हामी धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार जुली कुमारी महतोसँग कुराकानी गर्दैछौँ। प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईँ पटक–पटक निर्वाचन लड्नुभयो, विजय पनि प्राप्त गर्नुभयो, मन्त्री पनि बनिसक्नुभयो। यसपटक फेरि किन चुनावी मैदानमा हुनुहुन्छ ?
यस्तो हुँदोरहेछ, आफूले प्रतिनिधित्व गरिसकेपछि क्षेत्र र क्षेत्रवासीको असाध्यै माया लाग्दो रहेछ। जनताकै माया र सदभावले म फेरि चुनाव लडेकी हुँ। मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि चुनाव लडेको होइन। मेरो क्षेत्रका दिदीबहिनी, युवा र बुवाआमाले मलाई जुन स्नेह दिनुभएको छ, त्यसप्रति म प्रतिबद्ध छु। उहाँहरूलाई छोडेर म अन्त जान सक्दिनँ। यदि म आइनँ भने उहाँहरूको भावना र आवश्यकता पूरा हुँदैन भन्ने लागेर चुनाव लड्नु मेरो बाध्यता जस्तै बनेको छ।
यसअघि २०७० र २०७९ का एजेन्डा र अहिलेका एजेन्डामा केही परिवर्तन भएका छन् ?
धेरै परिवर्तन भएको छ र धेरै काम गर्न अझै बाँकी छ। म २०६४ सालमा समानुपातिक सांसद हुँदा कर्णाली पछाडि परेको सुन्थेँ। तर, २०७० मा म चुनाव लड्न यहाँ आउँदा यो क्षेत्र कर्णालीभन्दा पनि पछाडि परेको महसुस गरेँ । त्यतिबेला यहाँ कालोपत्रे र ढलानका सडक थिएनन्, गाडी लिएर गाउँ पस्न गाह्रो थियो। त्यसैले चुनाव जिते पनि हारे पनि यहाँको पूर्वाधार र शिक्षाको विकास गर्छु भन्ने मेरो मुख्य एजेन्डा थियो।
म २०७० मा प्राविधिक कारणले थोरै मतले हारेँ। त्यसपछि जित्नेहरू मन्त्री पनि भए तर उहाँहरू काठमाडौँ र जनकपुरमै मात्र बस्ने, गाउँ नजाने प्रवृत्ति देखियो। पछि म २०७४ मा सांसद र छोटो समयका लागि मन्त्री हुँदा धेरै महत्त्वपूर्ण काम गरेँ।
ती महत्त्वपूर्ण कामहरू के–के हुन् ?
मैले मन्त्री हुँदा देशभरका सबै जातजातिका बालबालिकालाई ५ वर्षसम्म पोषण भत्ता दिने व्यवस्था गरेँ। अपाङ्गतामैत्री कार्यालयहरू बनाउने, आवासीय सेवा दिने, दुर्गममा सुत्केरीको हवाई उद्धार गरी घर फर्किने बेला २० हजार बाटो खर्च दिने व्यवस्था मिलाएँ। मेरै पहलमा मधेस प्रदेशमै नभएको बालबालिका खोजतलास केन्द्र जनकपुरमा स्थापना भयो।
मेरो क्षेत्रका ३८ वटै वडामा स्कुल, सडक, खानेपानी, धर्मशाला निर्माण र पोखरी सौन्दर्यकरणका कामहरू भएका छन्। सहिद दुर्गानन्द झाको नाममा धर्मशाला बनाउनेदेखि जनकपुरमा रिङरोड निर्माणको शिलान्याससम्मका काम मेरै पहलमा भएका हुन्। जलाद नदीमा पुलको अभावमा बाँसको फड्के तर्नुपर्ने बाध्यता हटाउन ३३ करोड बजेट व्यवस्थापन गरेकी छु। जनकपुरलाई विश्वभरका हिन्दुहरूको ‘विवाह गन्तव्य’ बनाउने नीति तथा कार्यक्रम ल्याएकी छु। यी सबै माता जानकीको आशीर्वादले सम्भव भएको हो।
विकासको कुरा गरिरहँदा यहाँ बेरोजगारीको समस्या त उस्तै छ नि ?
हो, पढेलेखेका युवाहरू बेरोजगार भएर कतार, अरब जानुपर्ने बाध्यता मेरो क्षेत्रको सबैभन्दा ठुलो समस्या हो। यसका लागि बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने र बेलाकुटी क्षेत्रमा नयाँ औद्योगिक करिडोर स्थापना गर्ने मेरो मुख्य एजेन्डा हो । सुनकोसी मरिन डाइभर्सनलाई कमला नदीमा ल्याएर धनुषाको सिँचाइ समस्या समाधान गर्ने र गर्मीयाममा सुक्ने चापाकलको विकल्पमा ओभरहेड पानी ट्याङ्की निर्माण गर्ने मेरा प्राथमिकता हुन्। अघिल्लो ५ वर्षमा गर्न नसकेका यी अधुरा कामहरू अब पूरा गर्ने मेरो अठोट छ।
तर तपाईँको पार्टी र सरकारको नेतृत्वमाथि युवाहरूको जेन्जी आन्दोलनको प्रभाव यहाँ पनि देखिन्छ नि ?
युवाहरूले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन, भ्रष्टाचार अन्त्य हुनुपर्छ र सुशासन कायम हुनुपर्छ भनेर राखेको माग जायज छ। हाम्रो समर्थन पनि छ। तर, आन्दोलनका क्रममा जुन घटना घट्यो र युवाहरूले ज्यान गुमाए, त्यसको जिम्मेवारी कोही लिन तयार छैन। सरकारले गठन गरेको छानबिन आयोगले ६ महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन। आयोगले दुधको दुध, पानीको पानी छुट्टिने गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। घुसपैठ भएको हो वा राज्यको कमजोरी हो, निर्दोष फस्नु भएन र दोषी उम्कनु भएन।
तपाईँ एमाले अध्यक्ष केपी ओलीसँग निकट हुनुहुन्छ। उहाँकै अभिव्यक्ति र नेता महेश बस्नेतको अभिव्यक्तिका कारण अहिले तपाईँलाई मधेसमा अप्ठ्यारो परेको छ भनिन्छ नि ?
कुनै पनि कुरालाई बुझ्ने दुईवटा पाटा हुन्छन्। अध्यक्षज्यूले मधेसको भावनामा ठेस पुग्ने गरी बोल्न खोज्नुभएको होइन, त्यहाँ विकास भएन भनेर उदाहरण मात्र दिनुभएको हो । तर, उहाँको भनाइले धनुषा र महोत्तरीवासीको मन दुखेको छ भने सच्याउनुपर्छ भनेर मैले उहाँसँग कुरा राखेकी छु।
जहाँसम्म महेश बस्नेतजीको कुरा छ, उहाँलाई भाषाको ज्ञान भएन। उहाँले गल्ती गरेकै हो र उहाँले मधेसका जनतासँग क्षमा माग्नुपर्छ भनेर हामीले बाध्य पार्यौँ। उहाँले माफी पनि मागिसक्नुभएको छ। उहाँको त्यो अभिव्यक्ति उहाँको व्यक्तिगत विचार हो, एमाले पार्टीको विचार होइन।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै मधेसमा पनि घण्टी बजाइरहेको छ। यसले तपाईँलाई कत्तिको त्रास बढाएको छ ?
मलाई कुनै त्रास छैन। जनताले जसलाई बहुमत दिन्छन्, उही प्रधानमन्त्री बन्ने हो। तर, अहिले कतिपय उम्मेदवारहरू आफ्नो नाम र एजेन्डा नभन्ने, अर्को ठाउँका नेताको नाम बेचेर र चुनाव चिह्न मात्र देखाएर जित्न खोजिरहेका छन् । जनताले यो कुरा राम्ररी बुझेका छन्।
जो उम्मेदवार यहाँबाट चुनाव लड्दैछ, ऊ यहाँको सुखदुःखमा कति साथमा छ भन्ने कुरा प्रधान हो। हिजो सांसद भइसकेकाहरूले यहाँको विकासमा कति योगदान दिए ? अर्काको नाम बेचेर भोट माग्नेहरूबाट यहाँको विकास सम्भव छैन। बन्न सजिलो होला तर काम गर्न चुनौती छ।
तपाईँको पार्टी अध्यक्ष ओलीको लोकप्रियता घटेकाले तपाईँहरूको चुनाव प्रचार सामग्रीमा उहाँको फोटो सानो बनाइएको वा हटाइएको हो ?
त्यस्तो होइन। हाम्रो मुख्य उद्देश्य देश सुखी र समृद्ध होस् भन्ने हो । हिजो कुन पार्टी सरकारमा हुँदा के काम गर्यो र अहिले नयाँ आउँछु भन्नेहरूको नीति तथा कार्यक्रम के छ, जनताले त्यसको मूल्याङ्कन गर्नुपर्छ। फोटो ठूलो वा सानो राख्दैमा केही हुँदैन, एजेन्डा स्पष्ट हुनुपर्छ।
तपाईँमाथि राजनीतिमा परिवारवाद हाबी गराएको आरोप पनि लाग्ने गर्छ नि ?
हाम्रो परिवारबाट हामी दुई जना राजनीतिमा छौँ। तर, हामीले सेवाको भावले काम गरेका छौँ भन्ने कुरा धनुषावासीलाई राम्रोसँग थाहा छ। कोही कसैको श्रीमती, दिदी वा भाउजू हुँदैमा राजनीति गर्नै हुन्न भन्ने होइन। मुख्य कुरा उसले जनताको काम गरेको छ कि छैन ? आफ्नो उत्तरदायित्व पूरा गरेको छ कि छैन ? भन्ने हो। जुलीले परिवारवादको आधारमा होइन, आफ्नै कर्म र कामको आधारमा राजनीतिमा अघि बढेकी हो भन्ने यहाँका जनताले बुझिसकेका छन्।
अन्त्यमा, चुनावमा पैसा र शक्तिको चलखेल हुन्छ। २१ गतेको फैसला पैसाले गर्छ भन्ने हल्ला छ। तपाईँहरूमाथि पनि पैसा बाँडेर चुनाव जित्ने आरोप लाग्ने गर्छ नि ?
यो सरासर गलत कुरा हो। यदि पैसाले मात्रै चुनाव जितिने भए यो देशका धनी मान्छेहरू मात्रै सांसद हुन्थे। मैले पैसाले होइन, दिनरात जनताको सेवा गरेर मत मागेकी हुँ। अबका मतदाता सचेत छन्। कसले कति काम गर्यो भन्ने आधारमा उहाँहरूले आफ्नो स्वतन्त्र मताधिकार प्रयोग गर्नुहुन्छ। पैसा बाँडेर चुनाव जित्ने भन्ने भाष्य उम्मेदवारलाई बदनाम गराउन मात्र रचिएको हो।
बरु अहिले आचारसंहिता विपरीत ठुल्ठूला पोस्टर टाँस्ने, मठमन्दिरमा समेत पर्चा टाँसेर सहर फोहोर गर्ने अनि सामाजिक सञ्जालमा ठूला कुरा गर्नेहरूलाई निर्वाचन आयोगले नियमन गर्नुपर्छ। सरकारले निष्पक्ष चुनाव गराउनेमा म विश्वस्त छु।