हामीसँग जम्मा दुई विकल्प छन्– सक्किनु कि सच्चिनु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सबैभन्दा पहिले देशैभर न्याय र मुक्तिका लागि आफ्नो रगत, पसिना र आँसु बगाउनु भएका लाखौँ–लाख न्यायप्रेमी आम जनसमुदायमा म महान् जनयुद्धको ३१औँ वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

हामीले आफ्नो जीवनको सबै भन्दा महत्त्वपूर्ण कालखण्ड जनयुद्धमा बिताएका हौँ । हामी आफैले जनयुद्धका रक्तरंजित दिनहरूको थालनी गर्दैगर्दा, विषमतम जँघारहरू तर्दै गर्दा सिङ्गो नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायहरू लेखिँदैछ भन्नेमा हामीलाई पूर्ण विश्वास थियो र भयो पनि त्यस्तै ।

जनयुद्ध थालनीका यी तीन दशकमा नेपालले अभूतपूर्व फड्को मारेकोमा कुनै शङ्का छैन । तर, वर्गसंघर्षको भीषणतम दिनहरू पार गरेर आएको पार्टी र त्यसको नेतृत्वकर्ताका रूपमा यी तीन दशकहरूमा हामीले आफ्नो पार्टी नेतृत्वको विद्रुप अवसरवादी चरित्र पनि त्यतिकै नजिकबाट नियालेका छौँ ।

लाखौँ–लाख जनता, जसले पार्टीलाई र हामीलाई आफ्नो रगतले सिँचेर यहाँसम्म ल्याई पुर्‍याए, आज पार्टीले उनैको पक्षपोषण गर्न नसक्ने अवस्थालाई पनि हामीले भोगी आएका छौँ ।

त्यसैले जनयुद्धका तीन दशकलाई सरसरती नियाल्दा हामी हर्ष र क्षोभको चौबाटोमा उभिएको अनुभूत हुन्छ । त्यसैले आलेखको आरम्भमै म ती हजारौँ सहिद, बेपत्ता परिवार र घाइते तथा अपाङ्ग परिवारमा गहिरो दुःखका साथै सहानुभूति प्रकट गर्न चाहन्छु ।

आखिर कहाँ चुक्यो त माओवादी आन्दोलन ? यो प्रश्न जति सहज छ, यसको जबाफ त्यति नै गम्भीर पत्रै–पत्रहरूमा जेलिएको छ । त्यसैले मैले पनि सहज शब्दमा माओवादी आन्दोलन यहीँनेर चुक्यो भनेर साइकल बनाउने मिस्त्रीले झैँ एकै शब्द वा वाक्यांशमा भन्न सक्दिनँ ।

मूल नेतृत्वमा देखिएको प्राधिकारलाई चुनौती दिने पार्टीका महत्त्वपूर्ण नेतृत्वलाई पार्टीबाटै निष्कासित गर्ने बाटो खुला गरियो ।

तथापि यसका केही वैचारिक पाटाहरूलाई हामीले समीक्षा गर्नैपर्ने हुन्छ । र, आजको दिन त्यसका लागि सबै भन्दा उपयुक्त दिन हो ।

मलाई के लाग्छ भने जनयुद्धका क्रममा वर्ग सङ्घर्ष र पार्टीको अन्तर्संघर्ष सँगसँगै अघि बढी रहेको थियो । त्यसले पार्टीलाई आफ्नो आधारभूत वर्गसँग जोडिएर सङ्घर्षमा होमिन मद्दत पुर्‍याएको थियो । तर, शान्ति प्रक्रियामा प्रवेश गरेसँगै पार्टीले वर्ग सङ्घर्षको आधारभूत अध्यायलाई बन्द गरिदियो र टेवुललाई वर्ग सङ्घर्षको आधारभूमि भएको घोषणा गर्‍यो । सारतः यो सही थियो, तर त्यहीँबाट हामीमा वैचारिक विचलन र नेतृत्वमा अहङ्कारवादी सोचको निरन्तर विकास हुन गयो ।

मूल नेतृत्वमा देखिएको प्राधिकारलाई चुनौती दिने पार्टीका महत्त्वपूर्ण नेतृत्वलाई पार्टीबाटै निष्कासित गर्ने बाटो खुला गरियो । वर्ग सङ्घर्षबाट च्युत पार्टी, वैचारिक स्खलनतर्फ अघि बढ्दै गर्दा त्यसको समाधानको विकल्पमा काम गर्नुको सट्टा उठेका वैचारिक सवाललाई थाँती राख्दै पार्टीलाई धकेल्ने प्रयास मात्र गरियो ।

यो ठ्याक्कै कस्तो कुरा थियो भने गाडी बिग्रिएर रोकिएपछि चालकले त्यसको समाधान पहिल्याउनुको सट्टा गाडिलाई थोरै–थोरै धकेल्दै अघि बढाएर गन्तव्यमा पुगिन्छ भने जस्तै थियो । यहाँ महत्त्वपूर्ण प्रश्न के थियो भने बिग्रिएको गाडिलाई धकेलेर गन्तव्यमा पुर्‍याउन सकिन्थ्यो वा बिग्रिएको गाडीको उपचार खोज्नका लागि सही प्रयत्न गर्नु पर्थ्यो ।

के हामीले बिग्रिएको गाडिलाई धकेलेरै समाजवादसम्म पुग्ने निष्कर्ष निकालेका थियौँ । त्यस्तो पक्कै होइन । तर, मूल नेतृत्व पार्टीमा देखिएको समस्यालाई समाधान गर्नतर्फ भन्दा धकेलेर समस्याबाट पार पाउन चाहन्थ्यो/चाहन्छ ।

यो प्रश्न पार्टीको मूल वैचारिक प्रश्न थियो ।

त्यसैले मैले माओवादी केन्द्रको पछिल्लो पदाधिकारी बैठकमै केही गम्भीर प्रश्नहरूको समाधान खोजिनु पर्छ भनेर आफ्नो मत राखेको थिएँ । तर, पार्टीको मूल नेतृत्वमा देखिएको आत्मकेन्द्रीत व्यक्तिवादले त्यसलाई फेरि पनि समाधानतर्फ लैजान चाहेन ।

त्यसैले किरण, बाबुरामलगायत पार्टीका हजारौँ नेता–कार्यकर्ताहरू, जसले पार्टी नेतृत्वको आत्मकेन्द्रीत व्यक्तिवादका विरुद्ध प्रश्न उठाए उनीहरूले उठाएको समस्या समाधानको दिशामा भन्दा उनीहरूलाई पार्टीबाट बिदा गर्नुमै सहज महसुस गरियो । त्यसैले आजका दिन यो प्रश्न मैले उठाई रहँदा मलाई पनि पार्टीबाट बिदा गर्न खोजिएको छ ।

वैचारिक स्खलनलाई रोक्न तथा जनयुद्धको सारभूत विचार प्रणालीलाई पार्टीमा लागू गराउन अब युवाहरूले नै पहल लिनु पर्ने आवश्यकता छ ।

तर, सिन्धुलीको माटोले कहिल्यै आत्मसमर्पण गरेको इतिहास छैन । यहाँका जनताले जहिल्यै परिवर्तनको पक्षमा आफ्नो मत दिएका छन् न कि यथास्थिति र जडताको पक्षमा । त्यसैले आज पनि सिन्धुलीले आत्मसमर्पण गर्ने छैन ।

यो पार्टी सबैको रगतले सिञ्चन गरेर निर्माण गरिएको हो । त्यसैले यसको निर्णय पनि सामूहिकताबाटै गरिने छ । यहाँ व्यक्तिवादी निर्णयलाई अब पनि हाबी हुन दिनु भनेको जनयुद्धको सारलाई तिरस्कार गर्नु हो । बुर्जुवा राजनीतिक चिन्तन प्रणालीका विरुद्ध गरिएको जनयुद्धको महत्त्व आज पनि त्यति नै सान्दर्भिक छ ।

पछिल्लो जनेजी आन्दोलनले पनि त्यसैको पुष्टि गरेको छ । वैचारिक स्खलनलाई रोक्न तथा जनयुद्धको सारभूत विचार प्रणालीलाई पार्टीमा लागू गराउन अब युवाहरूले नै पहल लिनु पर्ने आवश्यकता छ ।

यतिखेर देश मात्र होइन, पार्टी पनि गहिरो सङ्कटमा छ । तर, यो सङ्कटसँगै एउटा ठुलो अवसर पनि आएको छ– रूपान्तरणको अवसर । हामीले विगतमा गर्न नसकेको रूपान्तरण, जेनजी आन्दोलनले आफ्नै ढङ्गले आरम्भ गरिदिएको छ । यस आन्दोलनले सत्य बोल्ने, त्यसको पक्षपोषण गर्ने र असत्यविरुद्ध उभिन सक्ने आँट र आत्मविश्वास जगाएको छ ।

अब सत्य लुकाएर, ढाँटेर वा ढाकछोप गरेर टिक्न सकिने अवस्था छैन । सत्य सबैले सुन्नैपर्ने, त्यस अनुसार चल्नैपर्ने बनेको छ । जो सुन्दैन, बुझ्दैन र बदलिन तयार हुँदैनन्, इतिहासले उसलाई रछ्यानमा मिलाउनेछ ।

हिजो इमानदार, समर्पित र नैतिक कार्यकर्तालाई बेवास्ता गरियो; टपरटुईया, स्वार्थी र बेइमानहरूलाई अगाडि बढाइयो । त्यसको परिणामस्वरूप कम्युनिस्ट पार्टी नै कमजोर बन्यो । अवसरवाद हाबी भयो, सिद्धान्त र वर्गीय दृष्टिकोण हरायो । पार्टी जनआधारबाट टाढिँदै गयो र अन्ततः ‘घर न घाटको’ बन्न पुग्यो ।

संसद्वाद विरुद्धको सङ्घर्षलाई चर्काउनै पर्छ । एउटा चुनावदेखि अर्को चुनावसम्म सोच सीमित हुनु र जित्नका लागि जोसँग पनि सहकार्य र एकता गर्न पछि नपर्नु संसद्वादमा फसेको स्पष्ट प्रमाण हो ।

हिजोसम्म हामी सही छौँ, अरू गलत छन् भन्ने अहङ्कार मा डुबिरहेका थियौँ, तर जनताको दृष्टिमा हाम्रो उचाइ घट्दै गइरहेको थियो । किनभने हामी आम जनताका मुद्दा र सरोकारबाट टाढिँदै गएका थियौँ । जेनजी आन्दोलनले यिनै विकृति र विचलनलाई सबैका अघिल्तिर नाङ्गो रूपमा उभ्याई दिएको छ ।

यसले पुरानो राजनीतिक संस्कार, ढोङ र असत्यका पर्खालहरू भत्काइदिएको छ । अब बाटो दुईवटा मात्र बाँकी छन्— सक्किनु कि सच्चिनु । यो निर्णायक मोडमा हामीले आत्मसमीक्षा गर्नैपर्छ । के हामीले सच्चिने बाटो रोज्छौँ, वा पुरानै गल्ती र स्वार्थको दलदलमा फसिरहन्छौँ ?

यदि सच्चिने हो भने, निम्न विषयहरूलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

पहिलो, संसद्वाद विरुद्धको सङ्घर्षलाई चर्काउनै पर्छ । एउटा चुनावदेखि अर्को चुनावसम्म सोच सीमित हुनु र जित्नका लागि जोसँग पनि सहकार्य र एकता गर्न पछि नपर्नु संसद्वादमा फसेको स्पष्ट प्रमाण हो । त्यसैले यसबाट पार्टी निस्कनै पर्नेछ । तर, के हामी त्यस दिशातर्फ अघि बढ्न तयार छौँ ?

दोस्रो, वैचारिक स्खलनलाई रोक्दै सुधारोन्मुख यात्रा । हामी विचारमा व्यवहारवाद र संगठनात्मक ढाँचामा उपयोगितावादमा नराम्रोसँग जकडिएका छौँ । हामीबाट दिनप्रति दिन जे–जति गल्ती–कमजोरी भइरहेका छन्, त्यो मूलतः विचारमा आएको स्खलनकै कडी हो भन्नेमा कुनै शङ्का छैन । यसको उपचार नगर्दासम्म समाजवादी क्रान्तिको यात्रा गफमै सीमित हुने निश्चित छ ।

बिग्रिएको गाडीको समस्या हामीले पहिचान गरेर त्यसको समाधानमा एउटा पाइला चालेका छौँ । मलाई के विश्वास छ भने हाम्रो यो प्रयासलाई देशैभरका आम माओवादी कार्यकर्ताहरूले जनयुद्ध दिवसको अवसरमा सकारात्मक रूपमा लिनु हुनेछ र विद्रोहको झण्डा सबैतर्फ उठाउनु हुनेछ ।

हामीले वैचारिक स्खलनलाई स्विकार्दै अब यस प्रकारका भड्काऊ र विचलनबाट बच्ने दृढ प्रतिबद्धता गर्नुपर्छ । वैचारिक स्पष्टता र क्रान्तिकारी अनुशासन पुनर्स्थापना नगरेसम्म रूपान्तरण सम्भव छैन ।

तेस्रो, नयाँ वातावरण निर्माणका लागि पार्टीको पहल । हिजो पार्टीको विभिन्न तहमा रहेर प्रभावकारी भूमिका खेलेका तर संसद्वादी प्रवृत्तिको विरोध गर्दागर्दै किनारामा पुर्‍याइएका कमरेडहरूलाई पुनः उत्साहित र सक्रिय बनाउने वातावरण तयार गर्न जरुरी छ ।

यो पार्टी रगत र पसिना बगाएकाहरूको हो न कि चैतेहरूको । त्यसैले पुराना र खारिएका नेता/कार्यकर्ताले पार्टीमा उचित जिम्मेवारी पाउनै पर्छ । पार्टीले उनीहरूलाई जिम्मेवारी सुम्पिने अवसर गुमाउनु हुँदैन ।

चौथो, पार्टीभित्रको अतिवादलाई ठेगान लगाऊँ । केन्द्रीय नेतृत्व जोडिएको सिन्धुली जिल्लामा देखिएको अस्वस्थ अन्तर्संघर्षको उचित निरूपण र समाधान गरौँ । सिन्धुलीको विषय जम्मा एउटा निर्वाचन क्षेत्रको विषय होइन । यदि गम्भीरतापूर्वक यसको संश्लेषण नगर्ने हो भने यसले पार्टीका अन्य काममा व्यवधान पुर्‍याउने निश्चित छ । मैले माथि नै भनेँ सिन्धुली आत्मसमर्पण गर्नेहरूको जिल्ला होइन । बरु यो त ऋषि देवकोटा आजादहरूको भूमि हो ।

यदि पार्टीले समयमै समाधानको विकल्प पेस गर्दैन भने आजादहरूको भूमि नयाँ विद्रोहको किल्ला बन्न सक्छ । कसै न कसैले विद्रोहको झण्डा उठाउनै पर्थ्यो हामीले सिन्धुलीबाट उठाएका छौँ ।

अर्थात् बिग्रिएको गाडीको समस्या हामीले पहिचान गरेर त्यसको समाधानमा एउटा पाइला चालेका छौँ । मलाई के विश्वास छ भने हाम्रो यो प्रयासलाई देशैभरका आम माओवादी कार्यकर्ताहरूले जनयुद्ध दिवसको अवसरमा सकारात्मक रूपमा लिनु हुनेछ र विद्रोहको झण्डा सबैतर्फ उठाउनु हुनेछ ।

यो जनयुद्ध र माओवादी आन्दोलनले उठाएका विषय र वैचारिकीलाई स्थापित गर्ने दिशामा चालिएको एउटा कदम हो ।

फेरि पनि सबैमा जनयुद्ध दिवसको शुभकामना !