मानिन्छ ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट समानुपातिकतर्फ राप्रपाले १८ हजार ३५ मत प्राप्त गरेको थियो । कांग्रेसले १५ हजार ६२५, रास्वपाले १० हजार ६७७, एमालेले १० हजार ६७१, जसपा नेपालले ६ हजार ४१७, लोसपा नेपालको ६ हजार ३१६, नाउपाले ५ हजार ९५०, जनमत पार्टीले ४ हजार ९६२ मत प्राप्त गर्दा माओवादीले २ हजार ८४० पाएको थियो । यस क्षेत्रमा साविकको एकीकृत समाजवादीले जम्मा २४५ मत प्राप्त गरेको थियो ।
यसपटक जसपा नेपाल र लोसपा एकीकरण भएकाले पौडेललाई चुनौती थपिएको छ । चुनौतीको बिचबाटै जित निकाल्ने गरी तयारी भइरहेको उनले बताए ।
‘योपटक राप्रपाको गढ भत्काउने गरी तयारी थालेका छौँ । यहाँको मत छिरलिएको छ । चुनौतीलाई छिचोलेर जित निकाल्ने प्रयासमा हामी छौँ’, रातोपाटीसँग पौडेलले भने ।
- कृष्णध्वज खड्का
२०५२ वैशाखमा भएको १३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित खड्काले पहिलोपटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । २०७९ सालमा प्यूठानबाट उठ्न चाहेका उनी श्रीमती रेखा शर्माले टिकट पाएपछि पछि हटेका थिए । शर्मा दाङ–२ बाट एमालेका महासचिव शंकर पोखरेललाई हराएर चर्चामा आएकी थिइन् । प्रचण्डले शर्मालाई सञ्चारमन्त्री बनाएका थिए । शर्माले योपटक उम्मेदवारी नदिने घोषणा गरेपछि प्यूठान–१ बाट खड्कालाई पार्टीले टिकट दिएको हो ।

२०५४ सालमा खड्का जेलमै रहेको बेला १४औँ सम्मेलनबाट दोस्रोपटक विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले प्रचण्ड, राजा वीरेन्द्र, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमालेका तत्कालीन महासचिव माधव नेपाल, नेता वामदेव गौतमसँग वार्ता गरेका थिए ।
२०३५ सालदेखि वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएका खड्काले २०३६ सालमा भएको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा अभियान चलाए । २०४६ सालमा बृहत् जनआन्दोलनको पक्षमा सक्रिय रहेकै बेला सुरक्षाकर्मीले उनलाई जेल हालेका थिए । खड्का २०५१–२०५८ सालसम्म अध्यक्ष प्रचण्डको प्रतिनिधिका रुपमा सक्रिय भूमिका खेले । उनकै पहलमा माओवादी दुई पटक शान्ति वार्तामा आएको थियो । दोस्रो शान्ति वार्ता भङ्ग भएपछि २०५८–२०५९ सम्म उनलाई सैनिक हिरासतमा राखेर बेपत्ता पारिएको थियो । हिरासतमा चरम यातना दिँदा करङ र कम्मरको हड्डी फ्याक्चर भएको खड्का बताउँछन् । हात र खुट्टामा अझै रड र तार राखिएको उनी सुनाउँछन् ।
‘पुराना र नयाँ पुस्ताको भावनालाई जोड्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ । प्यूठानी जनताको हकहितको पक्षमा दिनरात खटेर काम गरेको छु । आम मतदाताले योपटक मलाई भारी मतले विजयी गराउने विश्वास लिएको छु’, उनले भने ।
खड्का २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशका आर्थिक मामिलामन्त्री बनेर काम गरेको अनुभव उनीसँग छ ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा एमालेका सूर्यबहादुर थापा क्षेत्री विजयी भएका थिए । यसपटक उनी आफ्नो विरासत जोगाउन प्रयासरत छन् । अघिल्लो निर्वाचनको परिणामलाई हेरेर एमालेले थापा क्षेत्रीलाई नै उम्मेदवार बनाएको हो ।
अघिल्लो निर्वाचनमा एमालेका थापा क्षेत्री ४१ हजार ११८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला जनमोर्चालाई कांग्रेस र माओवादीले समर्थन गरेको थियो । रास्वपाका कृष्णप्रसाद पोखरेलले ३ हजार ३१८ मत प्राप्त गरेका थिए ।
यो क्षेत्रमा अहिले कांग्रेसका डा. गोविन्द पोखरेल उम्मेदवार छन् भने रास्वपाले सुशान्त वैदिकलाई अघि सारेको छ ।
समानुपातिकतर्फ एमालेले अघिल्लोपटक ३३ हजार ८०४ मत प्राप्त गरेको थियो । कांग्रेसले १७ हजार ८५१, माओवादीले १३ हजार ३०३, राष्ट्रिय जनमोर्चाले ९ हजार ९५९, रास्वपाले ५ हजार ८५१ मत प्राप्त गरेको थियो ।
- लेखनाथ न्यौपाने
पार्टीभित्रै निकै पेलानमा परेका अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानले यो पटक न्याय पाएका छन् । पटक–पटक ठुला नेता दोहोरिँदा उनी प्रतिनिधि सभा सदस्यको टिकट पाउनबाट सधैँ वञ्चित भएका थिए । उम्मेदवारी मात्र नभएर पार्टीभित्र क्षमता भएर पनि अवसर नपाउने नेताका रूपमा गनिन्छन् उनी ।
poiयो पटक न्यौपानेलाई गोरखा–२ बाट नेकपाले उम्मेदवार बनाएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई २०६४ सालदेखि २०७० सालसम्म यो निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । २०७४ सालमा सोही क्षेत्रबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बने, तर कांग्रेससँग चुनावी तालमेल गरेका तत्कालीन नयाँ शक्ति नेपालका अध्यक्ष भट्टराई नै विजयी भए । २०७९ सालमा बाबुरामलाई मनाएर प्रचण्ड आफैँ यो क्षेत्रबाट उम्मेदवार बने । निर्वाचित भएपछि प्रचण्डले १८ महिना सरकारको नेतृत्व गरे ।
यो पटक पनि न्यौपानेले झन्डै उम्मेदवारी फिर्ता लिनुपर्ने अवस्था सिर्जना भएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक रहेका भट्टराईले पार्टीको दबाबमा उम्मेदवारी दिएका थिए, तर चुनावी माहोल आफ्नो पक्षमा नभएकाले भट्टराईले माघ ९ गते बिहान प्रचण्डसँग भेटेर न्यौपानेको उम्मेदवारी फिर्ता गराइदिन आग्रह गरेका थिए । उम्मेदवारी फिर्ताको विषयमा प्रचण्डसँग कुराकानी हुन लागेको चाल पाएका न्यौपानेले मोबाइल ‘स्विच अफ’ गरेर बसेका थिए ।
प्रचण्डले हितराज पाण्डे लगायत जिल्लाका नेताहरूसँग उम्मेदवारी फिर्ताबारे कुराकानीसमेत गरेका थिए । जिल्लाका नेता तथा कार्यकर्ताहरू न्यौपानेकै पक्षमा उभिएपछि भट्टराईले उम्मेदवारी फिर्ता लिए । उनको उम्मेदवारी फिर्तासँगै न्यौपानेको पक्षमा माहोल बन्दै गएको जिल्लाका नेताहरू बताउँछन् । न्यौपाने आफैँ पनि भट्टराईकै सल्लाहमा आफूले उम्मेदवारी दिएकाले सहयोग रहने विश्वास व्यक्त गर्छन् ।
‘मैले बाबुरामकै सल्लाहमा उम्मेदवारी दिएको हुँ । उहाँले उम्मेदवारी फिर्ता लिए पनि समर्थन मलाई हुन्छ भन्ने विश्वास लिएको छु । योपटक सबै पक्षको सहयोग मलाई हुनेमा विश्वस्त छु’, उनले भने ।
चुनावी मैदानबाट भट्टराई बाहिरिएपछि यहाँ एमालेबाट मिलन गुरुङ उर्फ चक्रे मिलन, रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कांग्रेसका प्रकाशचन्द्र दवाडी प्रतिस्पर्धामा छन् । रास्वपाका उम्मेदवार बुर्लाकोटीले आफूहरूकै आग्रहमा भट्टराईले मैदान छाडेकाले प्रलोपाको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
अघिल्लोपटक यहाँ प्रचण्ड २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका अब्दुस सलाम मियाले ७ हजार ३९५ मत प्राप्त गरेका थिए । त्यतिबेला कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । यसपाली दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । गोरखा–२ माओवादीको आधार क्षेत्रका रूपमा चिनिँदै आएको छ ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा माओवादीले समानुपातिकतर्फ १९ हजार मत प्राप्त गरेको थियो । यस्तै, कांग्रेसले ११ हजार ८८२, रास्वपाले ८ हजार ९९९ मत पाउँदा एमालेले ६ हजार १८५ मत प्राप्त गरेको थियो ।
बौद्धिक तथा अध्ययनशील नेता रहेका न्यौपाने स्पष्ट विचार, सिद्धान्त तथा सरल जीवन शैलीका कारण सबैमाझ लोकप्रिय छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ मा जन्मिएका उनी अशिक्षा र गरिबीसँग संघर्षबाट जन्मिएका नेता हुन् । माध्यमिक शिक्षा गाउँकै जनता माध्यमिक विद्यालयमा पूरा गरेका उनले परिवारको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न काठमाडौँ आए । संघर्षकै बिचबाट न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरे ।
विद्यालयमा अध्ययनकै क्रममा वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी क्याम्पस इकाई अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हँुदै २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा अघि अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य बने । २०५४ साल (जेल)मा रहेकै बेला केन्द्रीय कोषाध्यक्ष, २०५६ मा उपाध्यक्ष र ०६० मा अध्यक्ष बने । न्यौपाने २०६० देखि २०६७) सम्म दुई पटक अध्यक्ष बने ।
२०६९ सालमा पार्टी विभाजन हुँदा उनी मोहन वैद्य ‘किरण’ समूहमा लागेका थिए । २०७२ सालमा पुरानै पार्टी फर्किएका उनले सचिवालय सदस्यको जिम्मेवारी पाए । उनले २०७५ सालमा नेकपाका केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरे ।
पञ्चायतको अन्त्यतिर विद्यालय पढ्दै गर्दा ‘अराष्ट्रिय तत्व’को नाममा उनीमाथि वारेन्ट जारी भएको थियो । जनयुद्ध सुरु भएपछि काठमाडौँ उपत्यकाबाट जेल पर्ने न्यौपाने पहिलो माओवादी कार्यकर्ता बने । त्यतिबेला २८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेर उनी ६ महिना जेल बसे ।
२०५४ सालदेखि २०५८ सालसम्म विभिन्न ६ वटा मुद्दा खेप्दै ४ वर्ष लगातार जेल जीवन बिताएका उनले राज्यसँगको पहिलो वार्ताका क्रममा २०५८ मा रिहा भए । तत्कालीन सरकारले न्यौपानेको टाउको ल्याउनेलाई २५ लाख रुपैयाँ इनामको घोषणा गरेको थियो ।
२०५४ सालमा हिरासतको यातनाले उनको देब्रे कान फुटेको थियो भने २०५९ सालमा आन्तरिक दुर्घटनामा पर्दा उनी घाइते भएका थिए ।
न्यौपाने राजनीतिमा मात्र होइन, अध्ययन र लेखनमा पनि उत्तिकै सक्रिय छन् । कलम, शैक्षिक हडताल, अखिल ज्ञान, तिमी अमर भयौ, शिक्षा र राजनीति, चिठीमा जनयुद्ध, शिक्षामा पुनर्संरचनाको बहस, विद्यार्थी आन्दोलनमा बाइस वर्ष, कोमामा कोरस, सङ्घर्षको इतिहास आदि साहित्य, लेख र रचना उनले सिर्जना गरेका छन् ।
यस्तै उनका बन्दी आवाज, पर्खालभित्रका सिर्जनाहरु, अजम्बरी हस्ताक्षर, प्रचण्ड ः शिक्षा र राजनीति, राजेन्द्र ढकाल ः सम्झना र सम्मान लगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।
- हिमाल शर्मा
माओवादी युद्धका बेला ज्युँदा सहिदको रूपमा चर्चित अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले काठमाडौँ–६ बाट उम्मेदवारी दिएका छन् । उनी २०६७ मंसिरमा भएको १८औँ सम्मेलनबाट अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका थिए ।
किशोर अवस्थादेखि नै वामपन्थी आन्दोलनमा सक्रिय उनी २०४३ सालमा पहिलो पटक जेल परेका थिए । २०४८ देखि २०६३ सालमा पटक–पटक गरी उनले करिब १० वर्ष जेल जीवन बिताएका थिए ।
माओवादी युद्धकालमा उनलाई भैरवनाथ गण शिवपुरी ब्यारेकमा आँखामा पट्टी बाँधेर र हातखुट्टा बाँधिएको अवस्थामा २७ महिनासम्म जेलमा राखिएको थियो । साविक माओवादी निकट अखिल क्रन्तिकारीका फ्याक्सन इन्चार्ज रहेका शर्माले २०७० सालमा सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए । त्यतिबेला उनले ५ हजार ९४५ मत प्राप्त गरेका थिए । कांग्रेसका भीमसेनदास प्रधान विजयी हुँदा दोस्रो स्थानमा एमालेका योगेश भट्टराई थिए । १२ वर्षपछि फेरि चुनावी मैदानमा उत्रिएका उनी योपटक ‘रेकड ब्रेक’ गर्ने जिकिर गर्छन् ।
‘पहिलेको तुलनामा योपटक माहोल राम्रो बन्दै गएको छ । रेकर्ड ब्रेक गर्ने हिसाबले नै हामीले तयारी गरेका छौँ’, उनले भने ।
२०७९ को निर्वाचनमा यो क्षेत्रबाट रास्वपाका शिशिर खनाल १४ हजार २२१ मत ल्याएर विजयी भएका थिए । शर्माका निकटतम् प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९१७ मत प्राप्त गरेका थिए । कांग्रेसका भिमसेनदास प्रधानले ८ हजार ८१२ मत पाएका थिए । अघिल्लो निर्वाचनमा यहाँ माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो ।
समानुपातिकतर्फ रास्वपाले ११ हजार ९९६, एमालेले ८ हजार १९, कांग्रेसले ७ हजार ५७७ मत प्राप्त गर्दा माओवादीले एक हजार ८०२ मत प्राप्त गरेको थियो । योपटक शर्मालाई अघिल्लो विजेता रास्वपाका खनालले नै चुनौती दिएका छन् । कांग्रेसले कृष्ण बानिया क्षेत्री, एमालेले अमन कुमार मास्के र राप्रपाले उद्धवराज भेटवाललाई मैदानमा उतारेको छ ।
- रमेश मल्ल
२०७० मा भएको १९औँ सम्मेलनबाट अखिल क्रान्तिकारीका अध्यक्षमा निर्वाचित भएका मल्ल सल्यान–१ बाट नेकपाको उम्मेदवार बनेका छन् ।
२०७८ कातिकदेखि २०८१ माघसम्म प्रचण्डका प्रमुख स्वकीय सचिव रहेका मल्लले निकै रस्साकस्सीपछि टिकट पाएका हुन् । प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो १८ महिने कार्यकालमा मल्लले सहयोगी भूमिका खेलेका थिए ।

यस क्षेत्रमा अघिल्लो निर्वाचनमा विजयी प्रकाश ज्वालाले उम्मेदवारीका लागि दाबी गरेका थिए । माओवादीको आधार क्षेत्र रहेका सल्यानमा अन्ततः संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले निर्णय गरी मल्ललाई टिकट दिइएको हो ।
यस क्षेत्रमा एमालेले ज्वालाका कट्टर विरोधी गुलाबजंग शाहलाई उम्मेदवार बनाएको छ । कांग्रेसले केश बहादुर विष्टलाई उम्मेदवार बनाएको छ । रास्वपाले ललित कुमार चन्दलाई उठाएको छ । एमाले र माओवादीबाट अलग भएका प्रगतिशील लोकतान्त्रिक पार्टीबिच सहकार्य भएकाले केही असर पर्न सक्ने चर्चा चलेको छ । तर एमाले र प्रलोपाबिच भएको तालमेलले कुनै असर नपर्ने मल्लको जिकिर छ । ‘प्रलोपाको यहाँ कुनै संगठन छैन । हाम्रै जनमत राम्रो छ । तालमेलले कुनै असर पर्दैन’, उनले भने ।
२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट ज्वाला ३५ हजार ७०७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७९२ मत ल्याएका थिए । तेस्रोमा राजेन्द्र वीर रायले १३ हजार ३९ मत प्राप्त गरे । रास्वपाको पवनराज देवकोटाले ३ हजार ६९५ मत प्राप्त गरेका थिए ।
अघिल्लो निर्वाचनमा यहाँबाट समानुपातिकतर्फ एमालेले २२ हजार २५६ मत ल्याएको थियो । दोस्रो स्थानमा रहेको माओवादीले २१ हजार ३२५ मत पाएको थियो । कांग्रेसले १९ हजार ९६६ मत ल्याउँदा एकीकृत समाजवादीले ५ हजार ९७० मत प्राप्त गरेको थियो । यहाँ रास्वपाले ४ हजार ९२२ मत प्राप्त गरेको थियो ।
- रञ्जित तामाङ
अखिल क्रान्तिकारीका अर्का पूर्वअध्यक्ष रन्जित तामाङले यो पटक झापा–५ बाट उम्मेदवारी दिएका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको पकड क्षेत्रमा उम्मेदवारी दिएकाले तामाङलाई जित निकाल्न निकै चुनौतीपूर्ण छ । सोही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएका छन् । दुई ‘हेभीवेट’ उम्मेदवारका कारण तामाङ छायामा परेका छन् । जेनजी विद्रोहको बलमा सत्ता गुमाएका ओलीका विरुद्ध बालेनले उम्मेदवारी दिएकाले सबैको ध्यान झापा–५ मा केन्द्रित भएको छ ।
एमालेले ओलीलाई नै भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ भने रास्वपाले बलेनलाई । ओलीले सोही क्षेत्रबाट २०६४ को निर्वाचन बाहेक सबै निर्वाचन जित्दै आएका छन् । तर दुई चर्चित प्रतिस्पर्धीको टक्करकाबिच आफूले जित हासिल गर्ने तामाङको जिकिर छ ।

‘२०६४ सालमा हामीले ओलीलाई हराएका हौँ । अहिले पनि ओली र बालेनको उम्मेदवारीलाई लिएर बाहिर जति चर्चा छ, भूगोलको यथार्थ अर्कै छ । चुनौतीका बिचबाट पनि जित निकाल्नेमा म विश्वस्त छु’, उनले भने ।
यस क्षेत्रमा कांग्रेसले मंधरा चिमरिया, राप्रपाले लक्ष्मी प्रसाद संग्रौला, श्रम संस्कृति पार्टीले समिर तामाङलाई उठाएको छ ।
कमल गाउँपालिका–१ मा २०३९ माघ १९ गते जन्मिएका तामाङ २०७४ भदौमा भएको २१औँ सम्मेलनबाट विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएका थिए । उनी आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएका पहिलो अध्यक्ष हुन् । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति नभएपछि मतदान गरिएको थियो ।
प्रारम्भिक शिक्षा नजिकैको श्री बाँसबारी निम्न माध्यमिक विद्यालयबाट सुरु गरेका तामाङले एसएलसी भने तत्कालीन तोपगाछी–२ स्थित श्री महेन्द्र रत्व माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका थिए । महेन्द्र मोरङ कलेज विराटनगरबाट आईए पूरा गरेका उनले काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय उनी साविक नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा आवद्ध भएर क्षेत्रीय सदस्य, जिल्ला सदस्य, झापा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै २०७४ सालमा अनेरास्ववियुको पहिलो निर्वाचित केन्द्रीय समिति अध्यक्ष बन्न सफल भए । स्पष्ट विचारका कारण उनी सबै माझ लोकप्रिय छन् । आफ्नो कार्यकालमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन सफल भएका उनले सडक संघर्षमा अग्रणी नेतृत्व गरेका थिए । हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका उनी झापा जिल्ला इञ्चार्जका रूपमा क्रियाशील छन् ।
२०५८ सालको संकटकालीन समयमा उनी पक्राउ परी करिब दुई वर्षसम्म जेलमा रहे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको वकालत गर्दै आएका उनी उत्पीडित समुदायको हक अधिकार र सामाजिक न्यायका लागि अडिग छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि मौलिक उत्पादन प्रणालीको आधुनिकीकरण गरी शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिको लक्ष्यमा युवा पुस्ताले हातेमालो गर्नुपर्ने उनको परिवर्तनकारी सोच छ ।