अहिले हाम्रो समाजमा एउटा गहिरो र डरलाग्दो मनोविज्ञान हाबी भइरहेको छ, जसलाई समाजशास्त्रीय भाषामा ‘अदर्स कल्चर’ भन्न सकिन्छ। यो भनेको आफूलाई राम्रो बनाएर वा राम्रो काम गरेर प्रस्तुत गर्नेभन्दा पनि, अरूलाई खराब देखाएर आफू राम्रो ठहरिन खोज्ने प्रवृत्ति हो। आजभोलि मानिसहरूमा आफ्नो सबल पक्षलाई बलियो बनाउने होइन, बरु अरूको कमजोरीमा औँला ठड्याएर आफूलाई ठिक साबित गर्ने सोच हाबी भएको छ।
यो प्रवृत्ति आकाशबाट झरेको होइन, हाम्रो राज्यको माथिल्लो संरचनाबाटै तलतिर सरेको हो। माथिल्लो राजनीतिक तहमा हेर्नुभयो भने, एउटा दलले अर्को दललाई, एक नेताले अर्को नेतालाई वा एक व्यक्तिले अर्को व्यक्तिलाई आफ्नो राम्रो पाटो देखाएर होइन, बरु अर्काको नराम्रो पाटोलाई उचालेर आफूलाई स्थापित गर्ने खेल खेलिरहेका छन्। नेतृत्व तहको यो स्वभाव अहिले आम नागरिकको तहसम्मै पुगिसकेको छ। करिब दुई दशकदेखि समाजमा हुर्किएको यो प्रवृत्तिले राजनीतिमा मात्र होइन, जीवनका समग्र पक्षमा नकारात्मक असर पारिरहेको छ।
हिजो हाम्रो समाजको जग अत्यन्तै बलियो थियो। सामाजिक मूल्य–मान्यता, सद्भाव, सहकार्य, सहयोग र पारस्परिक अन्तरनिर्भरता हाम्रा पहिचान थिए। तर, जबदेखि अरूलाई खराब देखाएर आफ्नो अस्तित्व जोगाउने मनोविज्ञानले ठाउँ पायो, तबदेखि ती जगहरू हल्लिन थालेका छन्। अरूलाई गाली गर्ने र औँला ठड्याउने प्रवृत्तिले समाजलाई जोडेर राख्ने तत्त्वहरू— सद्भाव र सहकार्य कमजोर भएका छन्।
जहाँ विचार र सिद्धान्त शून्य हुन्छन्, त्यहाँ ‘पपुलिज्म’ अर्थात् लोकप्रियतावादले ठाउँ पाउँछ। लोकप्रियता भनेको दर्शन वा विचारभन्दा पनि क्षणिक एजेन्डा र मुद्दाहरूमा केन्द्रित हुन्छ।
अहिले यो प्रवृत्ति परिवार, छिमेक र व्यावसायिक संस्थाहरूमा पनि सूक्ष्म रूपमा छिरेको छ। संस्थाभित्र सहकार्य हुनुपर्नेमा ‘म राम्रो, अर्को खराब’ भन्ने प्रतिस्पर्धा चल्छ। माथिल्लो पदकोले तल्लोलाई र तल्लोले माथिल्लोलाई दोषी देख्ने, तर आफ्नो जिम्मेवारी र उत्तरदायित्वबाट पन्छिने वातावरण सिर्जना भएको छ। यसले अन्ततः हाम्रा सामाजिक संस्थाहरूलाई नै धराशायी बनाउँदै लगेको छ।
अहिले धेरैले यसलाई सेलिब्रेटी वा चर्चित व्यक्तिहरूसँग मात्र जोडेर हेर्ने गर्छन्। तर, यसको जरा अलि गहिरो छ। जहाँ विचार र सिद्धान्त शून्य हुन्छन्, त्यहाँ ‘पपुलिज्म’ अर्थात् लोकप्रियतावादले ठाउँ पाउँछ। लोकप्रियता भनेको दर्शन वा विचारभन्दा पनि क्षणिक एजेन्डा र मुद्दाहरूमा केन्द्रित हुन्छ। जसले बढी होहल्ला गर्न सक्यो वा नयाँ खालको मुद्दा ल्याउन सक्यो, समाजमा ऊ नै हाबी हुने परिस्थिति हाम्रो सामाजिक–राजनीतिक संरचनाले बनाइदिएको छ।
अहिले जो पनि राजनीतिमा आउन चाहन्छ, उसले पहिला लोकप्रिय हुनुपर्ने बाध्यताजस्तो देखिएको छ। चाहे ऊ राम्रो व्यापारी होस्, कर्मचारी होस्, समाजसेवी होस् वा प्राध्यापक; सबैलाई पहिला सेलिब्रेटी बनेर राजनीतिमा छिर्नुपरेको छ। जब विचार र सिद्धान्तलाई लोकप्रियताले विस्थापित गर्छ, तब समाजमा स्वस्थ प्रतिस्पर्धा हराउँछ र अरूलाई खुइल्याएर आफू बन्ने होड चल्छ।
यस विषयमा गहिरो संरचनात्मक अध्ययन हुन बाँकी नै छ, तर एउटा समाजशास्त्रीको आँखाले हेर्दा म के भन्न सक्छु भने– यदि हामीले यो ‘अरूलाई खराब देखाएर आफू राम्रो बन्ने’ प्रवृत्तिलाई समयमै चिर्न सकेनौँ भने, हाम्रा सामाजिक मूल्य–मान्यताहरू अझै क्षयकृत हुँदै जानेछन्।
(समाजशास्त्री डा. टिकाराम गौतमसँग कुबेर गिरीले गरेको कुराकानीमा आधारित)