म आज परदेशको भूमिबाट तिमीलाई लेखिरहेको छु। बिहान उज्यालो देख्दा यहाँ घाम उदाउँछ, तर मेरो मनमा तिम्रो आकाश कालो छ। आज बिहानै बिउझिदा समाचारको पानामा देखिएको तिम्रो दृश्यले शक्ति चैन हरायो मन भक्कानियो सडकमा युवाको रगत पोखिएको थियो, आमाबुवाको विलापको आवाज थियो, र सपनाहरू च्यातिएको थुप्रोमा फ्यालिएको थियो। मलाई लाग्यो, यो देश त केवल भौतिक घडीमा मात्र होइन, आत्मामा पनि अन्धकारमा डुबेको छ।
आमाबुवाले छोराछोरीलाई स–साना हात समाउँदै हुर्काउँछन्। बिहान सबेरै उठेर भात पकाउँछन्, पसिनाले ओतप्रोत हातले किताब हातमा राखिदिन्छन्, अनि भोलि ठूलो मान्छे बन्छस्, देशलाई केही दिन्छस् भन्ने सपना बोकेर सुत्छन्। बुबाको पसिनाको प्रत्येक थोपा, आमाको ममताको प्रत्येक धड्कन सन्तानकै भविष्यमा गाडिएको हुन्छ। तर आज, त्यही भविष्यलाई गोलीले भेदेको छ। आमा–बुवाले सन्तानलाई बन्दुकको नालमा चढाउनका लागि त हुर्काएका थिएनन्। उनीहरूले रगतको नालीमा सपना बगाउनका लागि सुताएका थिएनन्। यो केवल हत्या मात्र होइन, आमाबुवाको सम्पूर्ण जीवनभरको संघर्ष र त्यागको अपमान हो।
सडकमा ढलेका ती युवाहरू केवल शरीर थिएनन्, उनीहरू आशा थिए, सपना थिए, भविष्य थिए। कसैको इच्छा थियो आमा–बुबाको बुढ्यौली सहज बनाउने, कसैको सपना थियो देशकै लागि बलियो हात बन्ने, कसैको मनमा त उज्यालो नेपाल निर्माण गर्ने आकांक्षा थियो। तर तिमीहरूले ती सबै सपना च्यात्यौ, अनि इतिहासका पानामा अर्को लज्जाको दाग थप्यौ।
शासक वर्गलाई म भन्न चाहन्छु—आमाबुवाको आँसु पानी होइन, यो श्राप हो; युवाको रगत रंग होइन, यो राष्ट्रको धड्कन हो। जब रगत बग्छ, देशको मुटु रोकिन्छ। जब आँसु बग्छ, इतिहास रोइरहन्छ। तिमीहरूले सोच्यौ होला कि गोलीले विद्रोह दबाउँछ, तर तिमीहरूले बुझेनौ कि गोलीले शरीरलाई थाम्न सक्छ, तर विचारलाई कहिल्यै रोक्न सक्दैन। विचार नदी हो, जसलाई रोक्ने प्रयास गर्दा त्यो बाढी बनेर सबैकुरा
म परदेशमा छु, तर मेरो आत्मा अझै नेपालकै सडकमा अल्झिएको छ। म यहाँको भीडभाडमा हराउँछु, तर कानमा अझै आमा–बुवाको चिच्याइ सुन्छु। आँखा बन्द गर्दा देख्छु—सडकमा छोराछोरीको रगताम्य अनुहार। र आत्मा भन्छ, देश केवल भौगोलिक नक्सा होइन, यो त युवाको साहस, आमा–बुवाको आँसु र भविष्यको सपना हो।
तर, युवाहरू—आजको बलिदानलाई भोलिको जागरण बनाउनु हाम्रो कर्तव्य हो। आँसु र रगतमा डुबेर बस्नु मात्र होइन, सचेत भएर उठ्नु आवश्यक छ। अब आउँदो चुनावलाई खेलौना होइन, भविष्यको युद्ध ठान। नेताको अनुहार हेरेर होइन, उसको चरित्र, कार्यशैली र ईमानदारी नापेर मत देऊ। तिमीले दिएको मत मात्र होइन, तिम्रो सोच, तिम्रो चेतना नै परिवर्तनको पहिलो ईँटा हो।
आज सडकमा बगेको रगत व्यर्थ नहोस् भने, हरेक युवाले कसम खानुपर्छ—अब कसलाई शक्ति दिनु, कसलाई पर्खाल बनाउनु, कसलाई बाहिर राख्नु भन्ने निर्णय आँखाले होइन, विवेकले गर्नेछौँ। परिवर्तन केवल नारा होइन, जिम्मेवारी हो। यदि हामीले आफ्नो अधिकारको सही सदुपयोग गर्न सकेनौँ भने, फेरि इतिहास दोहोरिनेछ।
नेपाल, अझै समय छ। गोली होइन, विश्वास बाँड। दमन होइन, आशा देऊ। रगत होइन, सपना उमार। नत्र, इतिहासले तिमीहरूलाई त्यही कठोर शब्दमा लेख्नेछ—तिमीहरू असक्षम थियौ, तर युवाको बलिदान र आमा–बुवाको आँसु सदैव सक्षम रह्यो।
सधैं मातृभूमिको पीडामा तर भविष्यको विद्रोहमा बाँचिरहेको,
एक परदेशी सन्तान।
राजेश भट्ट
एक सचेत नागरिक
हाल बेलायत (UK)