गाजामा योजनाबद्ध भोकमरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गत महिना इजरायली सरकारले गाजामा अनिकाल नभएको दाबी गर्दै सामाजिक सञ्जालमा भुक्तानी अभियान सुरु गर्‍यो । यसले फलफूल र तरकारीले भरिएका रेस्टुरेन्ट र बजारमा खाना देखाउँदै भिडियो सार्वजनिक गर्‍यो । ‘गाजामा अनिकाल छैन । बाँकी दाबी झुट हो,’ भिडियोमा भनिएको छ । यो सत्य हो कि आज तपाईंले दक्षिणी गाजामा बजार र पसलका तख्ता भरिपूर्ण देख्न सक्नुहुन्छ । तपाईं काँक्रो र गोलभेडाका क्रेटहरू, पिठोका बोराहरू, अन्डाका कार्टुनहरू र तेलका बोतलहरू देख्न सक्नुहुन्छ । त्यहाँ क्याफे र रेस्टुरेन्टहरू पनि छन्, जहाँ पिज्जा, पेयपदार्थ र बजारले प्रदान गर्ने जुनसुकै चिजबाट बनाइएका डेजर्टस छन् ।

सामान्य जीवनका अंश जोगाउने प्रयासजस्तै टाढाबाट हेर्दा यी ठाउँ लगभग सामान्य देखिन्छन् । तर, वास्तविकतामा यी ठाउँ पहुँचभन्दा टाढा छन् । तिनीहरूको मूल्य अत्यन्त उच्च छ । किन्न सक्नेहरूले पनि अर्को अवरोधको सामना गर्छन्, नगद संकट । बैंक खातामा अझै केही पैसा भएका केही मानिसले नगद निकाल्न ५० प्रतिशत कमिसन तिर्नुपर्छ । बैंक नोटहरू प्रायः यति जीर्ण हुन्छन् कि पसलहरू र क्याफेहरूले तिनीहरूलाई अस्वीकार गर्छन् । तसर्थ, एउटा सानो, विशेषाधिकार प्राप्त अल्पसंख्यकले मात्र क्याफे टेबलमा बसेर नौ डलरमा कफी पिउन वा १८ डलर तिरेर एउटा सानो पिज्जाको टुक्रा खान सक्छ ।

बजारमा पनि यस्तै अवस्था छ । भरिएका ठाउँ भएर हिँड्ने धेरैजसो मानिसले गोलभेडाको झोला वा अन्डाको ट्रे उठाउँदैनन् । तिनीहरू केवल हेर्छन्, कहिलेकाहीँ मौनतामा रोक्किरहन्छन्, कहिलेकाहीँ खोक्रो आँखाले छिटो अगाडि बढ्छन् । अधिकांशका लागि यी सामान देखिने तर छुनै नसकिने छन् । यो गाजामा भोकमरीको विरोधाभास हो, खाना केही ठाउँमा उपलब्ध छ, तर यो पहुँचबाहिर छ ।

गाजाले भोगेको संकटलाई ‘अनिकाल’ भन्नुहुँदैन किनकि खडेरी, आर्थिक असफलता वा प्राकृतिक प्रकोपको कारणले हुने  खाद्यान्न अभाव मात्र अनिकाल हो । यो योजनाबद्ध तरिकाले गराइएको भोकमरी हो ।

मलाई अझै पनि याद छ कि अगस्टको सुरुतिर चिज र चिनी महिनौँसम्म नदेखिएपछि कसरी बजारमा फेरि देखिए । सहायताको सट्टा हालै इजरायलले गाजामा व्यावसायिक ट्रकहरू छोड्न थालेको थियो । ती सामग्री देख्दा ममा आएको अचानक खुसीको लहरलाई म यहाँ शब्दमा वर्णन गर्न सक्दिनँ । मैले धेरै लामो समयदेखि चिज देखेको थिइनँ, यसको आकार पनि मलाई अनौठो लाग्यो । केही क्षणका लागि मैले महिनौँदेखि महसुस गर्न नसकेको कुरा महसुस गरेँ, उत्साह ।

त्यो बिहान म भोकले रिंगटा लागेर उठेको थिएँ । मैले पहिले नै तीन महिनामा १० किलोग्रामभन्दा बढी तौल गुमाइसकेको थिएँ, र मेरो शरीर प्रायः कमजोरीका कारण काँप्थ्यो । तर, ती तखतामा चिनी र चिज देखेर मेरो मुटुको एउटा कुना उज्यालो भयो । सायद, मैले सोचेको थिएँ, अब परिस्थिति परिवर्तन हुनेछ । सायद नाकाबन्दी खुकुलो हुँदै थियो । सम्भवतः हामी बाँच्न पुनः थाल्न सक्छौँ ।

तर, जब मैले मूल्य सोधेँ, मेरो मुटु सिरिङ्ग भयो । यो अर्थहीन थियो । यदि यो यति क्रूर नभएको भए यो हाँसोको विषय हुन्थ्यो । एक किलो चिनीको मूल्य ४७० थियो, जुन युद्धअघि केही परिवारले एक सातामा कमाउने आम्दानीभन्दा बढी हो । ब्रेकफास्टका लागि मुस्किलले एक परिवारलाई आवश्यक पर्ने चिजको डल्लोको मूल्य १० डलर थियो । मैले केही पनि किनिनँ । केही दिनपछि मूल्यमा गिरावट आउनेछ भन्ने आफूलाई सान्त्वना दिँदै म बाटो लागेँ । तिनीहरूले मूल्य घटाएनन् । हप्तापछि पिठो, अन्डा र तेल देखा प¥यो, तर फेरि हाम्रो भोकको मजाक उडाउने दरमा बिक्री गरियो । एक परिवारको दैनिक आवश्यकता पनि पूरा नगर्ने एक किलो पिठोको मूल्य ४५ डलर थियो । उक्त मूल्य कुनै वेला २६ डलरमा झरेको थियो । एउटा सानो अन्डाको मूल्य पाँच डलर हुन सक्छ ।

व्यावसायिक यी सामान अचानक पुनः देखा पर्नु अनियमित होइन । तिनीहरू भोकले सताइरहेका मानिसलाई खुवाउन होइन, बरु विश्वव्यापी दबाबबिच बजारमा पर्याप्त उत्पादन देखाउन र तस्बिर खिच्नका लागि भरिएका छन् । गाजाभित्र पसेपछि, सामानहरू सुरुदेखि नै बढेको मूल्य निर्धारण गर्ने इजरायली आपूर्तिकर्ताको मध्यस्थकर्ताको शृंखलाबाट जान्छन् भने व्यापारीले सशस्त्र समूह र पछि पुनः बेच्न आपूर्ति जम्मा गर्ने सट्टेबाजलाई घुस वा ‘सुरक्षा शुल्क’ तिर्छन् । फुड सेल्फमा पुग्दा यसको मूल्य यति धेरै बढेको छ कि यो उपभोग गर्नुको सट्टा प्रदर्शनमा राख्ने विलासी वस्तु बनेको छ ।

यी क्षणमा सामानको सावधानीपूर्वक समयबद्ध ‘प्रविष्टिहरू’, आफैँमा हतियार बनेका छन् । इजरायललाई थाहा छ कि प्यालेस्टिनीको विशाल संख्या अब बेरोजगार छ र बाँच्नका लागि सहायतामा पूर्ण रूपमा निर्भर छ । इजरायलको क्रूरता केवल बम हमला वा नाकाबन्दीमा मात्र होइन, बरु यसले केही सामग्री प्रवेश गर्न दिएर हामीलाई अपमान गर्न र यातना दिनका लागि हाम्रा आवश्यकतासँग खेलाँची गर्ने तरिकामा पनि छ । गाजामा अब खानेकुरा हराएको एउटा क्रूर सम्झनाजस्तै बनेको छ । बजारमा काँक्रो देख्नु भनेको अब ताजा सलादको कल्पना गर्नु होइन, बरु किन्न नसक्दा महसुस हुने खल्लोपन हो । चिनी देख्नु भनेको साथीहरूसँग चियाको चुस्की सेयर गर्नु होइन, बरु अनुपस्थितिको तीतोपनको स्वाद लिनु हो ।

आमाहरूले आफ्नो हातमा सेकेल (मुद्रा) गन्छन्, उनीहरूलाई थाहा छ कि त्यो अपर्याप्त पैसाले उनीहरू कहिल्यै खाना किन्न धेरै टाढा जानेछैनन् । बजारका सेल्फहरू भरिएका वेला पनि आफ्नो घरमा एक छाक खाना ल्याउन नसकेकोमा लज्जित महसुस गर्दै बुबाहरूले आफ्ना बच्चाको भोको अनुहारबाट आफ्नो आँखा हटाउँछन् । यो योजनाबद्ध ह्यान्डलिङले बजारको प्रत्येक यात्रालाई अपमानको कार्यमा परिणत गर्दछ । गाजाले भोगेको कुरालाई ‘अनिकाल’ भन्नु हुँदैन । खडेरी, आर्थिक असफलता वा प्राकृतिक प्रकोपको कारणले हुने खाद्यान्न अभाव मात्र अनिकाल हो । यो योजनाबद्ध तरिकाले गराइएको भोकमरी हो, जुन इजरायली सेनाको कब्जाले गर्दा भएको हो । यो नाकाबन्दी, बमबारी र भड्काइएको अराजकतामार्फत लादिएको अभाव हो ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइएफएसपिसी) भोकमरी अनुगमनकर्ताले गाजामा अनिकालको घोषणा गर्नुभन्दा केही समयअघि इजरायलले आफ्नो प्रचार अभियान सुरु गरेको थियो । त्यतिन्जेलसम्ममा कम्तीमा ३७६ प्यालेस्टिनी (जसमध्ये लगभग आधा बालबालिका थिए)को भोकमरीबाट मृत्यु भएको थियो । त्यसवेलादेखि भोकमरीबाट मृत्यु हुनेको संख्या ४०० नाघेको छ । गाजा सहरमा आक्रमण जारी राख्दा इजरायलले उत्तरी गाजामा सहायता कटौती गर्ने योजनाको आधिकारिक रूपमा घोषणा गरेको छ । यसैबिच, संसारले इजरायली हमलाको निन्दा गर्नुबाहेक अरू केही गरेको छैन । यो तितो सत्य स्वीकार गर्नुभन्दा इजरायलीले आपूर्ति गरेको गाजा बजारका तस्बिरसँग आफूलाई सान्त्वना दिन रुचाउँछ जस्तो देखिन्छ ।