एउटा मिठो कविता लेखेको छु
आकाशसँग एक टुक्रा बादल लिएर पैँचो
तिम्रा लागि
एउटा मिठो कविता लेखेको छु
आकाशसँग एक टुक्रा बादल लिएर पैँचो
अनि,
इन्द्रेणीबाट चोरेर अलिकति रङ्ग
बनाएको छु सुन्दर सुनौलो
रङ्गिन अक्षरहरूको हरफ
यात्रामा भेटेछु भने,
थकाइ मार्न बसेको बिसौनीमा बसी सुनाउने छु
मन लागे नि, मन नलागे नि सुन है
धित मरुन्जेल
लेखेको छु एउटा कविता
एउटा हरफ तिम्रो र मेरो प्रेम कथाको
निकालेर समय
गरेर प्रयास सुनी दिनु है
थाहा छैन सुनेर के हुन्छ ?
र, पनि सुनिदिनु ल
अनिश्चित जीवनको निश्चित पूर्णविराम बनेर
अझै लेख्छु
अर्को एक हरफ
भाग्यको कविता
अनि अर्को हरफ चाहिँ तिम्रो र मेरो वफादारीको
र, अन्त्यमा चाहिँ आँसु को
आँसु चाहिँ मनमा लुकाएर राख है
यदि आँखाको डिल कटेर बग्न आँट्यो भने
मलाई सम्झिनु
म तिम्रो आँसु रोक्न
नयन बाँध बनिदिन बतास जस्तै उडेर आउँला ।