के बालेन प्रधानमन्त्रीका लागि योग्य छन् ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बालेन शाह प्रधानमन्त्रीका लागि योग्य पात्र हुन् वा होइनन् भन्ने बहस यतिबेला तीव्र रूपमा चलिरहेको छ ।

झन्डै तीन वर्ष काठमाडौँको मेयरका रूपमा काम गरेर ‘टेस्टेड’ भएपनि बालेन को हुन् ? कस्ता व्यक्ति हुन् ? उनको राजनीतिक सिद्धान्त के हो ? उनले गर्न खोजेको आर्थिक–सामाजिक रूपान्तरण कस्तो हो ? भन्नेबारे धेरैलाई प्रस्ट जानकारी छैन ।

काठमाडौँको मेयरका लागि उम्मेदवारी दिएपछि एकाएक चर्चामा आएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी शाहका छोरा हुन् । काठमाडौँको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तीनकुनेका स्थायी बासिन्दा हुन् । उनको पुर्खौली थालो भने मधेस प्रदेशमा रहेको महोत्तरी जिल्ला हो ।

शाहको प्रारम्भिक शिक्षा काठमाडौँ नरदेवीमा रहेको जलजला स्कुलबाट भएको हो भने स्कुलपछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौँ तीनकुनेमा अवस्थित भीएस निकेतनबाट भएको हो । उनको स्नातक तहको अध्ययन काठमाडौँमै रहेको हाइट हाउस कलेजबाट भएको थियो । त्यहाँ उनले सिभिल इन्जिनियरिङको अध्ययन गरेका थिए ।

बालेनको आफ्नै नाममा रहेको ‘बालेन कन्सल्टिङ र कन्स्टक्सन प्रालि’ का उनी सञ्चालकका साथै र्‍याप ब्याटल गायक हुन् उनी ।

बालेन राजनीतिक पृष्ठभूमिको मान्छे नभए पनि उनले आफूलाई युवाहरू माझ लोकप्रिय बनाएका छन् । सैद्धान्तिक मान्छे नभए पनि उनी राजनीतिमा चासो राख्छन् भन्दा फरक पर्दैन । किनभने काठमाडौँ महानगरको निर्वाचनमा रन्जु दर्शनालाई चुनाव जिताउन उनी विवेकशील नेपाली दलसँग नजिक रहेर काम गरिरहेका थिए । बालेन मेयर भएपश्चात उनका सहयोगी अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल, भूपदेव शाह, सस्मीत पोख्रेल र धिरज जोशीहरू विवेकशीलमै थिए ।

अब कुरा गरौँ बालेनको शासनमा काठमाडौँले अभूतपूर्व प्रगति गरेको छ, भनी ब्रान्डिङ गर्न खोजिएको भ्रम र यथार्थ बारे ।

अन्तर्मनदेखि भन्नुपर्दा हिजोको तुलनामा आज काठमाडौँ सफा र सुन्दर भएको छ । तर बालेनले मेयर हुनका लागि  चुनावी घोषणापत्रमा समावेश गरेका योजनाहरू कुनै पनि साकार भएका छैनन् । उनले आफ्नो तीन वर्षको कार्यकालमा ती योजना सुरु नगरेका मात्र होइनन्, त्यसबारे एक शब्द उच्चारण पनि नगरी मेयर पदबाट राजीनामा गरेका छन् ।

त्यतिबेला उनले गरेका प्रतिबद्धताहरू किन कार्यान्वयन हुन सकेनन् भनेर काठमाडौंबासीप्रति जबाफदेहीसमेत भएनन् उनी । अर्थात् बाचा गर्ने, काम नगर्ने भन्दा अतिशयोक्ति नहोला ।

फोहोर व्यवस्थापन र रोजगारी

झट्ट हेर्दा काठमाडौँका सडक र कुनाकाप्चाहरूमा फोहोरको थुप्रो नदेखिएता पनि घोषणापत्रमा उल्लेख गरे अनुसारको प्रतिबद्धता पनि पूरा भएको छैन । काठमाडौँ महानगरबाट निस्किने फोहोरबाट जैविक मल बनाउने र त्यसलाई काठमाडौँभित्र मात्र होइन; धादिङ, काभ्रे लगायतका जिल्लामा बिक्री गर्ने दीर्घकालीन योजनामा रत्तीभर काम हुन् सकेन उनको कार्यकालभर ।

फोहोरबाट पैसा कमाउने र युवाहरूलाई रोजगार दिने कुरा, काममा त परै जाओस् घोषणापत्रमा लेखिएको भन्दा अर्को कुनै पानामा लेख्ने काम समेत भएन ।

कुनैबेला बालेनका अनन्य मित्र समेत रहेका निकोलस भुसाल भन्छन्– ‘गफाडीका गफै धेरै’ । फोहोर जलाउन ‘इन्सिनेरेटर’ मेसिन जडान गर्ने कुरा रहेछ तर त्यसको पनि कार्यान्वयन हुन सकेन । र, अहिले पनि बञ्चरेडाँडामा रहने स्थानीयहरु उपत्यका तिर फर्केर धारेहत लगाउने गर्छन । कारण हो– त्यहाँका नागरिकलाई रोजगारी दिन्छौँ भन्ने झुटो आश्वासन ।

प्रदुषण मुक्त काठमाडौंः विश्वदृष्टिमा आज काठमाडौँ प्रदूषित सहरमध्ये एकमा पर्छ । यो कठिन काम गफले मात्रै हुँदैन । तर, पूरा गर्न नसकिने  प्रतिबद्धता गर्नु हदैसम्मको झुट हो । सस्तो लोकप्रियताका लागि मिठा गफ र झुटो आश्वासनले मात्रै कसरी बालेन सिटी बन्छ ?

बजेट विनियोजन: काठमाडौँ महानगरपालिकाको कुल १५ अर्ब बजेटमध्ये जम्मा ६ अर्ब ७३ करोड खर्च भएको देखिन्छ । उक्त बजेटबाट भौतिक पूर्वाधार  विकास, पर्यटन, रोजगार, सम्पदा संरक्षण र गुठीहरूमा चलायमान हुनुपर्ने तर त्यसो हुन् सकेन । अर्थात् उनीसँग बजेट खर्च गर्ने योजना नै छैनन् । न उनीसँग बजेट व्यवस्थापन गर्ने तौरतरिका नै छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका कामको दाँजोमा बालेनको काम छायामा पर्छ । आज पनि वसन्तपुर दरबार क्षेत्रको दाँजोमा पाटनको मंगलबजार दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र मनमोहक र सुन्दर छ ।

काठमाडौँका मान्छेसमेत साँझको समय मंगलबजार घुम्न जाँदा आहा भन्छन् । बिदाका दिन भक्तपुर गए मोहित हुन्छन् । यति हुँदाहुँदै पनि बालेन युवा पुस्तामाझ लोकप्रिय हुनुको एउटा कारण हो सामाजिक सञ्जालमा उनको छवि निर्माणमा गरिएको व्यवस्थित लगानी ।

हामीलाई थाहा छँदै छ, छवि भनेको निर्माण गर्ने कुरा हो । कुनै समय ‘गुजरात दंगाका नायक’ भनेर चिनिएका नरेन्द्र मोदी पछि ‘विकास पुरुष’मा फेरिए । त्यस्तै कुनै समय अमेरिकाले मोस्ट वान्टेड टेरिरिस्टको सूचीमा राखेको सिरियाका वर्तमान राष्ट्रपति अहमद अल–शारा पछि दयावान राष्ट्रपतिमा फेरिए ।

र, यसको अर्को पाटो पनि छ । उनको छवि निर्माणमा पुराना राजनीतिक दलका नेताहरूको शासन गर्ने शैलीले पनि मलजल गरेकै हो ।

अब कुरा गरौँ राजनीतिक चेतनाको । राजनीतिमा रुचि हुनु र राजनीति गर्नु फरक–फरक कुरा हुन् । बालेन नेपाली राजनीतिमा फ्रेस छन् । सिक्दै जालान् । तर, न्यूनतम राजनीतिक संस्कार बालेनमा देखिँदैन । सिंहदरबार जलाइदिन्छु,  देशका नेताहरूलाई सिसडोलमा गाडिदिन्छु जस्ता अभिव्यक्तिले उनमा विधि, कानुन, संस्था, प्रक्रिया केही पनि नमान्ने र आफूबाहेक अरू कसैलाई नगन्ने चरित्रलाई उजागर गर्छ ।

बालेनलाई जनताले प्रधानमन्त्री बन्ने मौका देलान् नदेलान् निर्वाचनले फैसला गर्ला । तर रास्वपाले प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेपछि पनि उनमा नेतामा हुनुपर्ने साहस, इमान,  धैर्यता, सहिष्णुता, समभाव र न्यायिक विवेक देखिँदैन । म नै सर्वोच्च, मेरो लेखाइ नै सर्वमान्य भन्ने मनोवृत्तिबाट बालेन ग्रसित देखिन्छन् । यस्तो डरलाग्दो मानसिकताले देशलाई कता पु-याउला ?

पात्र बदलेर राजनीति बदलिएन भने हामी सुशासनतर्फ होइन कि झन–झन विकराल स्थितितर्फ लम्की रहेका हुनेछौँ ।

मेयर हुँदा गरेका झुटा बाचा कबुलियत जस्तै प्रधानमन्त्री हुनका लागि गरे भने त्यो नागरिकप्रतिको अन्याय मात्रै होइन । जनमतमाथिको धोका हुने निश्चित छ । तर, यसरी सोच्ने र आलोचनात्मक राजनीतिक चेत राख्ने जनता भन्दा सामाजिक सञ्जालको एल्गोरिदमले धेरैलाई उनीहरूकै इकोच्याम्बरमा कैद गरिदिने हो कि भन्ने लाग्छ ।

आउनुस् केही कुरा बालेनमा भएको सैद्धान्तिक ज्ञानबारे चर्चा गरौँ चुनावी प्रचार–प्रसारमा जनकपुर पुगेका बालेन एकाएक मधेसवादी देखिए । मेयर हुँदासम्म पहिचान लुकाएका उनी जनकपुर पुगेर पहिचानवादी बने । चुनावी प्रचार–प्रसारमा एकताका माधवकुमार नेपाल भन्थे– बिना ढेउवा के विदेश पठाइदिन्छु ।

बालेन त्यही सिको गर्दै भन्दैछन्– बिना ढेउवा के विदेश पढ्न पठाइदिन्छु । यहाँनेर उब्जिएको प्रश्न के हो भने बिना पैसा विदेश पढ्न पठाउनलाई हाम्रो स्कुल कलेजले अहिलेको भन्दा शिक्षामा सयौँ गुणा गुणस्तर बढाउनुपर्छ । सरकारले पढ्न पठाउने हो भने मधेसका विद्यार्थीलाई मात्रै पठाएर पुग्दैन ।

शैक्षिक योग्यताका हिसाबले आज सिङ्गो मधेस कहाँ छ ? यो पनि बुझ्नु पर्छ । देशभरिका विद्यार्थीलाई विदेश पढ्न पठाउने सम्भाव्यता कति होला ? लोकप्रिय कुरा गरेर लोकप्रियतावादी हुनु भन्दा आफू उभिएको धरातल हेर्नु बेस ।

एउटा नेता हुन साइकोलोजिकल विन चाहिन्छ । म लिडर हुन सक्छु कि सक्दिनँ भन्ने मलाई नै थाहा नहुन सक्छ । जनता परिवर्तनका लागि जोसिएका बेला मलाई प्रधानमन्त्री बन्न मन लागेको छ भनेर बोलिदिएर मात्रै पुग्दैन । प्रधानमन्त्री पदका लागि आफू योग्य हो कि होइन भनेर प्रमाणित गर्न आफुप्रति आउने प्रश्नहरुको कसिमा उभिएर परीक्षा दिन सक्नुपर्छ ।

नेपालको राजनीतिमा व्यापारी–राजनीतिज्ञको सम्बन्ध नयाँ होइन । यो पुरानै रोगको नयाँ भेरिएन्ट हो । हिजो राजनीतिक व्यक्तिले व्यापारीसँग कुनै पनि सम्झौता गर्नु हुँदैन स्वार्थ बाझिन्छ भन्ने थियो । लुकिछिपी व्यापारी–राजनीतिज्ञबिच सम्बन्ध चलिरहन्थ्यो । आज खुल्लम–खुल्ला व्यापारीको नगद जिन्सी राजनीतिक व्यक्तिले लिन थाले । त्यो पनि प्रधानमन्त्री पदका लागि ।

बालेन यो देशको शासन सत्ताको शीर्षमा बस्ने भनेर चुनावी प्रचार–प्रसार गर्दैगर्दा उनको कुनै खास व्यापारीसँगको सम्बन्धले भविष्यको आशंकालाई छताछुल्ल बनाई दिएको छ ।

विगतमा राजनीतिक दल र तिनका नेताहरूले भ्रष्टाचारलाई प्रश्रय दिए । आफू पनि भ्रष्ट बने र कुशासनले देश आक्रान्त बन्यो अब सुशासन चाहियो भन्दै गरेको जेनजी आन्दोलनको मर्मलाई बालेनको डिफेन्डर काण्डले लत्त्याएको मात्रै छैन । कुशासनको दलदलबाट मुलुकलाई त्राण दिन्छौं भनेर सुशासनको नारा दिने पुरानै राजनीतिक संस्कारलाई नयाँ शैलीमा सबैमाझ पस्केको मात्र छ ।

राजनीतिक विचारका हिसाबले देशका लागि विशिष्ट सैद्धान्तिक ढाँचाहरू के–के हुन्छन् ? सामाजिक सम्झौता के हो ? अन्तर्राष्ट्रिय सन्धि–सम्झौतालाई कसरी हेर्ने ? आजको दुनियाँमा यो कसरी अघि बढेको छ ? राज्यले हामीलाई के दिनुपर्छ र हामीले राज्यलाई के दिनुपर्छ ? वैश्विक र आन्तरिक समाजको सम्बन्धमा स्वतन्त्रता र सार्वभौमसत्ताको प्रश्नको अर्थ के हो ? यस्ता कुरा बालेनले आजसम्म न लेखेको देखिन्छ न मिडिया फेस नै गर्छन् ।

जनता के चाहन्छन् भन्दा पनि फेसबुकको स्टाटसमा कस्तो भाषा र मनोविज्ञानलाई ध्यानमा राखेर अभिव्यक्ति दिँदा धेरै बिक्छ भन्नेमा रुचि देखिन्छ । उनलाई संस्थागत नभएर व्यक्तिगत नेतृत्वमा विश्वास छ ।

व्यक्ति नै बलियो हो, म एक्लैले जनताको खास प्रतिनिधित्व गर्छु भन्ने सोचले बालेनलाई प्रधानमन्त्रीका लागि योग्य व्यक्तिका रूपमा उभ्याउँदैन । उनले प्रधानमन्त्री पद संस्था हो भन्ने बुझ्न खोइ कति समय लाग्ने हो ? वा हामीले त्यस्तै व्यक्ति व्यहोर्नु पर्ने हो त्यो भने समयले नै स्पष्ट पार्ला ।