म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइयो ।
त्यसपछि २४ मंसिर र २ मंसिरमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गर्यो । अहिले ब्युरोले सर्लाहीको भर्दोल गाउँपालिका-९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राईलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
म्यानमारबाट उद्धार गरिएका ४७ जनामध्येबाट अहिलेसम्म ब्युरोमा २ वटा जाहेरी परेको छ । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथिको सोधपुछ, फर्केकाहरूले दिएको जाहेरी तथा अनुसन्धानबाट नेपालीहरूलाई त्यहाँ साइबर दासको रूपमा चिनियाँ गिरोहले प्रयोग गरिरहेको पत्ता लागेको हो ।
थाइल्यान्डस्थित नेपाली दूतावास, म्यानमार सरकार र ब्युरोको समेत पहलमा ४७ नेपालीको उद्धार भएको थियो । त्यहाँ अझै करिब १०० को हाराहारीमा नेपालीहरूलाई बन्धक बनाएर साइबर दासको रूपमा काम लगाइएको छ ।
ब्युरोका एसएसपी कृष्ण पंगेनी अझै ठूलो संख्यामा नेपालीहरू साइबर दासको रूपमा म्यानमारमा फसेको बताउँछन् ।
म्यानमारको विद्रोही समूहको दबदबा रहेको क्षेत्र मेवाडीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दामा नेपालीहरूलाई प्रयोग गरेको बताइन्छ । म्यानमार प्रशासनको समेत पहुँच बाहिर रहेको मवाडीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’को पासोमा अहिले नेपाली पर्दै आएका छन् ।
चिनियाँहरू बाहिरबाटै सबै कुराको व्यवस्थापन गर्ने तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरू प्रयोग गर्ने गरेको एसएसपी पंगेनी बताउँछन् ।
नेपालीहरूलाई विशेषगरी ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर अनलाइनमा विभिन्न प्रलोभन देखाएर फिसिङ गर्ने शैली देखिएको छ । चिनियाँको यो ट्र्यापमा विशेषगरी अमेरिकी, युरोपका व्यक्तिहरू फस्ने गरेको ट्रेन्ड देखिन्छ ।
अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्याउँदै डिजिटल दास बनाउने गरेको देखिन्छ ।
कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई थाइल्यान्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर त्यहाँ पुर्याउने गरिन्छ । थाइल्यान्डबाट ३६ घण्टासम्म कारमा राखेर म्यानमारको केकेआई पार्कमा लैजाने गरिएको छ । सो क्रममा केहीको आँखामा पट्टीसमेत लगाइन्छ । त्यहाँबाट मेवाडी पुर्याउने गरेको पीडितहरूले बताउने गरेका छन् ।
नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार लाने गरेको देखिन्छ । एक लाखभन्दा माथिको तलब दिलाउने प्रलोभन देखाएर त्यहाँ पुर्याएपछि अनलाइन फिसिङमा प्रयोग गर्ने, नमानेको अवस्थामा चरम यातना दिनेसम्मका काम हुने गरेका छन् । उनीहरूलाई त्यहाँ केटी बनेर लभ अफेयर जसरी कुराकानी गर्न लगाउने, बिटक्वाइनको कारोबारमा लगाउने गरेको देखिन्छ ।
म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने काम सुरु हुन्छ । गलत काममा फसेको थाहा पाएपछि नेपाल फिर्ता हुन खोजेको अवस्थामा भने पैसा हाल्न लगाउने वा त्यसवापत अरू ३-४ जना नेपालीलाई म्यानमार ल्याएपछि मात्रै छाड्ने प्रवृत्ति देखिएको एसएसपी पंगेनी बताउँछन् ।
‘कोही नेपाली छुटेर आउनुपर्यो भने कि उनीहरूले भनेजति पैसा हाल्नु पर्यो कि त्यसवापत अरू नेपालीलाई म्यानमार झिकाउनु पर्यो । यी दुई सर्तमा मात्रै छुट्ने अवस्था देखिन्छ,’ एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।
यसअघि दक्षिणपूर्वी एसियाका देशहरूमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको थियो । यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाका देशहरूमा पुर्याएर साइबर स्लेभ बनाउने धन्दा रोकिएको छैन ।
राज्यको पहुँच नै हुन नसक्ने ठाउँहरूमा क्याम्प खडा गरेर राख्ने, क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरूलाई अनलाइन स्क्यामिङहरूमा प्रयोग गर्ने गरिएको छ ।
निश्चित टार्गेट दिएर काममा लगाउने र दैनिक १८ घण्टासम्म काम गनुपर्ने अवस्था छ । दूताबासको पहल बिना फर्केका अधिकांशजसोले १० लाखसम्म फिरौती बुझाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त रकम क्रिप्टो करेन्सीमा हालेपछि बल्ल नेपालीहरूलाई त्यहाँबाट मुक्त गरेको देखिन्छ ।
१०७ जनाको उद्धार
अहिले ४७ जनाको उद्धार भए पनि मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता १०७ जनाको उद्धार भएको छ । जसमा १०३ पुरुष र ४ महिला छन् । उनीहरूलाई सुरुमा नेपालबाट चिनियाँ गिरोहले नै सम्पर्क गरी थाइल्यान्डमा दिने रोजगारी भन्दै म्यानमार लैजाने गरेको थियो ।
तर, पछिल्लो समय नेपालीलाई नै एजेन्ट खडा गरेर नेपालीहरूमार्फत नै थाइल्यान्डमा रोजगारी भन्दै म्यानमार पुर्याउने ट्रेन्ड देखिएको छ । अहिले पक्राउ परेका दुई नेपाली तिनै चिनियाँका नेपाली एजेन्ट रहेको ब्युरोको दाबी छ ।
म्यानमारकै जस्तो शैली दक्षिणपूर्वी एसियाका अन्य देशहरू पनामा, कम्बोडिया, पलाउमा समेत देखिएको छ ।
ब्युरोको तथ्यांकअनुसार पनामाबाट अहिलेसम्म १९ पुरुष र १ महिला गरी २० जनाको उद्धार गरिएको छ । कम्बोडियाबाट ९ पुरुषको उद्धार गरिएको छ । पलाउबाट पनि २० पुरुषको उद्धार गरिएको छ । यसरी पठाउने ३ चिनियाँसहित करिब दुई दर्जन नेपालीलाई पक्राउ गरेर मुद्दा चलाइएको ब्युरोको तथ्यांक छ ।
एक वर्ष बन्धक बनेर फर्केका युवाको बयान- करेन्ट लगाएर यातना दिइयो
२०८१ मंसिर महिनाको पहिलो हप्तातिर वैदेशिक रोजगारीको लागि विदेश जान विभिन्न म्यानपावरहरूमा बुझ्दै थिएँ । एक दिन गोकर्णेश्वर नगरपालिका-५ झोगाल बस्तीमा आइशा खाजाघरमा खाजा खाने क्रममा राजनारायण महतोसँग भेट भयो ।
कुराकानी क्रममा उनले आफ्नो छोरा रञ्जितकुमार महतो पनि म्यानमारको फुसन एन्ड रुद्र नामको चिनियाँ कम्पनीमा काम गर्ने र मासिक १ लाखभन्दा बढी कमाउने बताए । अनलाइन सेल्स मार्केटिङमा जाने भए १ लाखसम्म कमाइ हुने राजनारायणले बताए । त्यसपछि छोरा रञ्जितकुमारसँग सम्पर्क गराए ।
ह्वाट्स एपमा कुराकानी हुँदा रञ्जितले कम्प्युटर टाइप आएमा म्यानमार १ लाख कमाइ हुने बताए । आफूले पनि राम्रो काम कमाइ गरिरहेको बताएका थिए । उनले नै सबै प्रोसेसिङ गरिदिने बताए । मेरो पासपोर्टको फोटोसमेत मागे । त्यसको १०-१२ दिनपछि सबै कागजात मिलिसकेको र अब आउनका लागि मेरा बुवा राजनारायणसँग कुरा गर्न भने ।
जान १ लाख ५० हजार लाग्ने भएकाले ऋण खोजेर राजनारायणले एयरपोर्ट नजिकै सञ्चालन गरेको गेस्ट हाउसमा गएर नगदै रकम दिएको थिएँ । भिसा आयो भने । मैले हेर्न खोज्दा राजनारायणले अहिले मिल्दैन, जाने बेलामा एयरपोर्टमा दिन्छु भने ।
२१ मंसिर २०८१ मा मलाई काठमाडौंबाट हवाई मार्गबाट नयाँदिल्ली पुर्याइयो । त्यहाँ केही दिन बसेपछि म्यानमारको याङगोन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइयो । एयरपोर्टमा रिसिभ गर्न नाम थाहा नभएका म्यानमारका २ मानिस आए ।
त्यसपछि कहिले गाडीमा त कहिले मोटरबोटमा राखी म्यानमारको मेवाडी भन्ने ठाउँमा पुर्याइयो । त्यहाँ फुसन एन्ड रुद्र नामको कम्पनीमा लगियो । त्यहाँ रञ्जितकुमारसँग भेट भयो । उनले कम्पनीको नीति, नियम र तलबसम्बन्धी कागजात हो भन्दै सही छाप गर्न लगाए ।
त्यसपछि अबदेखि तिमीहरूको काम अमेरिकनहरूसँग कुराकानी गर्ने र उनीहरूलाई बिटक्वाइन्मा लगानी गर्न प्रेरित गर्ने हो, जति धेरैलाई पैसा जम्मा गर्न लगाउन सक्छौ त्यति नै तिमीहरूलाई फाइदा हुन्छ भनियो । तलबका साथै कमिसन पनि आउने भनियो ।
त्यहाँ भएका पूराना नेपालीहरूसँग बुझ्दा त अनलाइन स्क्यामिङमा लगाएको थाहा पाएँ । अनलाइन ठगीको काम थाहा पाएपछि मैले यस्तो गर्दिनँ, नेपाल फिर्ता जान्छु भनें । त्यसपछि चिनियाँहरूले कुटपिट गर्दै तिमीहरूले हामीले लगाएको काम गर्ने हो भने ।
तिमीहरूलाई यहाँ ल्याउने नेपाली एजेन्टमार्फत हामीले खर्च गरेका छौं भन्दै चिनियाँले कुटपिट गरे । विकल्प नदेखेपछि काम गर्न बाध्य भएँ । त्यसपछि सामाजिक सञ्जालमा च्याट गर्दा के बोल्ने, के नाबोल्ने, कस्तो रिप्लाई गर्ने, अमेरिकन पुरुषलाई कसरी ट्र्यापमा पार्ने जस्ता कुराहरूबारे तालिम दिइयो ।
एउटा कम्युटर दिई डेटिङ एपजस्ता एपहरू डाउनलोड गराएर धनाढ्य व्यक्ति, व्यवसायी र अमेरिकन व्यक्तिहरूलाई ट्र्यापमा पारेर बिटक्वाइनमा लगानी गर्न सिकाइयो । चिनियाँले हामीले लगाएको काम बाहेक अरू केही नगर्नु, आफ्नो वास्तविक नाम, ठेगाना कहिल्यै नभन्नु र एक दिनमा कम्तीमा ५ अमेरिकनको ह्वाट्स एपमा सम्पर्क गरी ट्र्यापमा पार्न टार्गेट तोकियो ।
यो काम गर्न नसक्दा खाना खानै नदिने, कुटपिट गर्ने, फ्रग जम्प गर्न लगाउने, करेन्ट लगाउने, पानीको जार बोकाएर पाँच तलामा तल-माथि गर्न लगाई चरम मानसिक र शारीरिक यातना दिइयो ।
त्यसपछि रञ्जित र उनका बाबुलाई सम्पर्क गरी नेपाल फर्काउन भने । तर उनीहरूले बेवास्ता गरे । चाइनिज सञ्चालकलाई भन्दा ७ हजार डलर तिरेपछि मात्रै जान पाउँछस् भने । तर उनीहरूले भनेअनुसारको पैसा तिर्न मैले सकिनँ । अनि बाध्य भएर काम गरेँ ।
एक दिन त्यो कम्पनीमा सेनाले छापा मार्यो । कम्पनी सञ्चालकहरू भागे । सेनाले नै उद्धार गरेपछि २४ मंसिरमा म नेपाल फर्किन सफल भएँ ।