इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि भने यहाँ प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेकाहरुका आफन्त र अन्य शान्तिप्रेमी नागरिकको उपस्थिति बढी हुन्छ । उनीहरुले बन्धकको रिहाइका लागि दबाबमूलक कार्यक्रम, विरोध र प्रदर्शन गर्छन् ।अहिले यो चोकको नाम ‘किकार खतुफिम’ (होस्टेजेज स्क्वायर) राखिएको छ । हिब्रुमा जसको अर्थ हुन्छ, बन्धक चोक तथा बन्दी आँगन । यहाँ हजारौँ मानिसको जनसागर उम्लिरहेको छ । यो केवल एउटा भिड होइन, पीडा, आशा र न्यायका लागि गुन्जिरहेको एक सामूहिक चीत्कार समेत हो । गाजामा बन्धक बनाइएका आफ्ना प्रियजनको मुक्तिका लागि ‘होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरम’ले ‘हामी अब फर्किन नसक्ने बिन्दुमा छौँ, हाम्रा प्रियजनहरूसँग धेरै समय छैन’ भन्ने उद्घोषका साथ प्रदर्शन गरिरहेको छ । इजरायलको राजनीतिक क्षितिजमा अनिश्चितताको बादल मडारिरहँदा र आईडीएफ (इजरायल डिफेन्स फोर्सेज) ले गाजा सहरमा पूर्ण सैन्य कारबाहीका लागि योजना स्वीकृत गरिरहँदा, सर्वप्रथम बन्धक फिर्ता गर भन्ने आग्रहको आवाज अझ चर्को बनेको छ ।
बन्धक परिवार र ‘अक्टोबर काउन्सिल’जस्ता नागरिक समूहले इजरायलमा निकै ठुलो दबाबमूलक प्रदर्शन सुरु गरेका छन् । कार्यालय, सडक र व्यापारिक गतिविधि ठप्प गरिएका छन् ।
बन्धक रिहाइका लागि गरिएका र्याली र प्रदर्शनीमा दुई आँखाबाट बगिरहेका अश्रुधाराले सारा भिडको ध्यान खिचेको छ । ती आँसु एक आमा र एक बहिनीका हुन्, जो दुई वर्षदेखि हराइरहेका आफ्ना छोरा र दाजु विपिन जोशीको खोजी गर्दै यसै हप्ता इजरायल आएका थिए ।
इजरायलमा प्रदर्शन हुँदै गर्दा आइतबार अपराह्न इस्लामिक विद्रोही समूह हुथीद्वारा क्षेप्यास्त्र प्रहार भयो । जेरुसलेम र तेल अभिभका जनताहरू फेरि एकपटक बङ्करमा लुक्न बाध्य भए । रकेटको त्रासकै बिचमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा इजरायल आएका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई इजरायलस्थित नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग तथा इजरायली संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गराए ।
प्यारो दादा ! आई मिस यु । मैले तेरो न्यानो अँगालो, तेरो आवाज— सबै सबैलाई धेरै मिस गरेकी छु । दादा ! म तँलाई धेरै–धेरै माया गर्छु ।’
उनीहरूको एउटै पुकार थियो— २४ वर्षीय नेपाली नागरिक विपिन जोशीको जीवन रक्षा । हमासद्वारा अपहरण गरिएका विपिन अन्तिमपटक प्यालेस्टाइन अधीनस्थ गाजाको सिफा अस्पतालमा देखिएका थिए । त्यसपछि उनको अत्तोपत्तो छैन । विगत तीन महिनाअघि उनको जीवनको खास सङ्केत नभेटिएको जनाउँदै इजरायली सञ्चारमाध्यमले चिन्ता व्यक्त गरेका थिए ।
कृषिसम्बन्धी इन्टर्नसिपका लागि विपिन इजरायल आएका थिए, आएको एक महिना नबित्दै इजरायलको दक्षिणी क्षेत्र किबुज आलुमिमबाट हमासको अपहरणमा परेका थिए ।
यसअघि युद्धरत पक्षलाई दबाब दिनका लागि किकार खतुफिममा साँझ भेला भएका हजारौँ शान्तिप्रेमी मानिसका अगाडि गहभरि आँसु टिलपिलाउँदै १७ वर्षकी सानी बहिनीले आफ्ना भावना यसरी पोखेकी थिइन् :
‘नमस्ते, शलोम !
मेरो नाम पुष्पा हो । म विपिन जोशीकी बहिनी हुँ, जसलाई अक्टोबर ७ तारिख किबुज अलुमिमबाट अपहरण गरिएको थियो । हमासको बन्धकमा परेका मेरो दाजु एक विद्यार्थी हो, ऊ कसैको पक्षमा पनि थिएन ।
उसलाई खोज्दै यति परसम्म आइपुग्ने साहस र सामर्थ्य जुटाउन हामीलाई २२ महिना लाग्यो । भाषा, भूगोल र सांस्कृतिक भिन्नताहरू थिए र डर, त्रास, बाध्यताले घेरिएका थियौँ । यी दिन हामीले नेपालमै बसेर हरेक दिन प्रार्थना गर्यौँ तर प्रार्थना मात्रै पर्याप्त भइदिएनन् ।
बन्दी अवस्थामै रहेका रोम र एभटारका हृदयविदारक भिडियोहरू हामीले देख्यौँ । बन्धकका ती तस्बिरले बुबा र आमालाई असाध्य विक्षिप्त बनायो । उहाँहरूले छोरालाई धेरै सम्झनुभयो । मैले मेरो दाजुलाई धेरै मिस गरेँ । दादा मेरो आत्मा हो, साथी हो, खुसी र प्रेरणा सबै थोक हो ।
उसको सपना थियो, इजरायलमा कृषि अध्ययन गरेर देश फर्की केराखेती गर्ने । फलफूल, कृषिजन्य हरियालीमा रमाउने । हाँस्न, खेल्न र गीत गाउन रमाउने मेरो दाजु असाध्यै रमाइलो र सबैको प्यारो थियो ।
अपहरणमा परेको आज करिब दुई वर्ष हुन लागिसकेको छ, उसको जीवनको कुनै सङ्केत भेटिएको छैन । भोकभोकै पो छ कि ? सुरक्षित र सकुशल अवस्थामा छ कि छैन ? यी ६८० दिनसम्म ऊ कसरी नारकीय अन्धकार र अज्ञात सुरुङमा बाँचिरहेको होला ?
प्लिज, उसलाई घर फर्काइदेऊ ।
हामी अमेरिकी सरकार र राष्ट्रपति समक्ष सम्पूर्ण बन्धकहरू एकैसाथ छुटाउन पहल गरिदिन आग्रह गर्दछौँ । हामी नेपाल सरकार र इजरायली सरकारलाई यो प्रयासमा सामेल हुन आग्रह गर्छौं । मेरो दाजु विपिन जोशीको रिहाइका लागि लडिरहनुभएका तपाईंहरू सम्पूर्णलाई हार्दिक धन्यवाद ।
कृपया सबै बन्धकहरू सुरक्षित घर नफर्कुन्जेलसम्म कुनै अवरोध नपुर्याइदिनुहोला । विगत एक महिनादेखि हामीलाई इजरायलमा ल्याइपुर्याउन र विश्वसामु आफ्ना कुराहरू राख्न अनवरत लागिपर्नुभएका नेपाली दूतावास, इजरायलप्रति हामी आभारी छौँ ।
अन्त्यमा, म मेरो दादालाई दुई शब्द मेरै भाषामा :
प्यारो दादा ! आई मिस यु । मैले तेरो न्यानो अँगालो, तेरो आवाज— सबै सबैलाई धेरै मिस गरेकी छु । दादा ! म तँलाई धेरै–धेरै माया गर्छु ।’
हमासको अपहरणमा परेका विपिन जोशीकी बहिनी पुष्पाले यति भनिरहँदा भक्कानिएर उनका गला अवरुद्ध बने रज्ञ आँसु टिलपिलाएर खसे । छोरा विपिन जोशीको प्लेकार्ड लिएर छेउमै उभिएकी आमा पद्मा जोशीले छोरीको गालामा खसेका आँसु पुछिदिइन् । होस्टेज स्क्वायर पूरै चित्कारमा गुन्जियो, ‘हाम्रो विपिनलाई घर फर्काइदेऊ ।’
यो असाध्य भावुक र हृदयविदारक क्षण थियो । इजरायलका लोकप्रिय कलाकार साही हालेभीले पुष्पाको काँधमा हात राख्दै भने, ‘नानी, नरोऊ, हामी सबै तिम्रो साथमा छौँ ।’
बन्धक परिवारसँग लोकप्रिय अभियन्ता
कलाकार, गायक र निर्देशक शाही हालेभीले धेरै चलचित्रहरू इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई केन्द्रमा राखेर प्रस्तुत गरेका छन् । इजरायली सेना, गुप्तचर संस्था मोसाद तथा प्यालेस्टिनी बम विस्फोटकका विषयमा अत्यन्त गम्भीर र सन्तुलित भूमिकामा प्रस्तुत हुने हालेभी पर्दाका मात्र होइनन्, वास्तविक जीवनका नायक हुन् ।
‘बेथलेहम’, ‘इन्जिनियर’, ‘टेरर’ जस्ता सिनेमामा आतङ्कवादकै विषय उठाइएको छ । सैनिक सेवाकालमा उनले इजरायली रक्षा बल (आईडीएफ) का ‘सामसन’ र ‘दुवदेभान’ नामका विशेष अन्डरकभर युनिटमा सेवा गरेका थिए । उनी यहुदी हुन् भने उनकी पत्नी लुसी आहरिस मुस्लिम धर्मावलम्बी हुन् । उनी आफैँमा धर्म र राजनीतिभन्दा पर मानवताको पक्षमा वकालत गर्ने युद्धविरोधी सामाजिक अभियन्ता हुन् ।
उनीहरूले युद्ध रोक्न र बन्धकहरूको जीवनरक्षाका लागि इजरायली सरकार र प्यालेस्टाइनको हमास दुवैलाई आग्रह र दबाब दिँदै आएका छन् ।
यस प्रदर्शनमा विपिन जोशीको परिवार मात्र होइन, धेरै बन्धकका परिवार थिए जसका प्रियजनहरू बन्धक अवस्थामा मारिएका थिए । यस्तैमा, दाना सिल्भरम्यान–सिटोनले पनि भिडलाई सम्बोधन गरेकी थिइन् ।
उनले भनिन्, ‘म एउटा यस्तो परिवारको तर्फबाट उभिएकी छु, जो अब यो संसारमा छैन— मेरा आमाबाबु, मेरी बहिनी, उनका साना–साना नानीहरू, मैले सबै गुमाएँ । उनीहरू सबै बन्दी अवस्थामै मारिए, उनीहरूसँग बोल्ने आवाज छैन, त्यसैले म उनीहरूका लागि बोल्छु ।’ उनको आवाजमा एउटा गहिरो प्रश्न थियो, पीडा थियो— परिवारहरूलाई आफ्ना प्रियजनहरू जीवित फर्कन्छन् वा मृत भन्ने थाहा हुँदैन भने त्यो अवस्था कति पीडादायी हुन्छ ?
अक्टोबर ७ को हमास नरसंहारमा आफ्ना आमाबुबा गुमाएकी र ९९ दिन बन्धक बनेपछि हत्या गरिएका भाइ इतायकी बहिनी मेराभ स्भिरस्कीले पनि बन्धक मुक्ति पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिइन् ।
यो विरोधको लहर तेल अभिभको होस्टेज स्क्वायरमा मात्र सीमित भएन, उनीहरूले सरकारलाई दबाब दिन इजरायली गठबन्धनका सांसदहरूको घरबाहिर समेत जुलुस निकाले । बन्धकहरूको अपहरण अघिका तस्बिरहरू र हमासले जारी गरेका हृदयविदारक भिडियोहरू प्रदर्शन गरे र देशव्यापी दबाब सिर्जना गरे ।
‘ह्वाइट कोट्स मार्च’मा डाक्टरहरू र चिकित्साकर्मीको एक जुलुस निस्कियो, यसै गरी साँझपख ‘इजरायल हंक्स’ नामक राष्ट्रव्यापी कार हर्न साइरन अभियानले बन्धकसँग ऐक्यबद्धता जनायो । साँझपख देशका विभिन्न भागबाट आएका गाडीको समूह तेल अभिभको साभिडोर रेल स्टेसनमा भेला भई होस्टेज स्क्वायरतर्फ जुलुसमा सहभागी भए, जहाँ बन्धक परिवारहरू, पूर्वबन्धकहरू र मृतक र शोकाकुल आफन्तहरूले बन्धक रिहाइका लागि दबाबमूलक विरोध गरे ।
जेरुसलेममा इजरायली अधिकारीहरू विभाजित छन्— राष्ट्रिय सुरक्षा सल्लाहकार साची हानेग्बीले युद्धविराम वार्ता पुनः सुरु गर्नुपर्ने कुराको समर्थन गर्छन् भने मोसाद प्रमुख डेभिड बर्नेआ र रणनीतिक मामिला मन्त्री रोन डर्मरले यसको विरोध गर्दै व्यापक सम्झौता मात्र स्वीकार्य हुने अडान राखेका छन् ।
यो असाध्यै भावुक र हृदयविदारक क्षण थियो । इजरायलका लोकप्रिय कलाकार साही हालेभीले पुष्पाको काँधमा हात राख्दै भने, ‘नानी, नरोऊ, हामी सबै तिम्रो साथमा छौँ ।’
विपिनलाई किन बन्धक बनाइरहेको होला ?
बन्धक विपिनको रिहाइको सपना अझै अनिश्चय र अन्योलमा छ । न इजरायल, न हमास, कसैको पक्षमा पनि नभएका निर्दोष नेपाली विपिन जोशी कहाँ कुन अवस्थामा छन् भन्ने कुनै पत्तौ छैन ।
सबै निकायले आ–आफ्ना माध्यमबाट पहल गरिरहेका छन् । इजरायलबाट मात्र प्रयास गर्दा प्रत्युत्पादक होला भनेर हमाससँग नजिक भएका देशहरू कतार, जोर्डन तथा इजिप्टबाट समेत नेपालले अनेक कूटनीतिक पहल, अनुनय, अनुरोध गरिरहेको समाचार बेला–बेला आइरहेका छन् ।
मेटा, विक्स, माइक्रोसफ्ट लगायत ठुला आईटी कम्पनीहरू र ठुला शिक्षण संस्थाहरूले पनि आफ्ना कर्मचारी र विद्यार्थीलाई बन्धक रिहाइका लागि सक्दो दबाब दिन र प्रदर्शनमा भाग लिन प्रोत्साहित गरे । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पनि होस्टेज स्क्वायरको भ्रमण गरेर ऐक्यबद्धता जनाए अनि भने, ‘हामीले तपाईंलाई एक क्षण पनि बिर्सेका छैनौँ ।’
हमासले त कसैको र कुनै पनि किसिमको आवाज सुन्दैन । कुनै आमा र बहिनीको आँसुहरू नै देख्दैन र बुझ्दैन । होला, हमासको अर्को पक्षसँग आफ्नै अडान र आफ्नै खाले राजनीति, आफ्नै दुस्मनी तर कुनै सरोकार नै नभएका निर्दोष विपिन जोशीलाई यतिका समयसम्म किन र केका लागि राखेको ? यी प्रश्नले जोकसैको मन दुख्छ, छियाछिया हुन्छ । इजरायलको अस्तित्व अस्वीकार गर्ने त्यो तत्त्वबाट विवेकपूर्ण राजनीतिक चरित्र र जिम्मेवार शासकको अपेक्षा गर्नु व्यर्थ छ । जिम्मेवार शासक भएको भए त्यतिका प्यालेस्टिनी जनता मारिइसक्दा उहिल्यै बन्धक रिहा र युद्धविराम गर्नुपर्ने होइन र ?
यी सबैका बिचमा पद्मा जोशीका आँखाबाट बगिरहेका आँसु केवल एक आमाको पीडा मात्र होइनन्, ती सयौँ परिवारको प्रतिनिधित्व गर्छन्, जसका प्रियजनहरू अनिश्चितताको अँध्यारो खाडलमा छन् । यो केवल विपिन जोशीका लागि खसेका आँसुहरू मात्र होइनन्; यो स्वतन्त्रता, न्याय र शान्तिका लागि छटपटाइरहेको एक राष्ट्रको सामूहिक वेदना हो । जबसम्म हरेक बन्धक घर फर्किंदैन, जबसम्म हरेक आँखाबाट आँसु पुछिँदैन, तबसम्म यो पुकार गुन्जिरहनेछ, यो आन्दोलन जारी रहनेछ ।
बहिनी र आमाका आँखाहरू रुँदारुँदा थाकिसकेका छन् । सिङ्गो देश र समस्त कूटनीतिक नियोगका प्रयासहरू अर्थहीनजस्ता भएका छन् ।
यतिका अनुरोध, दबाब, विरोध र प्रदर्शनका बाबजुद हमासले किन कसैको पनि अनुरोध मानिरहेको छैन ? उसले किन सरोकार नै नभएको देशको नागरिकलाई अपहरण गरेर अझै बन्धक बनाएर राखेको छ ?
हामीसँग केवल प्रार्थनाहरू छन्, आग्रह र अनुनयका आवाजहरू छन् र छन् केवल प्रतीक्षाका आँसुहरू तर विपिन जोशीलाई हमासले कहिले, कति बिन्ती र अनुरोध गरेपछि वा कति प्रयासपछि र कति आँसु बगेपछि मुक्त गरिदिनेछ ? यो प्रश्नको उत्तर हामी कसैसँग छैन ।