प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुनावी परिणामबारे सर्वाधिक चासो हुने निर्वाचन क्षेत्रमध्ये एउटा हो– काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ ।
उपत्यकाका तीन वटै जिल्लासँग जोडिएकाले यो निर्वाचन क्षेत्र उपत्यकाकै एउटा भागजस्तो मानिन्छ । यो क्षेत्र अन्तर्गत बनेपा, पनौती, पाँचखाल मण्डनतदेउपुर नगरपालिकाका सम्पूर्ण क्षेत्र, धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बर वडासम्मको क्षेत्र तथा बेथानचोक र भुम्लु गाउँपालिका पर्छन् ।
- यस्तो छ उम्मेदवारहरूको प्रोफाइल
यो निर्वाचन क्षेत्रमा अहिले नेकपा एमालेका तर्फबाट अशोक व्याञ्जु उम्मेदवार छन् । धुलिखेल नगरपालिकामा २०७४ र २०७९ मा उनी मेयरमा निर्वाचित भएका थिए । मेयर हुँदा नगरपालिका संघको अध्यक्ष रहेका उनी एमालेका केन्द्रीय कमिटीको सदस्य तथा यसअघि पार्टीको जिल्ला कमिटीका विभिन्न पदमा समेत थिए । उनी धुलिखेल नगरपालिका, दुटोलका बासिन्दा हुन् ।
कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मधु आचार्य पनि पार्टीका केन्द्रीय सदस्य हुन् । विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका उनी गगन थापा निकट मानिन्छन् । पनौतीको बल्थलीका स्थायी बासिन्दा तथा पुराना नेता उनी अघिल्लो निर्वाचनमा पनि आकाङ्क्षी थिए । यद्यपि उनले त्यतिबेला टिकट पाउन सकेनन् । त्यतिबेला शेरबहादुर देउवा निकट मानिने शिव हुमागाइँले यस क्षेत्रबाट पार्टीका तर्फबाट उम्मेदवारी पाएका थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका बसुन्धरा हुमागाइँ पनि पनौतीकै स्थानीयवासी हुन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाबाट उनी उम्मेदवार छन् । उनी २०७४ सालमा एमालेबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेशका मन्त्री बनिसकेका व्यक्ति हुन् । एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बन्दा उनी त्यो कित्तामा गएका थिए ।
रास्वपाबाट उम्मेदवार बनेका बदनकुमार भण्डारीको पृष्ठभूमि एमाले हो । भुम्लु क्षेत्रका स्थानीय बासिन्दा उनी सुरुमा एमाले निकट अखिलमा आवद्ध थिए । नेकपा विभाजन हुँदा एकीकृत समाजवादीमा पक्षधरता देखाएका उनी पछि रास्वपामा आवद्ध भएका हुन् ।
त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा) बाट रकम लामा, राप्रपाबाट रञ्जीव श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट टंक बहादुर लामा र उज्यालो नेपाल पार्टीबाट ज्योत्स्ना सैँजु समेत उम्मेदवार छन् । अन्य ८ दल तथा ८ जना स्वतन्त्र उम्मेदवारले समेत यो क्षेत्रमा उम्मेदवारी दर्ता गराएको देखिन्छ ।
- विगतको चुनावी अङ्कगणित
उपत्यकाबाट नजिक भएको यो क्षेत्र सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्रमध्ये एक हो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार यो निर्वाचन क्षेत्रमा १ लाख ६५ हजार ५११ जना मतदाता छन्, यसमध्ये पनि अधिकांश सहरी क्षेत्रमै छन् ।
आयोगको तथ्याङ्क अनुसार बनेपामा सबैभन्दा धेरै ४० हजार ९१०, पाँचखालमा ३२ हजार ४०७, मण्डनदेउपुरमा ३० हजार ४९४, भुम्लुमा १८ हजार १५६, पनौतीमा १६ हजार ४२५, धुलिखेलमा १४ हजार ६६० र बेथानचोकमा १२ हजार ४५९ जना मतदाता छन् ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले यो क्षेत्रबाट ३४ हजार ७०५ मत ल्याउँदा कांग्रेसले २६ हजार ५५६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ हजार ८२४, माओवादीले ७ हजार ९२६, एकीकृत समाजवादीले ६ हजार १४३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ७९२ मत ल्याएका थिए । समानुपातिकतर्फ खसेको मतमध्ये कुल सदर मत ९९ हजार ७४८ थियो । यो कुल मतदाताको ६०.२७ प्रतिशत हो ।
प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका शिव हुमागाइँले ३९ हजार ४९२ मत ल्याएका थिए । रास्वपाले १० हजार ५७३ तथा राप्रपाले १ हजार ९३३ मत ल्याएको तथ्याङ्क छ । प्रत्यक्षतर्फ ९९ हजार २२५ मत सदर भएको थियो । यो पनि ६० प्रतिशत हाराहारी नै हो ।
उता २०७९ कै प्रदेश सभा निर्वाचनमा भने यो क्षेत्रबाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल र कांग्रेसका कञ्चन चन्द्र वादे निर्वाचित भएका थिए । स्थानीय निर्वाचनमा भुम्लु गाउँपालिकामा माओवादी, मण्डनदेउपुरमा एकीकृत समाजवादी र आधा क्षेत्रमात्रै रहेको धुलिखेलमा एमालेले जित्दा सबैभन्दा धेरै जनसंख्या रहेको बनेपा, पनौती पाँचखाल र बेचानचोकमा कांग्रेसले प्रमुख÷अध्यक्षको निर्वाचन जितेको थियो ।
उल्लेखित अवस्था हेर्दा यो क्षेत्रमा समानुपातिकतर्फ एमाले पहिलो दल भए पनि जितका लागि यही नै पर्याप्त हुने अवस्था देखिँदैन । गोकुल बाँस्कोटाले १० हजारभन्दा धेरै लोकप्रिय मत ल्याएर यो क्षेत्रबाट जित हासिल गरेका थिए । कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिच तालमेल भएका कारण यो क्षेत्रमा भएका सबै निर्वाचनमा कांग्रेसको वर्चस्व देखिन्छ ।
माथि उल्लेख भएका विषय त यसअघिको अङ्कगणित भयो, तर बदलिँदो परिस्थिति र उम्मेदवारको हेरफेरका कारण विगतकै अङ्कणितलाई आधार मान्नु त्यति उपयुक्त भने देखिँदैन । त्यसैले पछिल्लो परिस्थितिलाई आकलन गरेर विश्लेषण हुन जरुरी देखिन्छ ।
- कसको सम्भावना र चुनौती कति ?
विगतको चुनावी अङ्कगणित, अहिले दलहरूको माहोल र स्वतन्त्र उम्मेदवारको अनुहारलाई आकलन गर्दा प्रमुख चार दलकै वरपर नतिजा आउने निश्चितप्रायः देखिन्छ । तर, उम्मेदवार तथा दलको प्रोफाइल, विगतको कार्यसम्पादन र विवादले निर्वाचनको नतिजा कसको पक्षमा जाला भनेर अनुमान लगाउनसक्ने अवस्था छैन ।
खासगरी पुराना प्रतिस्पर्धी एमाले र कांग्रेस दुवै अन्तर्घातको त्रासमा छन् । अघिल्लोपटक कांग्रेस–माओवादी गठबन्धनमा पनि लोकप्रिय मत ल्याएर विजयी बनेका एमालेका गोकुल बाँस्कोटाले अहिले टिकट नै पाएनन् ।
केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीको इच्छाविपरीत इतर प्यानलबाट निर्वाचन लडेका उनलाई अहिले प्रतिशोधपूर्ण ढङ्गले टिकट नदिएर धुलिखेलका मेयर व्याञ्जुलाई राजीनामा दिन लगाएर एमालेले निर्वाचनमा होमेको छ । यसले बाँस्कोटा पक्षले व्याञ्जुलाई सहयोग नगर्ने वा असहयोग नै समेत गर्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
हुन त बाँस्कोटाले सार्वजनिक कार्यक्रममै गएर व्याञ्जुको पक्षमा बोलेका छन्, तर यो सांगठिनक बाध्यताको कारणले यसो गरिएको हो भनेर जो–कोहीले बुझेका छन् ।
गोकुल आफ्नो खरो स्वभावले जति चर्चित थिए, त्यति नै धेरै मतदातालाई जोड्ने क्षमता राख्थे । सबैभन्दा धेरै मतदाता भएको बनेपा उनको ससुराली र मण्डनदेउपुर घर थियो । अन्तरजातीय विवाह गरेका उनले खसआर्य र नेवार समुदाय समेतको विश्वास पाएका थिए, जुन क्वालिटी व्याञ्जुसँग नहुन सक्छ । व्याञ्जुले प्रतिनिधित्त्व गर्ने धुलिखेलको पनि आधा मतदाताले मात्रै उनलाई भोट हाल्न पाउँछन् ।
अर्कोतिर जेनजी आन्दोलनपछि राष्ट्रिय रूपमै एमाले नेतृत्वको खस्केको साख र पुरानै अनुहारमा दोहोरिएको नेतृत्व मतदाताप्रति वितृष्णाको मुख्य कारण बन्न सक्ने निश्चित छ । काभ्रे–२ पनि यसबाट टाढा हुने अवस्था देखिँदैन । यसको प्रभाव यो क्षेत्रमा कति पर्ला भन्ने अनुमान गर्न कठिन छ ।
एमाले उम्मेदवारका लागि अहिले सबल पक्ष भनेको गठबन्धनरहित प्रतिस्पर्धा हो । समानुपातिक मतमा पहिलो नम्बरमा रहेको एमाले एक्लाएक्लै लड्दा संगठनकै मतको आधारमा जित्ने अवस्था थियो, जुन फाइदा व्याञ्जुलाई छ ।
त्यसो त, लामो समयदेदखि पार्टी राजनीति गरेका र जनप्रतिनिधि हुँदा पनि खासै विवादमा नआएकाले उनी सांसद बन्दा काभ्रेलीले शिर झुकाउनै पर्ने अवस्था भने छैन ।
कांग्रेसमा पनि सबल र चुनौतीपूर्ण पक्षको कहानी त्योभन्दा कम छैन । गुटगत राजनीतिमा अघिल्लो पटक टिकट नपाएका अहिलेका उम्मेदवार मधु आचार्यप्रति अघिल्लो पटकमा उम्मेदवार शिव हुमागाइँलाई असहयोग गरेको आरोप छ । त्यसैले अहिले उनले टिकट पाउँदा हुमागाइँले असहयोग गर्ने हो कि भन्ने आशङ्का स्वाभाविक रूपमा उब्जिएको छ ।
त्यसो त, यो इगो अहिले व्यक्तिमा मात्रै नभएर पार्टीमै फैलिएको देखिन्छ । यस्तो असहयोग अघिल्लो पटककै नियति दोहो¥याउन पर्याप्त हुन बेर छैन ।
अर्कोतिर यसपटक चुनावमा कांग्रेसलाई जिताउन सहयोग गर्न माओवादी र एकीकृत समाजवादीको साथ छैन । रास्वपाको देशव्यापी रूपमा बढेको प्रभावबाट पनि आचार्य अछुतो हुने छैनन्, तर उनको सबल पक्ष नभएका पनि होइनन् । पार्टीमा लामो समय प्रतीक्षा गरेर पनि केही नपाएको सहानुभूति उनीसँग छँदैछ, त्योभन्दा बढी राष्ट्रिय रूपमा नेतृत्वको परिवर्तित अनुहार देखाएर भोट माग्न जाने बाटो उनलाई छ ।
त्यसो त, अहिले बनेपा, पनौती, पाँचखाल र बेथानचोकको नेतृत्व नै आफ्नो हुनु र अन्यत्र वडामा समेत सबल उपस्थितिले समेत यो निर्वाचनमा आचार्यलाई सहयोग पुग्नसक्ने देखिन्छ ।
अब नेकपातिर जाउँ । यसअघि प्रदेश सांसद र मन्त्री भइसकेका बसुन्धरा हुमागाइँ आफैँमा प्रतिनिधि सभा उम्मेदवारका लागि योग्य व्यक्तिका रूपमा स्थापित छन्, तर कमजोर आधार र आशलाग्दो एजेन्डाबिना उनको जितको आधार बलियो भने छैन ।
यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको मत झन्डै १३ हजार छ, जबकि विजयी हुनेको मत ४५ हजार छ । यो अवस्थाले लोकप्रिय मतविना चुनाव जित्ने देखिँदैन ।
रास्वपाको जितको मुख्य आधार पनि देशव्यापी ह्विम र लोकप्रिय मत नै हो । अघिल्लो चुनावमा रास्वपाले यो क्षेत्रबाट १६ हजारभन्दा बढी मत ल्याएको र देशभरि रास्वपाको माहोल आएको बेला काभ्रेमा पनि पार्टीका उम्मेदवार बदनकुमार भण्डारीको पल्ला भारी हुने कुरालाई नकार्न सकिँदैन । कांग्रेस र एमालेभित्रको अन्तरविरोधको फाइदा पनि स्वाभाविक रूपमा उनले पाउन सक्छन् ।
तर, भण्डारीको सबैभन्दा कमजोर पक्ष भनेको पोर्टफोलियो हो । राजनीतिमा निकै कम अनुभव भएका उनीसँग अन्य क्षेत्रमा रहेर गरेको योगदानको ठुलो रेकर्ड पनि छैन । देशभर सेलिब्रेटी उम्मेदवारको लहर हुँदा उनीसँग यो योग्यता पनि छैन । त्यसो त रास्वपाको ह्विम बाहिर जिल्लामा जति छ, काठमाडौँ र वरपरका जिल्लामा मतदाताले उम्मेदवारको मूल्याङ्कन गर्न थालेको अवस्थाले काभ्रे–२ को परिणामलाई पनि निर्धारण गर्न सक्छ । भुम्लुका उनलाई सहरी जनसंख्याले कति विश्वास गर्छ भन्ने संशय पनि छँदैछ ।
उज्यालो नेपाल र श्रम संस्कृति पार्टीले पनि तामाङ समुदाय र जनजातिमा विशेष प्रभाव राखेको बताइन्छ । उनीहरूले होल्ड गर्ने भोटले पनि यो क्षेत्रको निर्वाचन परिणाम निर्धारित हुनसक्ने विश्लेषकहरू बताउँछन् ।