पोखरा, – पर्यटकीय शहर पोखरामा वायु प्रदूषणको स्तर दिनप्रतिदिन खतरनाक बन्दै गएको छ। वातावरण विभागका अनुसार, पछिल्लो समय पोखराको वायु गुणस्तर सूचकांक (AQI) उच्च दरमा पुगेको छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ।
वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछानेका अनुसार, लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूल परिसरमा राखिएको प्रदूषण मापन यन्त्रले दैनिक रूपमा वायु गुणस्तर खस्किँदै गएको देखाएको छ। हाल फेवाताल क्षेत्र समेत बाक्लो धुवाँले ढाकिएको छ, जसले दृश्यता घटाउनुका साथै स्वासप्रश्वाससम्बन्धी समस्या बढाइरहेको छ।
प्रदूषण बढ्नका प्रमुख कारणहरूमा वरपर हुने आगलागी, सवारी साधनबाट उत्सर्जित धुवाँ, राजमार्ग विस्तारका क्रममा उड्ने धुलो, र वन विनाश मुख्य रूपमा रहेका छन्। वृक्षारोपणको कमीले समस्या झन् चर्काएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यो स्थितिले विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास तथा मुटुका रोगीहरू, र गर्भवती महिलाहरूलाई प्रतिकूल असर पार्ने सम्भावना छ। वातावरण विभागले उच्च प्रदूषणको समयमा बाहिरी गतिविधि कम गर्न, मास्क प्रयोग गर्न र आवश्यक नभएसम्म घरबाहिर ननिस्कन सुझाव दिएको छ।
समाधानस्वरूप, सवारी साधनको धुवाँ नियन्त्रण, निर्माण कार्यमा धुलो नियन्त्रण, वृक्षारोपण प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि आवश्यक छ। स्थानीय तह र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न नसके, पोखराको वातावरणीय संकट अझ भयावह बन्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।