चैतेदशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौषशुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौषशुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।

आश्विनशुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विनशुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैतेदशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

चैतेदशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।

बडादशैँ जस्तै चैतेदशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशिर्वाद लिनु हो । बडादशैँमा जस्तै चैतेदशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।