कुनै समय रोजगारीका लागि आकर्षक गन्तव्य थियो, मालदिभ्स । नेपालबाट डाक्टर, इन्जिनियर, पाइलटहरूको रोजाइमा पर्थ्यो । आकर्षक तलब, सुविधाले नेपालीलाई लोभ्याउँथ्यो मालदिभ्सले । पछिल्लो समय हस्पिटालिटी, कन्ट्रक्सनलगायत श्रम क्षेत्रमा अवसर खोज्दै नेपालीहरू त्यहाँ पुगिरहेका छन् । तर, केही वर्ष यतादेखि मालदिभ्समा आत्महत्यादेखि, स्क्यामका घटनाहरू निकै बढिरहेका छन् । यसबाट नेपाली समुदाय पनि अछुतो छैन ।
विभिन्न कम्पनीमार्फत मालदिभ्स पुगेर अलपत्र पर्नेको सङ्ख्या बढेसँगै अलपत्र परेका नेपालीहरूको उद्धार र सहयोगमा पनि कसै न कसैले सहयोगी हात अगाडि बढाउनै पर्ने थियो र लामो समयदेखि त्यो काम गरिरहेका छन्– सरोज सापकोटाले । मालदिभ्सलाई कर्मथलो बनाएका सापकोटाले सामाजिक सञ्जालमा नेपाल हेल्पलाइन फेसबुक ग्रुप खडा गरेर त्यसमार्फत सहयोग गरिरहेका छन् । ग्लोबल ट्राभलका सञ्चालक सापकोटासँग नेपाल आएको सन्दर्भमा रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीको सम्पादित अंश–
- मालदिभ्स पहिलो पटक कहिले जानुभयो, कसरी तय भयो मालदिभ्ससम्मको यात्रा ?
सन् २०१३ मा स्कुबा डाइभिङ कोर्स गर्न पहिलो पटक मालदिभ्स गएको थिएँ । त्यसपछि एउटा डकुमेन्ट्री प्रतिस्पर्धामा भाग लिन पुगेँ । प्रतिस्पर्धाको टप टेनमा परेँ । खासमा मैले श्रीलङ्काबाट पाइलटको ट्रेनिङ लिएको थिएँ, त्यसैले जागिरको सिलसिलामा मालदिभ्ससम्म ल्याई पुर्यायो ।
- स्कुबा डाइभिङ भन्नाले के बुझिन्छ ?
पानीमुनि हावा लिएर जाने प्रविधि । त्यसलाई स्कुबा डाइभिङ भनिन्छ । नेपालीमा गोताखोर भनिन्छ । स्कुबा डाइभिङको कोर्स पढेपछि डाइभमास्टर भइन्छ । पछि मैले मालदिभ्सबाट स्कुबा डाइभिङ, रेस्क्यु दुवै कोर्स पूरा गरेँ । त्यसपछि सन् २०१७ मा फेरि मालदिभ्समा गएँ । त्यसयता नियमित रूपमा उतै छु ।
मालदिभ्सको बसाई कोभिडभन्दा अघिसम्म निकै सन्तोषजनक थियो । त्यहाँ काम गर्ने सबै जना नेपालीहरू खुसी थिए । सबैले एक–अर्कालाई सहयोग पनि गर्थे । कोभिडपछि त्यहाँको अवस्था त्यति उत्साहप्रद छैन । किनभने नक्कली रोजगारको पासोमा अथवा भन्नुस् स्क्यामले निकै ठुलो घर गर्न थालेको छ र त्यसमा नेपाली समेत पर्न थालेका छन् ।
- स्क्याम चाहिँ कसरी हुने गरेको छ ?
त्यहाँ नेपाली, बङ्गलादेशी र मालदिभ्सका स्थानीयहरू मिलेर कम्पनी खोलेका छन्, त्यसको कुनै अफिस हुँदैन । दुई–तीन सय कामदार चाहियो भनेर कोटा निकाल्छन् । त्यो देखेर धेरै नेपालीले राम्रो रोजगारीको अवसर देखेर त्यतातर्फ आकर्षित हुन्छन् तर खासमा उनीहरूले त्यसरी छनोट गरेर लगेका दुई–तीन हजार श्रमिकहरूलाई १५ दिनसम्म गेस्ट हाउस राख्छन् अनि त्यतिबेलासम्म धेरैलाई मानसिक तनाव देखिन थाल्छ । त्यसपछि आफै टिकट काटेर घर जाऊ भन्न थाल्छन् ।
_GLFoy7hjTu.jpg)
१५ दिनपछि पनि मानिस घर फर्किन नचाहेमा उनीहरूलाई कुनै आइल्यान्डतिर लगेर ढुङ्गा, बालुवा बोक्न वा तल्लो स्तरको काममा लगाई दिन्छन् । एक–दुई महिनासम्म काम गराएर श्रमिकलाई तलब सेवा सुविधा केही दिँदैनन् । त्यतिन्जेलसम्म त्यसलाई थेग्न सक्ने धैर्यता धेरैमा हुँदैन । त्यसपछि त्यहाँबाट तलब माग्नेहरूलाई ‘तँ माले जा र तलबका लागि आफ्नो एजेन्टसँग कन्ट्याक्ट गर’ भनी पठाइदिन्छन् । मालेमा आएपछि कुनै पनि एजेन्टलाई भेट्न नसकिने अवस्था बन्छ । त्यतिन्जेलसम्म श्रमिक परिवारको कुनै पनि मानिसको धैर्यताको बाँध टुटी सकेको हुन्छ । उनीहरू राजधानीमा अलपत्र पर्छन् र बेसहारा भई बाच्नु पर्ने अवस्था सृजना हुन्छ ।
- श्रमिकहरूले कस्ता–कस्ता समस्या भोग्नु परेको देख्नु भएको छ त ?
अलपत्र परेका कामदारहरूलाई बङ्गलादेशी गेस्ट हाउस लगिन्छ । त्यहाँ ८० देखि १ सय मालदिभियन रुफिया तिर्नुपर्छ । त्यो भनेको नेपाली लगभग ७ सयदेखि १ हजार रुपैयाँ पर्छ । तर, त्यहाँ भुईँमै सुत्नुपर्छ । भुईँमा सुत्ने र ट्युबेलको पानी खान बाध्य भएपछि धेरै जनालाई मिर्गौलाको समस्या देखिन थाल्छ । त्यसबेलासम्म दुःखको त कुरै नगरौँ न । संसारको सबै भन्दा निकृष्ट र एक्लोपनको सिकार हुनुपर्छ । हामीले त्यस्ता नेपालीहरूलाई सहयोग गर्ने गरेका छौँ । धेरैलाई अस्पतालमा लगेर उपचार पनि गराइएको छ । पासपोर्ट नवीकरण गर्न परेमा मालदिभ्सबाट श्रीलङ्का जानुपर्ने हुँदा पासपोर्ट नवीकरण नभएसम्म घर आउन पनि नमिल्ने हुन्छ भनेपछि कस्तो अवस्था होला भनी आफै कल्पना गर्नुस् न ।
- हालसम्म कस्ता समस्या भोगिरहेका नेपाली श्रमिक तपाईँको सम्पर्कमा आएका छन् त ?
बङ्गलादेशीले चलाएका केही कम्पनीले फ्रड काम गरिरहेका छन् । त्यस्ता कम्पनीले कामदारहरू त्यहाँ पुर्याउँछन् र आम श्रमिकहरूलाई स्क्यामको सिकार बनाई रहेका छन् । सबै कुरा नबुझी त्यहाँ जाने कामदारले दुःख पाउने गरेको देखिन्छ । विभिन्न कम्पनीले झुक्याएर मालदिभ्समा अलपत्र परेका, तलब नपाएका, जागिर नपाएका कामदारहरू रुँदै मकहाँ आउनु हुन्छ ।
कुनै कम्पनीले कामदारको पासपोर्ट आफूसँग राखिदिएको हुन्छ त कसैले श्रम गरेको पैसा पाएका हुँदैनन् त कोही बेखर्ची भएर अलपत्र परेका साथीहरु पनि आइपुग्नु हुन्छ । हामीले त्यस्ता श्रमिकहरूलाई सक्दो सबै प्रकारको सहयोग गर्छौँ र टिकट दिएर घर फिर्तीको वातावरण बनाई दिन्छौँ ।
- मालदिभ्समा कति नेपाली कार्यरत छन् भन्ने कुनै तथ्याङ्क छ ?
श्रीलङ्कास्थित नेपाली राजदूतावासका अनुसार मालदिभ्समा पाँच हजार नेपालीहरू छन् भन्ने जानकारी छ । मेरो आफ्नो अनुभवमा भने १०–२० हजार नेपाली छन् भन्ने लाग्छ ।
- मालदिभ्समा बस्ने नेपालीहरू कुन–कुन क्षेत्रमा काम गर्छन् ?
पहिले मालदिभ्समा पाइलट, डाक्टर, इन्जिनियरको सङ्ख्या सबैभन्दा धेरै थियो । अहिले त्यो सङ्ख्या पाँचदेखि ६ सयको बिचमा होला । डेढ सयको सङ्ख्यामा इन्जिनियर छन् । सेक्युरिटी गार्ड, हस्पिटालिटी, कन्स्ट्रक्सनलगायत क्षेत्रमा धेरै श्रमिकहरू छन् । पाइलटले लगभग ६ देखि ८ हजार डलर कमाउँथे । मेडिकल डाक्टरले पनि राम्रै कमाउँथे तर अन्य क्षेत्रका व्यक्तिहरूको कमाई बारे धेरै राम्रोसँग भन्न सक्ने अवस्था छैन ।
- मालदिभ्समा काम गर्न जाने सङ्ख्या बढेपछि नेपालीहरूलाई गरिने व्यवहारमा कत्तिको परिवर्तन पाउनु भएको छ ?
पहिला–पहिला पाइलट, डाक्टर, इन्जिनियर जस्ता पेसामा नेपालीको सङ्ख्या धेरै थियो । नेपालीहरूले बेग्लै सम्मान पाउँथे । अचेल बढीजसो कामदार, कन्स्ट्रक्सनलगायत क्षेत्रमा नेपालीहरू आउने भएकाले पहिला जस्तो सम्मान छैन ।
म सुरु–सुरुमा मालदिभ्स जाँदा ‘म नेपालबाट हो’ भनेर परिचय दिँदा कस्तो खुसी हुन्थे । सगरमाथा, गौतम बुद्धका बारेमा कुरा हुन्थ्यो । पोखरा, काठमाडौँको बारेमा कुरा हुन्थ्यो । अहिले त नेपाली भन्ने बित्तिकै हेयका नजरले हेरे जस्तो महसुस हुन्छ । ‘आर यु नेपाली ? ओके–ओके, रङ्गडो–रङ्गडो’ भन्छन् मतलब गर्दैनन् ।
- मालदिभ्समा श्रमिकका लागि अवसर र सम्भावनाहरू कत्तिको देख्नु हुन्छ ?
त्यहाँ भीआईपी, फाइभ स्टार, सेभेन स्टार रिसोर्टहरु छन् । तपाईं अनुभवी हुनुहुन्छ भने काम पाउनुहुन्छ । एउटा वेबसाइट छ, जब मालदिभ्स डट्कम् त्यहाँ अप्लाई गरेर धेरै मान्छे जानु भएको छ निःशुल्क रूपमा ।
तपाईंको तलब तीन सय डलर छ भने सर्भिस चार्जसहित पाँच सयदेखि एक हजार डलरसम्म कमाउन सक्नु हुन्छ । कम्तीमा एक लाख रुपैंयाँभन्दा माथि कमाई हुन्छ ।
- मालदिभ्स जानुअगाडि के–के कुरामा ध्यान दिनु राम्रो हो ?
राम्रा कम्पनीहरूमा काम गर्ने हो भने सीप, अनुभव र अङ्ग्रेजी भाषाको ज्ञान हुन जरुरी छ । म त के भन्छु भने अङ्ग्रेजी बोल्न जान्नुहुन्न भने तपाईं मालदिभ्स नजानुस् । फस्नुहुन्छ । राम्रो म्यानपावर या कोही विश्वासिलो व्यक्तिमार्फत शत प्रतिशत कन्फर्म गरेर मात्र मालदिभ्स जानुहोला । अहिले मालदिभ्समा पूरै स्क्याम चलिरहेको छ ।
यसरी स्क्याममा परेका धेरै साथीहरूलाई मैले नै रेस्क्यु गर्नु परेको छ । मैले ‘नेपाल हेल्पलाइन मालदिभ्स’ फेसबुक ग्रुप चलाएर सहयोग गरिरहेको छु । तपाईंहरु मालदिभ्स आउँदै हुनुहुन्छ भने कम्तीमा हामीलाई सम्पर्क गरेर तपाईंले रोजगार स्थलबारे सोध्न सक्नुहुन्छ ।

- मालदिभ्स जानुअगाडि आफूमा के–के सीपहरु हुनु राम्रो ?
मालदिभ्स जानका लागि तपाईंंसँग शत प्रतिशत सीप हुनुपर्छ । तपाईं वेटर हुनुहुन्छ भने तपाईंंसँग वेटर र बारिस्टाको सीप हुनुपर्यो । मालदिभ्स एकदमै महँगो छ । रोजगारदाताले खानाको सुविधा नदिन सक्छ ।
तपाईं मालदिभ्स नेपाल जस्तै होला भन्ठानेर जानु हुन्छ भने त्यसरी नजानु होला । तपाईंले म मालदिभ्समै सङ्घर्ष गर्छु भन्नु हुन्छ भने पनि सिप बोकेर मात्रै सङ्घर्ष गर्ने सोच बनाउँदा राम्रो । यसका लागि विश्वासयोग्य एजेन्टको छनोट गर्न नबिर्सनु होला ।
- नेपालीहरूको सेवा र उद्धारमा खटिन केले प्रेरित गरिरहेको छ तपाईंलाई ?
सानै बेलादेखि आमाले मलाई पशुपति लानुहुन्थ्यो । त्यहाँ रोजगारको अभावमा मागेर गुजारा चलाउनेहरू बसेको भेटिन्थे । त्यो देख्दा मनमा चिसो पस्थ्यो । मेरी आमा पनि दयालु, सबैलाई बाँड्नु पर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँमा मान्छेहरूलाई सेवा गर्नुपर्छ भन्ने भावना थियो । आमाको सामाजिक र सेवाको चरित्र ममा पनि सर्यो होला भन्ठान्छु ।
जिन्दगीमा सबैभन्दा ठुलो कुरा सन्तुष्टि हो । मैले कसैलाई समाजसेवा गरेँ भने म उनीहरूभन्दा बढी खुसी हुन्छु । जिन्दगीमा मलाई एउटै कुरा थाहा छ, हामी मर्न पर्छ । मृत्यु सत्य हो । म त्यो सत्यलाई आत्मसाथ गरेर बाचुन्जेल अरूका लागि थोरै भए पनि सहयोग गरेर बिदा हुनुपर्छ भन्ने सोच्छु ।